लोभीपापी नेताहरु र बिचल्लीमा कांग्रेस – Nepal Press

लोभीपापी नेताहरु र बिचल्लीमा कांग्रेस

यस पटकको प्रतिनिधिसभामा देउवा नेतृत्व कांग्रेसले गरेको द्वैधचरित्रको संसदीय विकृति लोकतन्त्रको हितमा त रहेन नै । कांग्रेसको पार्टी संगठनका लागि पनि दीर्घकालीन हितकर देखिँदैन । अहिले राष्ट्रिय बहसको विषय बनेको यही प्रसंगमा चर्चा गरौं । बहुमत प्राप्त प्रचण्ड नेतृत्व सरकारलाई अनावश्यक थप विश्वासको मत दिएर कांग्रेसले के सन्देश दिन खोजेको हो ? आज जनसरोकारको विषय बनेको छ । संसदीय व्यवस्था र नेपाली कांग्रेस एक-अर्काका पर्यायबाची रहेको इतिहास बिर्सेर विश्वासको मत दिएको एक हप्ता नबित्दै सर्वदलीय बैठकमा कांग्रेस प्रतिपक्षी दल भन्न कसरी सकेको ? संसदीय व्यवस्थालाई नै किन विवादित बनाउन खोजेको छ कांग्रेसले ? प्रमुख प्रतिपक्षी दलबारे भएको संवैधानिक व्यवस्था र संसदीय प्रणालीभन्दा ठीक उल्टो गृहकार्य गर्न देउवा कसको उक्साहटमा लागे । श्रीमती आरजुको कि आफ्ना आसेपासे नेताहरूको वा अदृश्य रूपमा इतर पक्षकै नेताहरुको ? आंशकाको घेराभित्र धेरै जना छन् । तर, यी कुरा गर्दागर्दै पनि कांग्रेसले संसदमा १० प्रतिशत संख्या नभएको कारणले प्रतिपक्षी दलको भूमिका प्राप्त गरेको छ ।

यस्ता विवादित र आलोचित निर्णय गर्न देउवाको राजनीतिक जीवनमा यो पहिलो घटना चाहिं पक्कै होइन । संसदीय व्यवस्थालाई कलंकित बनाएरै भए पनि पटक-पटक सत्ता प्राप्त गर्न सफल हुने नेता हुन् शेरबहादुर देउवा । ज्योतिषलाई आधार मानेर सात पटक प्रधानमन्त्री बन्ने उत्कट लालसा बोकेका उनी यसपटक सत्ता प्राप्त गर्नमा चमत्कारिक रुपमै चुके । सम्भवतः सबैभन्दा दुःखद कुरा, संसदीय व्यवस्थाको वकालत गर्ने, पुरानो र ठूलो लोकतान्त्रिक पार्टीमाथि यस प्रतिनिधिसभामा संसदीय व्यवस्थाकै श्राद्ध गर्न खोजेको आरोप लागेको छ । अर्काेतिर आफ्नै अकर्मण्यताका कारण चुनावी गठबन्धन छोडेर अर्को नयाँ गठबन्धनमा जोडिएर प्रचण्ड प्रधानमन्त्री बनिसके ।

कांग्रेसको द्वैधचरित्र र संवैधानिक प्रश्नहरू

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस सत्तापक्ष कि प्रतिपक्ष ? अहिले यही बहसले पनि राष्ट्रिय राजनीतिमा राम्रै चर्चा पाएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सत्तापक्षकै बेन्चमा बस्ने, अनि प्रतिपक्षी दलको सुविधा लिन संसद सचिवालय धाउन लाज पनि नमान्ने ! ‘कांग्रेसका नेताहरुले भने जस्तो संवैधानिक अवस्था नै छैन । प्रतिपक्षी दल बनेर सशक्त भूमिका निर्वाह गर्नुपर्ने नैतिक जिम्मेवारी कांग्रेसले नष्ट गरेको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यो पनि भनेका छन्, ‘संसदीय शासन प्रणालीमा प्रमुख प्रतिपक्षी दलले परेको वेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसदप्रति जवाफदेही बनाउन सक्ने सामर्थ्य राखेको हुन्छ । विश्वासको मतको सरकारी लाइनमा उभिनु उसको संवैधानिक धर्म होइन । कांग्रेसले प्रमुख प्रतिपक्षी दलका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्‍यो ।’

इतिहास साक्षी छ, २०५९ जेठ ९ गते प्रतिनिधिसभा विघटन गरेर देउवाले प्रजातन्त्रलाई दरवारमा बुझाएका थिए । उनै देउवाको अदूरदृष्टि कारण २०७१ माघ १९ मा ऐतिहासिक राजनीतिक दुर्घटना भएको थियो ।

राजनीतिक विश्लेषक लोकराज बराल यो विकृत संसदीय व्यवस्था भएको टिप्पणी गर्छन् । प्रतिपक्षविनाको व्यवस्था हुनु गलत भएको उनी बताउँछन् । कांग्रेससँग प्रतिपक्षमा रहने नैतिक अधिकार नभएको बरालको भनाइ छ । ‘प्रतिपक्षविनाको कस्तो व्यवस्था ? भोट हाल्ने वेलामा उसैलाई हाल्ने कांग्रेसलाई प्रतिपक्ष बस्ने नैतिक अधिकार पनि छैन’, बराल भन्छन्, ‘यो भाडभैलो हो । नेपाली राजनीतिमा अवसरवादिता बढी छ । त्यही अवसरको आशामा यस्ता कामहरू हुन्छन् ।’

अस्थिर राजनीतिको मुख्य कारक नबनोस् कांग्रेस

सुशील कोइराला नेतृत्वमा संविधान २०७२ जारी भएलगत्तै २०७२ असोज २५ मा ओली र प्रचण्डको संयुक्त गठबन्धनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । ओली नेतृत्व सरकारको एक वर्ष नपुग्दै सत्तालिप्साका आसक्त कांग्रेसी र कांग्रेस सभापति देउवाले नै सरकार भत्काउने काम गरे । अस्थिर राजनीतिको सृजना गर्ने त्यही मौका छोपेर आफू शक्ति केन्द्रमा पुग्ने दाउमा देउवाले आफ्नो पुरानो संस्कारलाई दोहोर्‍याउने हिम्मत गरे । आफू चौथोचोटि प्रधानमन्त्री बन्न नै देउवाले यतिसम्म गर्न भ्याए, प्रधानमन्त्री पद पनि प्रचण्डलाई दिने, चितवनका कांग्रेस मतदातालाई हँसिया हथौड़ामा भोट नहाले कारबाही गर्छु भन्न भ्याउने ।

इतिहास साक्षी छ, २०५९ जेठ ९ गते प्रतिनिधिसभा विघटन गरेर देउवाले प्रजातन्त्रलाई दरवारमा बुझाएका थिए । उनै देउवाको अदूरदृष्टि कारण २०७१ माघ १९ मा ऐतिहासिक राजनीतिक दुर्घटना भएको थियो । पार्टी अनुशासनभित्र रहन नचाहने देउवालाई पार्टीले स्पष्टीकरण सोध्यो । राजा ज्ञानेन्द्रकै इशारामा २०५९ असारमा कांग्रेस पार्टी नै फुटाइदिए । अतिवादी देउवाकै कारण दल विभाजन विकृतिको संस्कार भित्र्याएको अर्को कलङ्ग थपियो कांग्रेसमाथि । संसद विघटनको ६ महिनाभित्र देउवाले चुनाव गराउनै सकेनन् । अर्कोतर्फ सत्तामा टिकिरहन गैरसंवैधानिक तवरले राजा ज्ञानेन्द्रलाई अर्को एक वर्षका लागि प्रधानमन्त्री पदमै राखिदिन आग्रह गरे । तर, राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते देउवालाई असक्षम प्रधानमन्त्रीको ट्याग भिराइदिएर प्रधानमन्त्री पदबाट बर्खास्त गरे । अपमानित हुँदै प्रधानमन्त्री पद छोडनुपरेको पीडा भुल्न देउवालाई दुई वर्ष पनि लागेन । दरवारबाट पुनः प्रधानमन्त्रीको अफर आउनेबित्तिकै सत्तालिप्साबाट ग्रसित देउवाले ‘गोर्खाली राजाबाट न्याय पाएँ’ भन्नसमेत भ्याएका थिए ।

२०६१ जेठ २१ गते फेरि राजदरवार छिर्न देउवालाई न लाज लाग्यो न त उनको नैतिकताले नै रोक्न सक्यो । सत्ता प्राप्ति र सत्तालाई निरन्तरता दिनकै लागि सांसद खरिद बिक्री, पजेरो काण्ड, सुरासुन्दरी काण्डको प्रारम्भ गरेर त्यै बेलादेखि नै संसदीय विकृतिको प्रारम्भ उनै देउवाले गरेका थिए । उनमा आएको राजनीतिक विचलनलाई कतिपय बुद्धिजीवीले आरजुसँगको विवाहलाई पनि जोड्ने गरेको पाइन्छ ।

सत्ता प्राप्ति र सत्तालाई निरन्तरता दिनकै लागि सांसद खरिद बिक्री, पजेरो काण्ड, सुरासुन्दरी काण्डको प्रारम्भ गरेर त्यै बेलादेखि नै संसदीय विकृतिको प्रारम्भ उनै देउवाले गरेका थिए । उनमा आएको राजनीतिक विचलनलाई कतिपय बुद्धिजीवीले आरजुसँगको विवाहलाई पनि जोड्ने गरेको पाइन्छ ।

तर, कांग्रेसको दुर्भाग्य देउवाको एकोहोरोपन र उनको अतिवादलाई रोक्न सक्ने पार्टीभित्र नैतिकवान समूहको अझैसम्म स्थायी रुपमा निर्माण हुनै सकेन । १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित रामचन्द्र पौडेल र कृष्ण सिटौला गुट नेता त बने । तर, देउवाको विकल्प दिन सक्ने उनीहरुमा नैतिक धरातल नै देखिएन । उनीहरु अहिले देउवा र प्रचण्डले कतै राष्ट्रपति बनाइ पो दिन्छन् कि भन्ने झिनो आस लिएर कुरिरहेका पनि छन् ।

कस्ता छन् देउवा, के चाहन्छन् उनी ?

देउवाको विगतलाई हेर्ने हो भने उनी अचम्मलाग्दो नेतामा पर्छन् । व्यक्तिगत स्वार्थका निम्ति देउवा कहिले दरवारको भ¥याङ बने त कहिले अरुलाई भ¥याङ बनाएर आफैं सत्तामा पुगे । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि २०७४ बैशाख १७ गते महाभियोग दर्ता गर्न तयार गरिएको त्यो अभियोगपत्रमा कांग्रेस सांसदहरुको हस्ताक्षर नै कीर्ते थियो । तर, अर्कै उद्देश्यमा तयार भएको त्यही हस्ताक्षर लिष्टलाई पार्टी नेतृत्वले दुरुपयोग गरेको कुरा केन्द्रीय नेताहरू (डा. शेखर कोइराला र डा.रामशरण महत) लगायतले टेलिभिजन अन्तर्वार्तामा व्यक्त गरेका थिए । आरजुसँग विवाहपछि देउवाले २०५२ सालदेखि वर्तमानसम्म कांग्रेसको पुरानो आदर्शवादी छविलाई आजको दिनमा एक नम्बरको अवसरवादीहरुको संस्थाको रूपमा रुपान्तरण गरेका छन् ।

देउवा पार्टी वा सत्ताको शक्ति केन्द्रमा रहँदा त्यसको अधिकांश फाइदा र पदको दुरुपयोग गर्ने उनकी पत्नी आरजु राणा नै हुन् । कांग्रेसभित्र आरजुलाई छायाँ सभापति र छायाँ प्रधानमन्त्री भन्ने पनि गरिन्छ । देउवा प्रधानमन्त्री हुँदा सरकारले गर्ने हरेक नियुक्तिमा र पार्टी सभापतिले गर्ने चुनावी टिकट वितरणदेखि मन्त्री नियुक्तिसम्मै आरजुकै बोलवाला चल्छ । पार्टीभित्र उनको हस्तक्षेपकारी भूमिका, व्यापक चलखेल र सक्रियता हेर्दा अब पार्टी नेतृत्वमा आरजु आफैं आउन खोजेको बुझ्न् गाह्रो छैन । उनको विवाह पार्टीको प्रसङ्ग जोड्नु सान्दर्भिक देखें, ‘शेरबहादुरजी तपाईं हिजोसम्म हाम्रो हुनुहुन्थ्यो, आजबाट तपाईं आरजुको हुनुभयो’ भन्दै ठट्यौली पारामा सन्त नेता कृष्णप्रसाद भट्टराईले देउवा दम्पतीलाई बधाई दिएका थिए । आरजुसँग विवाह हुनुअघिसम्म किसुनजीका विश्वास र भरोसायोग्य नेता हुन् देउवा । विपीन कोइराला र शिवबहादुर खड्काको पछि लागेर पञ्चायत छिर्नबाट रोक्न नै किसुनजीले देउवालाई छात्रवृत्तिमा लण्डन अध्ययन गर्न पठाएका थिए । जब देउवा सत्ता केन्द्रित राजनीतिको मोहमा फसे, प्रजातन्त्रलाई लगेर दरवारमा बुझाए । त्यसपछि देउवालाई सायदै भेट्नसमेत चाहेनन् किसुनजीले ।

देउवा पार्टी वा सत्ताको शक्ति केन्द्रमा रहँदा त्यसको अधिकांश फाइदा र पदको दुरुपयोग गर्ने उनकी पत्नी आरजु राणा नै हुन् । कांग्रेसभित्र आरजुलाई छायाँ सभापति र छायाँ प्रधानमन्त्री भन्ने पनि गरिन्छ ।

बुढ्यौलीतर्फ ढल्किँदो उमेर, असक्षम नेतृत्वको प्रदर्शन गरिसकेका देउवा, कांग्रेसको बढ्दो क्षयीकरण, कांग्रेसप्रति मतदाताको घट्दो आकर्षणका कारण देउवालाई आउने दिनमा ठूलो चुनौती थपिँदैछ । बाटो बिराएको यात्रीको झझल्को दिने कांग्रेसको नीति र नेतृत्वले पार्टीलाई कहाँ पुर्‍याउला ? कांग्रेस मतदाता पार्टी नेतृत्वमा युवा पुस्ताको आवश्यकता देख्छन् । लोभ र पापले भरिएका नेताहरूले चाहिं देउवाको विकल्प नै देख्दैनन् । देउवाले दिन्छन् कि भनेर सोहीमुताविक क्रियाकलाप गर्ने गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरण गत पार्टीको चुनावमा इतर समूह भनिएकाहरुमध्येले नै दिनभर छुट्टै बैठक गर्ने गर्थे र रातिराति विदेशी रसपानको स्वाद लिन बुढानिलकण्ठ पुग्ने गर्थे । यस्तै लोभ र पापले भरिएका नेताहरूको साथ पाएर देउवालाई चुनौतीको अभाव हुन गरेको छ ।

लोकतन्त्र र संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सक्ने विश्वासको मत मुद्दामा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद प्रदीप पौडेल, नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले मात्र बिमति राख्नसके । देउवाको विकल्पमा सभापतिमा उम्मेदवारी दिएका डा.शेखर कोइरालाले पनि पछिल्लो समय आफ्नो टीमका महामन्त्रीलाई छोडेर देउवासँग निकटता बढाउँदै गएका छन् ।

मंसिर ४ मा भएको आमचुनावको यतिका दिन भैसक्यो । चुनावी गठबन्धन टुटेर नयाँ गठबन्धनको सरकार बनिसक्यो । कांग्रेस मूल नेतृत्व अझै मस्त निद्रामा छ । १५ वर्ष आयु तोकेर चुनावमा गएको वाम लोकतान्त्रिक गठबन्धन किन १५ दिन पनि टिक्न सकेन ? किन गरियो चुनावी गठबन्धन ? कसका लागि गरिएको थियो त्यो गठबन्धन ? कसका कारण भत्कियो त्यही गठबन्धन ? कांग्रेस मूल नेतृत्व यो विषयमा समीक्षा गर्नै चाहँदैन । पटकपटक गरेर ३ चोटिसम्म बैठक सार्दै गएको कांग्रेसले अब केन्द्रीय समितिको बैठक अनिश्चितकाल भनिसक्यो । आरजुपछि देउवाका विश्वासपात्र अहिले रामचन्द्र पौडेल नै हुन् । यी दुईको सम्बन्ध र नेतृत्व क्षमतालाई लिएर सुशील कोइरालाको धारणा स्मरण गराउन सान्दर्भिक लाग्यो ।

बाटो बिराएको यात्रीको झझल्को दिने कांग्रेसको नीति र नेतृत्वले पार्टीलाई कहाँ पुर्‍याउला ? कांग्रेस मतदाता पार्टी नेतृत्वमा युवा पुस्ताको आवश्यकता देख्छन् । लोभ र पापले भरिएका नेताहरूले चाहिं देउवाको विकल्प नै देख्दैनन् ।

‘नेतृत्व देउवाको हातमा गयो भने ५-६ वर्षमै पार्टी लिलामीमा पुग्छ । नेतृत्वमा रामचन्द्र पुगे भने पार्टी नै लङ्गडो हुनेछ’, १३औं महाधिवेशनको पूर्वसन्ध्यामा आफूलाई भेट्न आउने अधिकांश नेताहरूलाई सुशील कोइराला भन्ने गर्थे । २०७२ फागुन २१-२५ मा कांग्रेसको १३औं महाधिवेशन सम्पन्न हुँदै थियो, दुर्भाग्यवश एक महिनाअघि नै माघ २६ गते तत्कालीन पार्टी सभापति सुशील कोइरालाको देहान्त भयो ।

रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई सभापतिमा पराजित गर्दै १३औं महाधिवेशनमा देउवा कांग्रेसको मूल नेतृत्वमा आए । देउवाका प्रतिद्वन्द्वी रामचन्द्र र सिटौला नै उनका अगुवा र पछुवा बनेपछि पार्टीभित्र अधिनायकवादको डोजर चलाउन देउवालाई हाइसन्चो भएको छ अहिलेसम्म । राज्यको कुनै धर्म हुँदैन भन्ने लालची नेता रामचन्द्र पौडेल र हिन्दु धर्म र राजतन्त्रलाई विकासको बाधक ठान्ने शकुनी चरित्रका कृष्ण सिटौला पनि देउवालाई उक्साउने नेतामा पर्छन् ।

स्वार्थ केन्द्रित त्यो चुनावी गठबन्धन, आफू केन्द्रित कांग्रेसको राजनीति

चुनावअघि गरिएको त्यो वाम लोकतान्त्रिक गठबन्धन लोकतन्त्र र पार्टीको हितकरभन्दा पनि नेताहरुको स्वार्थमा केन्द्रित देखिन्थ्यो । देउवा चाहन्थे, उनको प्रधानमन्त्री पदले क्रमशः निरन्तरता पाइरहोस्, पत्नी आरजुलाई कैलालीबाट प्रत्यक्षमा चुनाव जिताउन सकियोस् । तर, कैलालीका स्थानीय नेता पुस्करनाथ ओझासँग अझै डराउन नछोडेकी आरजु अन्त्यमा समानुपातिकमै छिरिन् । यता रामचन्द्र पौडेल चाहिं एमाले टुक्रिएको, प्रचण्डको साथ पाएर यसपटक तनहुँबाट आफूले जसरी पनि चुनाव जित्नुपर्छ भन्ने ध्याउन्नमा थिए । पार्टीलाई बन्धकी र कार्यकर्तालाई गुमराहमा राखेर गरिएका यस्ता रहस्यमय सत्ता केन्द्रित गैरराजनीतिक संस्कारले कांग्रेसलाई अझ कमजोर बनाउन ठूलो भूमिका खेल्नेछ ।

१५ वर्ष आयु तोकेर चुनावमा गएको वाम लोकतान्त्रिक गठबन्धन किन १५ दिन पनि टिक्न सकेन ? किन गरियो चुनावी गठबन्धन ? कसका लागि गरिएको थियो त्यो गठबन्धन ? कसका कारण भत्कियो त्यही गठबन्धन ? कांग्रेस मूल नेतृत्व यो विषयमा समीक्षा गर्नै चाहँदैन ।

पार्टी संगठनलाई दाउमा राख्दै अस्थिर राजनीतिलाई प्रोत्साहन हुने गरी प्रचण्डलाई कांग्रेससँग सहकार्य गर्न मौका दिने नेता हुन् रामचन्द्र पौडेल । प्रम ओलीको संसद विघटनपछि चुनावमा जान चाहेका देउवालाई प्रधानमन्त्री बन्न उक्साउने, कांग्रेस प्रचण्डकरण गराउँदै चुनावी गठबन्धनका पक्षधरका प्रमुख नेता रामचन्द्र पौडेल नै हुन् । देउवा र प्रचण्डले त्यो गुण फर्काउन पनि मलाई राष्ट्रपति दिन्छन् भन्ने कुरामा पौडेल अझै आशावादी देखिन्छन् । देउवा र प्रचण्डले चाहँदैमा यो सबै हुन्छ वा उनीहरूले इमानदारी देखाउँछन् भन्ने कुरामा धेरै कांग्रेस नेताहरु नै स्वीकार्दैनन् । देउवा जबरजस्त सत्ता निकट हुनैपर्ने मुख्य आशय हरेकजसो आर्थिक अनियमिततामा मुछिएको बुढानिलकण्ठको जग नहल्लिओस् भन्ने नै हो सबैले बुझेको कुरा ।

सभापतिको दोस्रो चरणको चुनावमा देउवालाई समर्थन गरेका प्रकाशमान सिंहप्रति आगो उक्लनेहरु, चुनाव जित्न देउवासँग झगडा छैन भन्ने, दल नेताको चुनावमा मन्त्री हुने लोभमा उनैतिर सल्किने, गएको महाधिवेशनमा सहयोग गर्नेमाथि नै अन्तरघात गर्न सक्ने ! कता कता सुनिन्छ देउवाकै उत्तराधिकारी बन्ने दाउमा होडबाजी हुँदैछ रे ! पार्टीको आन्तरिक चुनावमा प्रधानमन्त्रीले गृह प्रशासनको जुन किसिमको दुरुपयोग गरे, त्यो आफैंमा सामान्य कुरा थिएन । त्यस्तो निषेधको राजनीतिले कांग्रेसको संगठनमा कति क्षति गराउँछ अहिले भन्न हतार हुन सक्ला ! जे होस् आगामी आमचुनावमा नेपाली कांग्रेस कमल थापाको राप्रपा नेपाल जस्तो नहोस् । अहिलेलाई यतिसम्म भन्न चाहिं मिल्ला ।

(लेखक लामिछाने गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीका अध्यक्ष हुन् ।) 


प्रतिक्रिया

One thought on “लोभीपापी नेताहरु र बिचल्लीमा कांग्रेस

  1. कांग्रेस बिचल्लीमा कहिल्यै पर्न सक्दैन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *