प्रेस चौतारीद्वारा पुरस्कृत ६ पत्रकारको नाम सार्वजनिक


काठमाडौं । प्रेस चौतारी नेपालले स्थापना दिवसमा पुरस्कृत गर्ने ६ पत्रकारको नाम सार्वजनिक गरेको छ ।
संगठनको सचिवालय बैठकले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।
समितिले यस वर्षको अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट लमजुङका पत्रकार कृष्ण केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
यस्तै, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
सावित्री-पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई पुरस्कृत गर्ने निर्णय भएको छनोट समितिका संयोजक रघु मैनालीले जानकारी दिए ।
चौतारीले आफ्नो स्थापना दिवस माघ २२ गते हृदयचन्द्र सिंह प्रधानसहित ६ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रेस चौतारीको यही माघ ९ र १० गते बसेको सचिवालय बैठकले वरिष्ठ पत्रकार मैनाली संयोजक तथा उपाध्यक्ष देविका जीएम र महासचिव हिरामान लामा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिले अन्तिम निर्णय गरी केन्द्रीय कार्यालयलाई नाम बुझाएको छ ।