लहानमा उपभोक्ता हितविपरीत पसल चलाउने व्यापारीलाई कारबाही – Nepal Press

लहानमा उपभोक्ता हितविपरीत पसल चलाउने व्यापारीलाई कारबाही

लहान । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वीरगञ्जले लहान बजारमा गरेको अनुगमनका क्रममा नियमविपरीत पसल सञ्चालन गर्ने व्यापारीलाई कारबाही गरेको छ ।

अनुगमनको क्रममा म्याद गुज्रेका सामान बेच्ने, अखाद्य वस्तु मिसावट गर्ने, दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गर्ने, मूल्यसूची नराख्ने व्यापारीलाई जरिबानासहित कारबाही गरेको विभागका सूचना अधिकारी दीलिप खत्बेले बताए ।

इलाका प्रशासन कार्यलय लहान, घरेलु तथा साना उद्योग कार्यालय र स्थानीय प्रहरीसहितको सहयोगमा संयुक्तरूपमा बजार अनुगमन गरिएको थियो । सोवक्रममा लहान ८ मा रहेको माखनभोग स्वीट एन्ड नम्किन सेन्टरलाई मूल्यसूची नराखेको र गुणस्तरहीन खाना बिक्री वितरण गरेको अभियोगमा ५० हजार, लहान-१ को माँ सती अन्सुयाही किराना स्टोर्सलाई २० हजार, सरस्वती बीज भन्डार र लहान-२ मा रहेको जय महिमा सप्लायर्सलाई १५/१५ हजार, एस टी.एम फर्मा प्रालिलाई बिल बिजक जारी नगरेको आरोपमा १० हजार, नोबेल मोबाईल हाउसलाई ५ हजार रूपैयाँ जरिबाना गरिएको छ ।

अनुगमन टोलीले म्याद गुज्रिएका पेय पदार्थ, अन्य खाद्य वस्तुसमेत ४० किलोभन्दा बढी बरामद गरी डिस्पोज पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *