देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको भेला


रुपन्देही । बुटवलमा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन आयोजना भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरूका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरूका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए ।
माघ २१ गते शनिवार आन्तरिक छलफल गरिएको र २२ गते बिहान ८ बजे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन समारोह र दिउसो बुटवल उपमहानगरपालिकाको सभा हलमा साझा समस्याबारे छलफल र घोषणा पत्र जारी गर्ने कार्यक्रम तय भएको उनले बताए ।
सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गर्ने कार्यक्रम तय भएको छ ।
उपमहानगरपालिकाहरूका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रूपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकाल्ने र समाधानका लागि सम्बन्धित निकायसँग सामूहिक रूपमा छलफलमा गरिने छ ।
उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्नेछन् ।
उपमहानगरहरूका बीचमा आपसी समन्वय र सहकार्यको उद्देश्यका साथ सम्मेलन हुने र स्थानीय सरकारहरू साझा मुद्दा लिएर एकसाथ अघि बढ्न ऊर्जा मिल्ने बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
राष्ट्रिय सम्मेलनको उद्घाटनको लागि सबै तयारी पूरा भएको र प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू बुटवल आइपुगेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।