मैदानमा सन्दीपको ‘कमब्याक’ : मलिन अनुहार, सौहार्द व्यवहार – Nepal Press

मैदानमा सन्दीपको ‘कमब्याक’ : मलिन अनुहार, सौहार्द व्यवहार

टीमभित्र देखिएन असहज माहोल

काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टीमको बन्द प्रशिक्षण सुरु भएको एक हप्ता भयो । तर, आजको चहलपहल अरु दिनभन्दा फरक र विशेष थियो । मैदानमा मिडियाकर्मी बाक्लो संख्यामा थिए ।

होटलबाट आएको नेपाली टीमको बस एक बजेतिर मैदान नजिक रोकियो । खेलाडीहरु बसबाट झर्नासाथ क्यामेराहरु सोझिए । क्यामराहरुको मुख्य निशानामा थिए, राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछाने । यौनजन्य मुद्दामा पक्राउ परेर हालै धरौटीमा छुटेका सन्दीप करिब ५ महिनापछि बन्द प्रशिक्षणमा जोडिएकाले सबैको ध्यान उनीतिर सोहोरिएको हो ।

गम्भीर आरोप खेपिरहेका सन्दीपलाई टीमका साथीहरुले कस्तो व्यवहार गर्छन् र उनी स्वयम् कसरी प्रस्तुत हुन्छन् भन्ने कौतुहल थियो । तर, बाहिरबाट हेर्दा कुनै पनि असामान्य अवस्था देखिएन ।

क्रिकेट प्रशिक्षणमा फर्किएका सन्दीप अरु खेलाडीसँगै बसबाट ओर्लिए र किट ब्याग बोकेर प्रशिक्षणका लागि तयार भए । मैदान जानुअघि उनले ज्ञानेन्द्र मल्लसहित केही साथिहरुसँग हाइहेल्लो गरेको देखियो । प्रशिक्षकसँग पनि उनले सामान्य ढंगमा कुराकानी गरे ।

बन्द प्रशिक्षणका क्रममा पनि कुनै असहजता देखिएन । सन्दीपले अरु खेलाडीसँग र अरु खेलाडीले सन्दीपसँग सामान्य व्यवहार गरे । टीमका साथीहरुसँग सन्दीप सौहार्दरुपमा प्रस्तुत भएका थिए । अरुबेलाभन्दा ‘सिरियस’ अवश्य देखिन्थे र उनको अनुहारबाट मुस्कान हराइरहेको थियो ।

टीमका एक सिनियर खेलाडीले भने, ‘प्रमाणित आरोप नभएकाले हामीलाई त त्यस्तो अप्ठेरोपन महसुस भएन, तर सन्दीप आफैंले चाहीँ केही असहज मानेजस्तो लाग्यो ।’

सन्दीपको आगमनपछि टिमको मनोबल बढेको ती खेलाडी बताउँछन् ।

उनले थपे, ‘सन्दीपजस्तो अन्तर्राष्ट्रियस्तरको नहुँदा ठूलो रिक्तता भएको थियो । उनको उपस्थितिले हामीलाई बलिङमा सुरक्षित महसुस गराएको छ ।’

बन्द प्रशिक्षणमा प्रशिक्षक मोन्टी देसाइको ध्यान पनि अरुभन्दा सन्दीपतर्फ बढी थियो । सम्भवतः उनी सन्दीपको फिटनेस नियाल्न चाहन्थे । उनले बेलाबेला सन्दीपलाई पिठ्यूमा हात राखेर हौसला पनि दिइरहेका थिए ।

मैदानमा सन्दीपको सहज पुनरागमन हुँदा यता सामाजिक सञ्जालको माहोल भने बेग्लै छ । एकथरीले सन्दीपलाई राष्ट्रिय टीममा समावेश गर्नै नहुने भन्दै चर्को पैरवी गरिरहेका छन् । उनी गम्भीर मुद्दामा मुछिएको हुँदा टीममा राख्न नमिल्ने उनीहरुको तर्क छ ।

तर, क्रिकेट समर्थकहरुले चाहीँ सन्दीपको कमब्याकलाई सुखद रुपमा लिएका छन् । विश्वमा पनि थुप्रै प्रख्यात खेलाडीहरुलार्ई यस्तै आरोप लागेको र मुद्दा पनि खेपिरहेको अवस्थामा राष्ट्रिय टीमबाट खेल्दै आएको दृष्टान्त उनीहरु पेश गर्छन् ।

जे भए पनि सन्दीपको आगमनपछि अर्को महिना काठमाडौंमा हुने त्रिकोणात्मक घरेलु श्रृंखलामा नेपाली टिमको बलिङ धार मजबुत बनेको छ । उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई सबैभन्दा बढी जित दिलाउने बलरमा पर्छन् । त्रिकोणात्मक श्रृंखलाका लागि नेपालले अन्तिम टीम घोषणा गर्न भने बाँकी छ । यदि सन्दीपको फिटनेस ठीक देखिएको खण्डमा उनी अन्तिम टोलीमा समावेश हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर