ह्यारीकी प्यारीको प्रिमियर : दीपक-दीपाको अंगालोमा जितु (भिडिओ) – Nepal Press

ह्यारीकी प्यारीको प्रिमियर : दीपक-दीपाको अंगालोमा जितु (भिडिओ)

काठमाडौं । मंगलबार कमलपोखरीस्थित बिग मुभिज मल्टिप्लेक्समा यही शुक्रबारबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘ह्यारीकी प्यारी’ को ग्राण्ड प्रिमियर सम्पन्न गरियो । रिलिजको तीन दिन अघि नै गरिएको समारोहमा सिने क्षेत्रका सेलिब्रिटीहरुको बाक्लो उपस्थिति रह्यो ।

आयोजित प्रिमियरमा फिल्मका कलाकारहरु साम्राज्ञी राज्य लक्ष्मी शाह, जितु नेपाल, विजय बरालसहित निर्माता भोला रिजाल, लेखक सुदीप बरालसहितको कास्ट एण्ड क्रिउ टिमको उपस्थित थियो । सम्बन्ध खलबलिएको हल्ला चलेपनि जितुसँगै चलचित्र ‘छक्का पञ्जा’को सिरिजमा सहकार्य गरेका दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे पनि प्रिमियरमा सहभागी भए ।

चलचित्रको प्रतिक्रिया दिने क्रममा दीपक र दीपाले जितुलाई अङ्कमाल गर्दै चलचित्र उत्कृष्ट लागेको बताए । जितुले जसरी अगाडि आफूलाई दर्शकसामु आफ्नो कामको जादु छरेका थिए, त्यसरी नै यो पाली पनि उनले निकै राम्रो काम गरेका छन् । यस्ता राम्रा राम्रा चलचित्रहरु बने भने नेपाली चलचित्रले सिने क्षेत्रमा जरो गाड्छ’, दीपाले भनिन् । जितुको अभिनयको आफू पहिलादेखि नै फ्यान भएको कुरासमेत उनले प्रिमियरमा राखिन् ।

चलचित्र अपेक्षा गरेको भन्दा धेरै नै माथि रहेको अभिव्यक्ति दिँदै आफूले चलचित्रलाई ९९.५ प्रतिशत दिने रातामकै उर्फ किरण केसीले सुनाए ।

प्रिमियर हेर्न पत्रकार प्रकाश सुवेदीलाई पनि विशेष निम्तो गरिएको थियो। चलचित्र हेरेर निस्केका पत्रकार सुवेदीले पनि चलचित्रले आफूलाई बाँधेर राखेको बताए । ‘डा.भोला रिजालको विशेष निमन्त्रणामा आएको थिएँ । पुरै चलचित्र शुक्रबार हेर्छु । आज मुखमात्र देखाएर निस्किन्छु सोचेको थिएँ तर बसेर हेर्न थालेपछि उठेर हिँड्नै मन लागेन । चलचित्रले बाँध्यो’, उनले भने ।

जितुको अभिनयले सन्जिप कुमारको याद दिलाएको भनाई उनले राखे । साम्राज्ञीका आएका चलचित्रहरुमध्ये अहिलेसम्मकै सुहाएको चलचित्र ‘ह्यारीकी प्यारी’ रहेको उनले खुलाए ।

यसबाहेक कलाकारहरु आकाश अधिकारी, ज्ञानेन्द्र देउजा, रमेश उप्रेती, हिमेश पन्त, सन्तोष पन्त, यशकुमार, कृष्ण कँडेल आदि लगाायतका कलाकारहरु पनि समारोहमा सहभागी थिए । उपस्थित सम्पूर्णले चलचित्रको खुलेरै तारिफ गरे ।

कमेडी र सोसल ड्रामामा आधारित रहेर बनेको चलचित्रलाई प्रसिद्ध चिकित्सक तथा गीतकार डा.भोला रिजालको फिल्म निर्माण कम्पनी बीआर प्रोडक्सनले निर्माण गरेको हो । चलचित्रमा रिजालकै सुपुत्र तथा दन्त चिकित्सक डा.कपिल रिजालको निर्देशन रहेको छ । कपिलको यो डेब्यु निर्देशन हो । चलचित्र यही माघ २० गतेबाट रिलिज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर