धनुषाका रन्जितले कतारमा जितेको ८३ करोड रकम हुन्डिबाट नपठाउने – Nepal Press

धनुषाका रन्जितले कतारमा जितेको ८३ करोड रकम हुन्डिबाट नपठाउने

रुपन्देही । कतारमा काम गर्दै आएका धनुषाका रन्जित कुमार पालले आफूले चिठ्ठामा जितेको ८३ करोड रकम हुण्डिबाट आफ्नो घर नपठाउने जनाएका छन् ।

शुक्रवार आबुधावी वीग टिकट राफल ड्रमा २३ मिलियन धिराम्स अर्थात् करिब ८३ करोड नेपाली रुपैयाँ जितेका पाल कतारको इस्ट्रन एक्सचेन्जको सनैया शाखामा कार्यरत रहेका छन् । त्यहाँस्थित पत्रकार उमाकान्त पाण्डेका अनुसार युएईको राजधानी आबुधावीमा हरेक महिनाको ३ तारिक खुल्ला गरिने ‘आबुधावी विग टिकट’ मार्फत हालसम्मकै ठुलो धनराशीको पुरस्कार कतारमा कार्यरत पालले जितेका हुन् ।

बिग टिकट र्‍याफल ड्रको २ सय ४८ सिरिजमा उनले झन्डै ८२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको चिट्ठा जितेका हुन् ।

पालले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गरेका थिए । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत थिए ।

रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएको आबुधावीबाट प्रकाशन हुने विभिन्न राष्ट्रिय सञ्चार माध्यमका अनलाइन संस्करणहरुमा समाचार प्रकाशित छ ।

बिग टिकट र्‍याफल ड्र प्रत्यक्ष प्रसारणसहित हरेक महिनाको ३ तारिक गर्ने चलन छ । सो बिग टिकटमा सहभागी हुन एउटा टिकटको मूल्य झन्डै ५ सय धिराम्स अर्थात् करिब १८ हजार नेपाली रुपैयाँ पर्छ ।

चिट्ठामार्फत ८३ करोड पाएका पालसँगको पत्रकार उमाकान्त पाण्डेले गरेको कुराकानी :

हजुर म रन्जित कुमार पाल नै हो । कतारमा पहिले हिमाल रेमिटको प्रतिनिधिको रूपमा काम गर्दै आएको थिए । सात वर्ष जति भयो यहाँ आएको । अहिले केही दिन भयो त्यो छोडेर अर्को एउटा कम्पनीमा काम गर्दै छु ।

हिजो पुरस्कार पाएको अनलाइनबाट हेरेर थाहा पाएँ । पछि विग टिकटको कार्यालयबाट फोन आयो ।

म भुईँबाट आएको मान्छे हो । हामी २० जना मिलेर विग टिकट नियमित काट्ने गरेका थियौँ । त्यसमा ४ जना नेपाली छौँ । अरू बाँकी अरू देशका साथीहरू छन् । उपहार जितेको बारे सुनेर खुशी लागेको छ । टिकट काटेका सबै साथीहरूलाई सुनाइसकेँ । सबैलाई थाहा छ । सबै जना खुशी छौँ ।

अब कागजपत्र सबै बुझाएको छु । रकम पाएपछि बाँडेर लिन्छौँ । राम्रोसँग वैधानिक बाटोबाट नेपाल पठाउँछु । जीवनशैली यस्तै हो । जहाँबाट आएको हो त्यो भुल्ने कुरा भएन, पैसा वैधानिक बाटोबाट नै पठाउँछु । घरमा सबैलाई थाहा छ । परिवारमा बुवा आमा सबै हुनुहुन्छ ।

यति धेरै पैसा पाए भनेर जागिर छोडेर नेपाल जाने योजना छैन । म काम गर्छु । मेहनत गर्छु बाँकी दिनमा पनि । उमाकान्तजी अहिले तपाईँले फोन गर्दा पनि म ड्युटीमै छु । हामी भुईँ मान्छे काम प्यारो छ नि । हजुरले थाहा पाएर सोधी खोजी गर्दै फोन गर्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर