५ महिनापछि राष्ट्रिय टीममा सन्दीपकाे पुनरागमन


काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गतको शृखलाका लागि नेपाली टोलीको बन्द प्रशिक्षणलाई २० खेलाडीमा सिमित गरिएको छ ।
आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि नेपाल क्रिकेट संघ(क्यान)ले बन्द प्रशिक्षणमा सन्दीप लामिछानेलाई समावेश गर्दै दोस्रो चरणका लागि २० सदस्यीय टीमको घोषणा गरेको हो ।
दोस्रो चरणको छनोटमा २० खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको हो । यसअघि सन्दीप लामिछानेबाहेक पहिलो चरणको प्रशिक्षणमा क्यानले २८ खेलाडीलाई बोलाएको थियो ।
बिहीबार ९ खेलाडीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई पाँच महिना पछि राष्ट्रिय टीममा पुनरागमनको मौका दिँदै दोस्रो चरणलाई २० खेलाडी बोलाएको हो । बलात्कारको मुद्दा खेपि रहेका लामिछाने केहि हप्ता अगाडि धरौटीमा छुटेका थिए ।
त्यसपछि उनलाई राष्ट्रिय टिममा फर्काउने या नफर्काउने धेरै प्रश्नहरु उठेका थिए । बलत्कारको आरोप लाकेपछि सन्दीपलाई क्यानले पनि निलम्बन गरेको थियो । गत मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा फर्किने बाटो खोलिदिएको थियो ।
त्यसपछि टिम छनोट समितिले उनको फिटनेस र स्वास्थ्य स्थिति जाँच गरेर टीममा समावेश गर्ने निर्णय आज गरेको हो । सन्दीपसँगै २० सदस्यीय टीममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण कसी, ललित राजवंशी, सन्दीप जोरा, भिम सार्की, प्रतिश जिुसी, कमलसिंह ऐरी, किशोर महत्तो, मौशम ढकाल, सूर्य तामाङ सोमपाल कामी र अर्जुन साउद रहेका छन् ।
त्यस्तै, अंकीत सुवेदी, भुवन कार्की, विक्रम शोव, अनिल शाह, विवेक यादव, अविनाश बोहरा, सिद्दान्त लोहनी, सागर ढकाल, विनोद भण्डारी र शरद भेषावकर बाहिरिएका छन् ।
नेपालले फागुन २ देखि ९ गतेसम्म नामिबिया र स्कटल्यान्डसँग एकदिवसीय श्रंखला खेल्दैछ ।