विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्छौं : अमेरिकी राजदूत – Nepal Press

विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्छौं : अमेरिकी राजदूत

विराटनग । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताएका छन् ।

विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताए ।
उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिए । ‘जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा सुधार गरेकै कारण विकास भएको हो’, थोम्सनले भने ।

मानव बेखविखन र ओसारपसारका सम्बन्धमा पनि थोम्सनले जिज्ञासा राखेका थिए । उनले विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति चासो राखेका थिए । राजदूत थोम्सनले खुल्ला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या, मानव बेखविखनका बारेमा पनि जानकारी लिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।

नवोदितका अनुसार थोम्सनले विराटनगरको विकासका लागि दूतावासका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भेटमा महानगरका मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । उनले केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबान समस्या रहेको जानकारी गराए । दुवै खोलामा तटबन्धन निर्माणपछि मात्रै विराटनगरको डुबान समस्या समाधान हुने उनको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर