‘फोन पे’मार्फत अबदेखि बिना इन्टरनेट भुक्तानी गर्न सकिने – Nepal Press

‘फोन पे’मार्फत अबदेखि बिना इन्टरनेट भुक्तानी गर्न सकिने

काठमाडौं । फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पे ले यो नयाँ फिचर सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले फोन पेको आफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरेकी छन् ।

‘यो नविनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु’, डेपुटी गभर्नर ढुंगानाले भनिन्, ‘क्वीआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पे को आफलाइन फिचर कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गर्दछु ।’

फोन पेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्छ । तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकको लेस क्यास इकोनोमी बनाउने अभियानलाई पनि साकार पार्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

फेन पेका सीईओ दिवश सापकोटाले भने, ‘फोन पेको आफलाइन भुक्तानीलाई अझै अगाडि बढाएर सबैसामु पुर्याउनका लागि हाम्रा ग्राहक बैंक तथा वित्तिय संस्थाहरुले पनि अमूल्य भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

फोन पेले सार्वजनिक गरेका नविनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यावसायहरुका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ ।

फोन पे ले विगत ३ वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पे मा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ताहरु जोडिएका छन् भने ११ लाख भन्दा बढी व्यावसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु आबद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर