छैठौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने – Nepal Press

छैठौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने

काठमाडौं । छैठाैं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टीमको सहभागिता रहनेछ ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टीमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

माघ २४ गतेसम्म आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता टीमले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै ,उपविजेताले एक लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।

यस्तै, विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिने छ । प्रतियोगिता उद्घाटनको अवसरमा एकजना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित पनि गरिने भएको छ ।

प्रतियोगिता महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप प्रतिष्ठानले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष खड्काले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर