दुबई फिल्म महोत्सवको पोस्टरमा स्वीकृतिविना आफ्नो तस्वीर प्रयोग गरिएको भन्दै विजय लामाको आपत्ति – Nepal Press

दुबई फिल्म महोत्सवको पोस्टरमा स्वीकृतिविना आफ्नो तस्वीर प्रयोग गरिएको भन्दै विजय लामाको आपत्ति

काठमाडौं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा आयोजना गर्न लागेको फिल्म महोत्सव ‘नेपाली सिनेमा फेस्ट २०२३’ विवादित बनेको छ । निर्माण टीमसँग सहमति नै नगरी चलचित्र चलाउने र अनुमतिविना नै कलाकारहरुको तस्विर आफ्नो पोष्टरमा प्रयाग गर्ने जस्ता क्रियाकलापपछि सो महोत्सव विवादमा तानिएको हो ।

केही दिनअघि मात्र निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना नै ‘नेपाली सिनेमा फेस्ट २०२३’ मा चलचित्र महापुरुषलाई समावेश गरेको बताउँदै उक्त कार्यक्रममा आफ्नो चलचित्र सहभागी नगराउने जनाएको थियो ।

अहिले कलाकार तथा पाइलट विजय लामाले पनि उक्त कार्यक्रमलाई लिएर आपत्ति जनाएका छन् । आफूलाई सोध्दै नसोधी आफ्नो तस्विर कार्यक्रमको पोष्टरमा राखेपछि उनले उक्त कार्यक्रमप्रति आक्रोश व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्,

‘केही समययता यो कार्यक्रमबारे विवादास्पद कुराहरु अनि समाचारहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देखिन थालेको छ । अचम्म को कुरा, मेरो पनि तस्बिर यो पोस्टरमा देखें । मलाई यसबारे न जानकारी नै छ, न निमन्त्रणा नै छ न त मलाई सहभागिता जनाउन समय नै छ । यसरी लिखित स्वीकृतिविना नै मेरो तस्बिर चलाएर राख्नु कतिको उचित हुन्छ ? यही पोस्टमार्फत मेरो यस कार्यक्रमसँग कुनै पनि संलग्नता नभएको जानकारी गराउन चाहन्छु । आइन्दादेखि कसैले पनि मेरा तस्बिरहरु चलाउनपूर्व सूचना वा स्वीकृति लिएरमात्रै गर्नु होला । जय चन्द्र सूर्य ! ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *