पूरानै गठबन्धनमा फर्किन प्रचण्डको प्रपञ्च, उच्चस्तरीय संयन्त्रको बैठक बस्न मानेनन् – Nepal Press

पूरानै गठबन्धनमा फर्किन प्रचण्डको प्रपञ्च, उच्चस्तरीय संयन्त्रको बैठक बस्न मानेनन्

काठमाडौं । तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री नपाएपछि एकाएक बालकोटको बार्दलीमा पुगेर एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेको एक महिना नपुग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साबिककै गठबन्धनमा फर्किने बाटोमा लागेका छन् । पुस १० गते प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसहितको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

उनलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने वातावरण बाह्य शक्तिहरूले निर्माण गरेदेखि नै यो सत्ता समीकरण कुनै पनि बेला फेरबदल हुने आशंका भइरहेको थियो । कांग्रेसले यसबीचमा खुलेरै केपी ओलीले हाइज्याक गरेको गठबन्धन फिर्ता ल्याउने बताइरहेको छ भने भारत तथा अमेरिकाका उच्च अधिकारीहरूले निरन्तर पहल गरिरहेका छन् ।

रास्वपा अध्यक्ष रवि लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली नगर्ने प्रचण्डको अडानका पछाडि पनि कांग्रेस र अन्य शक्तिहरूको आडभरोसा रहेको बताइन्छ । यसैबीच रास्वपालाई ओली र प्रचण्डले मागेको २ दिनको डेडलाइन सकिन लाग्दा शनिवार साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने ओलीको प्रस्ताव समेत प्रचण्डले पन्छाएका छन् ।

उच्चस्तरीय संयन्त्रका संयोजक ओलीले शनिवार बिहान बालुवाटारमै पुगेर साँझ बैठक राखेर छलफल गर्ने प्रस्ताव राखेका थिए । तर प्रचण्डले संयन्त्रको बैठक बस्न नचाहेको स्रोतले जनाएको छ । यसअघि रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीसँग भेटेर संयन्त्रको बैठक बोलाउन आग्रह गरेका थिए ।

उच्चस्तरीय संयन्त्रको बैठक संयोजकले बोलाए पनि त्यसमा प्रधानमन्त्री सहभागी नभए अर्थ हुन्न । प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक बस्न नचाहेपछि उनी पूरानै गठबन्धनमा फर्किन चाहेको र आफूलाई प्रधानमन्त्री बनाउने दलहरूलाई धोखा दिने चरणमा पुगेको अनुमान एमाले नेताहरूले गरेका छन् ।

माओवादीभित्र उपाध्यक्ष कृष्णबहादुर महरासहित अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणी पोखरेलगायतका नेताहरु प्रचण्डलाई पूरानै गठबन्धनमा फर्काउन कांग्रेसका नेताहरुसँग निरन्तर संवादमा छन् । कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, रमेश लेखकहरु पनि माओवादी नेताहरुका साथै प्रधानमन्त्री प्रचण्डसँग पनि संवादमा छन् ।

राष्ट्रपति चुनावअघि नै प्रचण्डलाई कांग्रेसको ढोक्सामा पार्ने प्रयास भइरहेको टिप्पणी नेताहरूले गरेका छन् । एमालेलाई राष्ट्रपति कुनै हालतमा नदिन प्रचण्डमाथि माओवादी पार्टीभित्र र भूराजनीतिक शक्तिहरुबाट तीब्र दबाब छ । उनी रवि लामिछानेलाई चिढ्याउँदै गठबन्धनबाट लखेट्ने,राप्रपाका मन्त्रीहरुलाई ‘ह्युमिलियट’ गर्ने चरण हुँदै राष्ट्रपतिमा एमालेलाई धोखा दिएर पूरानो गठबन्धनमा फर्किन चाहान्छन् ।

कांग्रेसले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री मान्ने आश्वासन दिएपछि राजनीतिका चरम अवसरवादी र अस्थिर पात्र प्रचण्ड अहिलेको सत्ता साझेदारीबाट पछि हट्न लागेको राप्रपाका एक शीर्ष नेताले बताए । साबिक गठबन्धनलाई वहुमतका लागि ४ सीट पुग्दैन । त्यसका लागि जसपा समेत थपियो भने अरु दल आवश्यक पर्ने छैन । यदि प्रचण्डले पूरानै गठबन्धनमा फर्किने निर्णय गरे भने केन्द्रदेखि प्रदेशसम्म त्यसको असर पर्नेछ । एमालेको भागमा सभामुखमात्र बाँकी रहनेछ ।

यद्यपी प्रचण्डलाई माओवादीकै वर्षमान पुनलगायतका नेताहरूले भने अहिले नै सत्ता साझेदी तोड्दा प्रचण्ड स्वयं र माओवादी पार्टीको विश्वसनीयता समाप्त हुने र आगामी चुनावसम्म पुग्दा माओवादीको अस्तित्व नै जोगाउन नसकिने भन्दै तत्काल कुनै निर्णय नगर्न भनिरहेका छन् । तर प्रचण्डले उच्चस्तरीय संयन्त्रको बैठक समेत बस्न नमानेपछि एमाले नेताहरु भने सशंकित भएका छन् ।


प्रतिक्रिया

One thought on “पूरानै गठबन्धनमा फर्किन प्रचण्डको प्रपञ्च, उच्चस्तरीय संयन्त्रको बैठक बस्न मानेनन्

  1. काँग्रेसको लात खान पुगेकै थिएन यो दलाललाई । एमालेले अलि चाँडै साथ दियो ।काँग्रेसले घुन पिसेजस्तै पिसेर उठन नसक्ने बनाएको हेर्दै ताली बजाउनुपर्ने भारतको टट्टुलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर