प्रधानमन्त्रीको नयाँ प्रस्तावबारे रास्वपा अनिर्णित, भोलिको संसद बहिष्कार गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक विनानिष्कर्ष सकिएको छ । भोलि पुन: बैठक बस्नेगरी नेताहरू उठेका छन् ।
गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डले गरेको प्रस्तावमा रास्वपाले केही निर्णय लिएन । यद्यपि, आइतबारको संसद बैठक बहिष्कार गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले नेपाल प्रेसलाई बताए ।
प्रतिनिधिसभाको भोलिको बैठक दिउँसो १ बजे बस्दैछ । संसदमा रास्वपाका २० सांसद छन् ।
गृहमन्त्रालयबारे निर्णय लिन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समयसीमा आजै साँझदेखि सकिएको छ । आफूहरूले डेडलाइन दिएको नभई प्रचण्ड, ओलीलगायतका नेताहरूले दुई दिन पर्खन आग्रह गरेको बैठकपछि सचेतक सन्तोष परियारले बताए ।
‘गठबन्धनमा भइरहेको कुराकानीबारे सभापतिज्यूले जानकारी गराउनुभयो । गठबन्धनमा गृहमन्त्रालय र रास्वपामात्र विषय होइन । अलि बढी विषय यसैलाई मात्र बनाइएको हो कि भनेर पनि छलफल गर्यौं । हाम्रो बैठक भोलि साढे ११ बजे बस्नेछ’, उनले भने ।
राष्ट्रपति चुनाव, चितवन उपचुनावलगायत अन्य समसामयिक विषयमा पनि छलफल गरिएकाले कुराकानी गर्दै जाँदा बैठक लम्बिएको परियारले बताए । आज सरकारमा रहने/नरहने बारे विषयले प्रवेश नपाएको भन्दै नेताहरू संवादमै रहेको उनको भनाइ छ ।
रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालयको अडान लिइरहँदा प्रधानमन्त्री गृहमा उनलाई फर्काउन सकारात्मक छैनन् । सत्ताघटकको प्रमुख दल एमाले अध्यक्ष केपी ओली भने रविको पक्षमा छन् ।