ढिलासुस्तीविरुद्ध बोल्दा उपाध्यक्षलाई ठेकेदारको धम्की- आलाकाँचा केटीमाथि जे पनि हुनसक्छ – Nepal Press

ढिलासुस्तीविरुद्ध बोल्दा उपाध्यक्षलाई ठेकेदारको धम्की- आलाकाँचा केटीमाथि जे पनि हुनसक्छ

जनप्रतिनिधिलाई धम्की दिने ठेकेदारलाई प्रशासनिक कारबाही गर्न महिला संघ र युवा संघ ओखलढुंगाको ध्यानाकर्षण

ओखलढुंगा । साँघुटार-घोरखोरी सडक कालोपत्रे ठेक्का लागेको ६ वर्षसम्म काम नगर्ने बदनाम ठेकेदारको बारेमा संसदमा आवाज उठाउन सांसदलाई आग्रह गर्दा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालाई ठेकेदारका स्थानीय प्रतिनिधिले जे पनि हुनसक्ने धम्की दिएका छन् ।

माघ १६ गते लिखु गाउँपालिका वडा नम्बर २ को सिंहदेवीमा आयोजित सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडा र गाउँपालिका अध्यक्ष अशोक कार्की भएकै ठाउँमा ठेकेदार राजन सुवेदीले उपाध्यक्षको अभिव्यक्तिलाई आफूले रेकर्डमा राख्ने भन्दै जे पनि हुनसक्ने चेतावनी दिएका थिए ।

सुवेदीले चेतावनी दिएको भिडिओ अहिले स्थानीय तहमा भाइरल भइरहेको छ । उनीभन्दा अघि गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले ६ वर्षसम्म ओखलढुंगाको विकास अलपत्र पार्ने ठेकेदारको आलोचना गरेकी थिइन् । उनी बोलेर हिँडेपछि सो सडक कालोपत्रे गर्ने ठेकेदार कान्छाराम तामाङको प्रतिनिधि बनेर स्थानीय ठकेदार राजन सुवेदीले उपाध्यक्षलगायत जनप्रतिनिधिहरुलाई होस गर्न चेतावनी दिएका हुन् ।

उपाध्यक्ष थापालाई चेतावनी दिने ठेकेदार प्रतिनिधि राजन सुवेदी ।

भाइरल भिडिओमा उनले भनेका छन्, ‘हामीले ठेक्का गर्दा भर्खर जन्मिँदै गरेका केटीहरु अहिले आएर जनप्रतिनिधि भएका छन् । तिनीहरुलाई के थाहा ठेक्कापट्टाबारे ? कसैलाई पनि नीति, विचार र सिस्टमभन्दा बाहिर गएर बोल्ने छुट छैन, झन जनप्रतिनिधिलाई त छँदैछैन । खबरदार लिखु गाउँपालिकामा फेरि यस्ता कुरा गरियो भने तपाईंको रेकर्ड गरेर राख्छौं, तपाईंको विरुद्ध प्रक्रियामा जान्छौं । हामी छोड्नेवाला छैनौं । जे पायो त्यही बोल्छु, सेलिब्रेटी बन्छु भन्नेहरुले सोचे हुन्छ ।’

याे पनि पढ्नुस्ः सांसदलाई उपाध्यक्षको चुनौति- विकास अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको फोटो निकालेर संसदमा बोल्नुस्

यसैबीच ठेकेदार सुवेदीले गाउँपालिका उपाध्यक्षलाई सार्वजनिक ठाउँमा दिएको महिलाविरुद्धका आपत्तिजनक अभिव्यक्तिलाई छानबिनको दायरामा ल्याउन अखिल नेपाल महिला संघले माग गरेको छ ।

अखिल नेपाल महिला संघकी ओखलढुंगा जिल्ला अध्यक्ष चम्पादेवी राईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सडकको काम अलपत्र पार्ने ठेकेदार र त्यसका सञ्चालकलाई जिम्मेवार बनाउन जनप्रतिनिधिको हैसियतले गरेको प्रश्नको प्रतिवाद गर्दै दिइएको धम्की र गालीगलौज समग्र महिलामाथिको प्रहार भएको बताएकी छन् । उनले महिलामाथिका अपमानजनक र आपराधिक अभिव्यक्ति क्षम्य नहुने चेतावनीसमेत दिएकी छन् ।

त्यस्तै राष्ट्रिय युवा संघ ओखलढुंगाका संयोजक विनोद खत्रीले विज्ञप्ति जारी गर्दै बदनाम ठेकेदारको पक्षमा उभिएर जनप्रतिनिधिलाई धम्की दिने ठेकेदार प्रतिनिधि सुवेदीमाथि प्रशासनिक कारबाहीको माग गरेका छन् ।

नेकपा एमाले लिखु गाउँपालिका वडा नम्बर २ वडा कमिटीका अध्यक्ष शंकरकुमार भण्डारीले पनि सोही वडामा आयोजित कार्यक्रमको औचित्यमाथि समेत प्रश्न उठाउँदै उपाध्यक्षविरुद्ध ठेकेदारले प्रयोग गरेका अपशब्द अपाच्य रहेको चेतावनी दिएका छन् ।

लिखु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष केशवहरि ढुंगेलले जनताको अभिमतबाट निर्वाचित प्रतिनिधिलाई केटी वा फुच्ची भन्नु घोर आपत्तिजनक रहेको भन्दै खेद व्यक्त गरेका छन् ।


प्रतिक्रिया

3 thoughts on “ढिलासुस्तीविरुद्ध बोल्दा उपाध्यक्षलाई ठेकेदारको धम्की- आलाकाँचा केटीमाथि जे पनि हुनसक्छ

Leave a Reply to suresh thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर