खेलाडी पलायन रोक्न नौ महिना लिग सञ्चालन गर्ने एन्फाको तयारी – Nepal Press

खेलाडी पलायन रोक्न नौ महिना लिग सञ्चालन गर्ने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडी पलायन रोक्न देशमा नौ महिना लिग सञ्चालन गर्ने बताएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एन्फाका महासचिव किरण राईले खेलाडी विदेशीनु दुखद भएको र यसको समाधानका लागि एन्फाले विभिन्न योजनाहरु बनाएको हुँदा त्यसलाई चाँडै कार्यन्वयन गर्ने बताए ।

‘खेलाडी विदेशीनु जत्तिको दुखद क्षण केही हुँदैन । हामीले त्यसलाई रोक्न विभिन्न योजनाहरु बनाएका छौं चाँडै कार्यन्वयन पनि गर्नेछौं,’ उनले भने ।

यस्तै, यसअघि सम्म सहिद स्मारक ‘ए’ डिभिजन लिग सिंगल राउन्ड रोविन पद्दतीमा हुने गरेको थियो । यसै सिजनदेखि ए डिभिजन लिग डबल राउन्ड रोबिनमा हुन लागेको छ ।

ए डिभिजन लिग ६ महिना र नेपाल सुपर लिग (एनएसएल) तीन महिना सञ्चालन गरि नौ महिना खेलाडीलाई लिग खेल्ने वातावरण मिलाउने योजना एन्फाले बनाएको महासचिव राईले बताए ।

‘अहिले स्थिति पनि गाह्रो छ । कोभिड, निर्वाचन जस्ता विभिन्न कुराले खेललाई असर गर्यो त्यसकारण पनि खेलाडीहरु विदेशीए । तर, अब नौ महिना लिग सञ्चालन गर्ने योजनामा हामी छौं,’ उनले भने ।

फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगका खेलहरु दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्समा हुनेछ । त्यसका लागि ५० प्रतिशत तयारी सकिएको एन्फाले जानकारी गराएको छ । लिगमा सहभागी १४ क्लब दर्ता भइसकेका छन् ।

विजयी टिमले ७५ लाख, दोस्रो हुनेले ५० लाख, तेस्रोले २५ लाख रुपैँया प्राप्त गर्नेछन् । लिगको फेयर प्ले अवार्ड स्वरुप एक टिमले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन लाख, उत्कृष्ट गोल किपर र सर्वाधक गोल गर्ने खेलाडीलाई समान दुई लाख र उदयीमान खेलाडीले एक लाख पचार हजार प्राप्त गर्नेछन् ।

लिगमा हरेक खेलको विजेताले ५० हजार, र खेल बराबरी भएको अवस्थामा दुवै टिमले समान २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ दी म्याचले १० हजार पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *