फेसबुकमा दलितलाई अपमानित गर्ने स्टाटस लेख्नेविरुद्ध जुम्लामा उजुरी दर्ता – Nepal Press

फेसबुकमा दलितलाई अपमानित गर्ने स्टाटस लेख्नेविरुद्ध जुम्लामा उजुरी दर्ता

काठमाडौं । दलित समुदायमाथि अपमान हुने गरी सामाजिक सञ्जालमा लेख्नेविरुद्ध जुम्लामा जातीय छुवाछुत विरुद्धको उजुरी दर्ता भएको छ । सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायलाई अपमान हुनेगरी लेख्ने जिल्लाको सिंजाका गौरीलाल जैसीविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता भएको हो ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) नरेन्द्र बिष्टले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार जैसीले फेसबुकमा दलित समुदायमाथि अपमानित शब्द प्रयोग गर्दै आफू उच्च जातिको बाहुन भएको स्टाटस लेखेका थिए । उनले लेखेको स्टाटस अहिले भने हटाइसकेको प्रहरीले जनाएको छ ।

सिंजा गाउँपालिका–२ घोडेङ्गाका जैसीले माघ १६ गते लेखेको स्टाटसले सिंगो दलित समुदायले विभेद् महसुस भन्दै दलित अधिकारकर्मीले कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।

जैशीले लेखेको फेसबुक स्टाटसले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ आकर्षित हुने भएकाले कानुन बमोजिमको कारवाहीको मागसहित उजुरी परेकाले अनुसन्धान गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने डीएसपी खड्काले बताए ।

मुलुकी अपराध संहिता २०७४ र ‘जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८’ मा कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नपाइने उल्लेख छ ।

यस्तै, सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन, निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने, व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्ने गरेमा छुवाछुत गरेको ठहरिने उल्लेख छ ।

यस्तो कार्य गरेको प्रमाणित भएमा कसूर गर्ने व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुन्छ भने दफा ९ को उपदफा १ बमोजिम अदालतले कसूरदारबाट पीडितलाई २ लाख रुपैयाँसम्म क्षतिपूर्ति भराउने कानूनी व्यवस्था छ ।

यस्तै, सामाजिक सञ्जालमा दलित समुदाय लक्षित अपमानका शब्दावली प्रयोग गरेको हुँदा साइबर क्राइम अन्तर्गत मुद्दासमेत आकर्षित हुन्छ ।जैसीले फेसबुकमा स्टाटस लेखेपछि जुम्लाका दलित अगुवाले संयुक्त रुपमा प्रेस विज्ञप्तिसमेत जारी गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर