नेत्रज्योति संघलाई जापानकाे पाैने दुई करोडको स्वास्थ्य उपकरण सहयाेग – Nepal Press

नेत्रज्योति संघलाई जापानकाे पाैने दुई करोडको स्वास्थ्य उपकरण सहयाेग

काठमाडौं । जापानले नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई पाैने दुई करोड बराबरको आँखा स्वास्थ्यसम्बन्धी उपकरणहरु सहयाेग गरेकाे छ ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज अस्पतालमा आयोजित एक कार्यक्रममा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

रेटिना रोगको उपचारसंग सम्बन्धित करिब १ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रीहरु जापान सरकारको कार्यक्रमअन्तर्गत अनुदानमा प्रदान गरिएको हो ।

नेपाल नेत्रज्योति संघद्वारा २०७२ सालमा आँखा उपचार केन्द्रका रुपमा स्थापना भएको कीर्तिपुर आँखा अस्पताललाई २०७४ सालमा आँखा अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्थापनाकाल देखि नै अस्पतालले आम नागरिकहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।

यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा २०७७ साल कात्तिक १९ नेपाली स्थित जापानी राजदूतावास र नेपाल नेत्रज्योति संघका बीचमा हस्ताक्षर भएको थियो ।

सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो भने हाल सम्म अस्पतालबाट करिब ७ हजारभन्दा बढि व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ जसमध्ये करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क भएको थियो ।

अस्पतालले हाल काठमाडौं र ललितपुरमा गरी जम्मा ४ वटा आँखा उपचार केन्द्रहरु समेत सञ्चालन गरिरहेको छ । काठमाडौंका शंखरापुर नगरपालिकामा साँखु आँखा उपचार केन्द्र, दक्षिणकाली नगरपालिकामा दक्षिणकाली आँखा उपचार केन्द्र र चन्दा्रगिरी नगरपालिकामा चन्द्रागिरी आँखा उपचार केन्द्र रहेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकामा लभु आँखा उपचार केन्द्र सञ्चालनमा छ ।

हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरुमार्फत नागरिकहरुलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

संघले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तोरुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसँगको साझेदारिमा उज्यालो अभियान कार्यक्रमसमेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनि नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर