सांसद चौधरी पक्राउ प्रकरण : १० वर्षअघि नै भएको थियो मुद्दा फिर्ता लिने सहमति (पत्रसहित) – Nepal Press

सांसद चौधरी पक्राउ प्रकरण : १० वर्षअघि नै भएको थियो मुद्दा फिर्ता लिने सहमति (पत्रसहित)

कैलाली । प्रहरीले बिहीबार पक्राउ गरेको प्रतिनिधिसभा सदस्य अरुण चौधरीको मुद्दा १० वर्ष पहिले नै फिर्ता लिने सहमति भइसकेको खुलेको छ ।

२०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र थारु संघर्ष समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको पाइएको छ ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

कैलाली जिल्ला अदालतले उनीहरुविरुद्ध फैसला हुनु भन्दा अघि नै सरकारले यी लगायतका घटनाको मुद्दा फिर्ता लिने सहमति गरिसकेको खुलेको छ ।

आन्दोलित पक्षको थारु सङ्घर्ष समितिका संयोजक चन्द्र कुमार चौधरी र सरकाको पक्षबाट शान्ति तथा पुनर्निर्माण मन्त्रीसमेत रहेको सरकारी वार्ता टोलीका संयोजक टोपबहादुर रायमाझी र ऊर्जा मन्त्री रहेकी वार्ता टोलीकी सदस्य राधा ज्ञवालीको हस्ताक्षरमा थारुहरूको चरणबद्ध आन्दोलनका क्रममा पक्राउ परेकाहरूको निःशर्त रिहाइ गर्ने, आन्दोलनका क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो ।

थारुहट/थारुवान् प्रदेश मागसहित भएको आन्दोलनको क्रममा आगजनी हुन गएको र त्यो मुद्दा सरकारले फिर्ता लिइसकेको भन्दै फिर्ता दिएको मुद्दामा दोषि देखाएर पक्राउ गर्नु न्यायोचित नभएको नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।

‘सरकारसँग भएको १० बुँदे सहमतिमा सबै मुद्दा फिर्ता हुने उल्लेख छ फेरी उहाँले (अरुण चौधरीले) त्यसपछि पटक पटक निर्वाचन लडिसक्नु भएको थियो । त्यो बेला प्रहरी प्रशासन र निर्वाचन आयोगले किन पक्राउ गरेर अहिले नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा निर्वाचित भइसकेपछि पक्राउ गर्नु भनेको हामी माथिको अन्याय हो’, उनले भने, ‘२४ घण्टा पछि हामी आन्दोलनको आधि बेहेरि ल्याउँछौँ सरकारले यसको जिम्मेवारी दिनुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर