कालोपत्रे ठेक्कामा बदनाम सांसद कान्छाराम, लमजुङको सडक अलपत्र पारेपछि धरौटी जफत गरिँदै – Nepal Press

कालोपत्रे ठेक्कामा बदनाम सांसद कान्छाराम, लमजुङको सडक अलपत्र पारेपछि धरौटी जफत गरिँदै

मोबिलाइजेशन रकम लिएर सम्पर्कविहीन, स्थानीय जनप्रतिनिधिले प्रश्न उठाउँदा पेटी ठेकेदारमार्फत दिन्छन् जे पनि हुनसक्ने धम्की

पोखरा । रामेछापको साँघुटारदेखि ओखलढुंगाको घोराखोरीसम्म सडक कालोपत्र ठेक्का पारेर ६ वर्षसम्म कुनै काम नगरेका ठेकेदार कान्छाराम तामाङले लमजुङमा पनि कालोपत्रे ठेक्का पारेर अलपत्र छाडेको पाइएको छ । विभिन्न ठाउँमा ठेक्का पारेर काम नगरेपछि कालोसूचीमा परेका कान्छाराम भने हालै सम्पन्न निर्वाचनमा रामेछापबाट तत्कालीन गठबन्धनको सहयोगमा कांग्रेसको टिकटबाट सांसद बनिसकेका छन् ।

कान्छाराम-नाना जेभीले करिब १० किलोमिटर कालोपत्रे गर्ने भनेर ठेक्का पारेको क्व्होलासोँथार गाउँपालिका वडा नम्बर १ बागलुङपानीदेखि घलेगाउँसम्मको सडकमा कुनै काम हुन नसकेपछि स्थानीय जनप्रतिनिधिले ठेकेदारको खोजी थालेका छन् ।

२०७८ असोज ३० सम्म काम सक्ने गरी २०७६ साल असोजमा कान्छाराम-नाना जेभीले १० किलोमिटर सडक कालोपत्रेको ठेक्का पारेको थियो । करिब ३५ करोड रूपैयाँको सो ठेक्का परेपछि केही ठाउँमा पर्खाल उठाउने र केही ग्राभेल बिछ्याउनेबाहेक कुनै काम भएको छैन । पछिलो समय ठेकेदारले कुनै पनि काम नगरेको गाउँपालिका अध्यक्ष सूर्य गुरुङले बताएका छन् ।

ठेक्का पारेर मोबिलाइजेशन रकम लिने र त्यसपछि काम नगर्ने भनेर बदनामी कमाएका ठेकेदार कान्छाराम तामाङले उल्टै स्थानीय जनता र जनप्रतिनिधिहरुलाई धम्की दिने गरेका छन् । यसै सातामात्र ओखलढुंगाको लिखु गाउँपालिका २ मा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले ठेकेदारले ६ वर्षदेखि काम नगरी विकास अलपत्र पारेको भनेर आलोचना गर्दा उल्टै कान्छारामका प्रतिनिधि ठेकेदार राजन सुवेदीले उपाध्यक्षमाथि जे पनि हुनसक्ने धम्की दिएका थिए ।

लमजुङको क्व्होलासोँथार गाउँपालिकाका पूर्वअध्यक्ष प्रेम घले र वर्तमान अध्यक्ष सूर्य गुरुङले समेत पटकपटक कान्छारामलाई भेटेरै पनि सडक कालोपत्रे गर्न आग्रह गरेका थिए । तर, पछिल्लो समय ठेकेदार र उनका प्रतिनिधि नै सम्पर्कविहीन भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले बताएका छन् ।

मंसिर ४ गतेभन्दा अगाडिसम्म केही काम भएपनि त्यसपछि काम नभएको उनको भनाइ छ । मंसिर ४ को निर्वाचनबाट कान्छाराम सांसद भइसकेका छन् । काम पनि नगर्ने र सम्पर्कमा समेत नआउने भएपछि धरौटी जफतका लागि बैंकमा प्रक्रिया थालिएको छ ।

कान्छारामले दाङमा पनि सडक ठेक्का लिएर मोबिलाइजेशन रकम निकालेपछि काम नगरी अलपत्र पारेको आरोप छ ।

याे पनि पढ्नुहाेस् ।

ढिलासुस्तीविरुद्ध बोल्दा उपाध्यक्षलाई ठेकेदारको धम्की- आलाकाँचा केटीमाथि जे पनि हुनसक्छ

सांसदलाई उपाध्यक्षको चुनौति- विकास अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको फोटो निकालेर संसदमा बोल्नुस्

 


प्रतिक्रिया

One thought on “कालोपत्रे ठेक्कामा बदनाम सांसद कान्छाराम, लमजुङको सडक अलपत्र पारेपछि धरौटी जफत गरिँदै

  1. चुनाव जित्न मोबाइल र रू ५००० दिनै प-यो दिएको पनि हो के गर्नु त गाउँ गाउँमा एम्बुलेन्स पनि बाडे पछि सडक त ठण्डाराम कि कसो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *