सन्दीपको निलम्बन फुकुवा : तत्काल राष्ट्रिय टीमबाट खेल्न योग्य, तर फिटनेसको इस्यू – Nepal Press

सन्दीपको निलम्बन फुकुवा : तत्काल राष्ट्रिय टीमबाट खेल्न योग्य, तर फिटनेसको इस्यू

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन हिजो फुकुवा गर्‍यो ।

बलात्कारको आरोपमा प्रहरी अनुसन्धान सुरु भएपछि निलम्बनमा परेका सन्दीप पाँच महिनापछि फेरि राष्ट्रिय टीमबाट क्रिकेट खेल्न योग्य भएका छन् ।

पाटन उच्च अदालतको फैसलाले सन्दीप जेलमुक्त भएपछि उनीमाथिको निलम्बन हटाउने विषयमा क्यानले छलफल सुरु गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र राष्ट्रिय खेलकुद परिषद् समेतले ग्रीन सिग्नल दिएपछि क्यानलाई निर्णय लिन सजिलो भयो । यद्यपि, निलम्बन फुकुवाका बाबजुद सन्दीपले तत्काल राष्ट्रिय टीमबाट खेल्न पाउने निश्चित भएको छैन ।

यसै महिना हुने त्रिकोणात्मक घरेलु सिरिजका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको छ । यसमा सन्दीप समेटिएनन् ।

यद्यपि, अझै पनि क्यानले चाहेमा उनलाई समेट्न सक्छ । बोर्ड बैठकको निर्णयपछि उनलाई बन्द प्रशिक्षणमा बोलाउन ढोका खुलेको छ ।

क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई बोलाउनेबारे कुनै निर्णय भई नसकेको बताए ।
उनले भने, ‘बोर्डको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि हामीकहाँ आउने हो ।

हामीलाई औपचारिक जानकारी आइसकेको छैन । निलम्बन फुकुवा भनेर मात्र न्यूजमा आएको छ । यदि फुकुवा भएको हो भने राष्ट्रिय टीममा बोलाउने विषयमा छनोट समितिले निर्णय लिन्छ ।’

सन्दीपको फिटनेस र मानसिक अवस्था हेरेर मात्रै उनलाई टीममा राख्ने वा नराख्ने तय हुन सक्ने दास बताउँछन् ।

‘उहाँले धेरै समयदेखि क्रिकेट खेल्नुभएको छैन । फिटनेसमा पनि ध्यान दिन पाउनुभएको छैन । त्यसैले टीममा राख्नुभन्दा अगाडि त्यो सबै हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो छनोट समितिको दायरामा पर्ने कुरा हो ।’

हिजो भएको क्यानको बोर्ड बैठक ७ जना सदस्यले बहिष्कार गरेका थिए । अध्यक्ष चतुर बहादुर चन्दसहित पाँच जनाको राजीनामा माग्दै बैठक बहिष्कार गर्नेहरूले पनि सन्दीपको फुकुवा निलम्बनलाई लिएर गम्भीर असहमति जनाएका छैनन् ।

बहिष्कार गर्ने मध्येका एक छुम्बी लामाले बोर्डले गरेको निर्णय आफ्नो जानकारीमा नरहेको बताए ।

उनले भने, ‘विगतमा निलम्बन किन गरियो र हिजो फुकुवा किन गरियो हाम्रो जानकारीमा छैन ।’

सन्दीपलाई फुकुवा गरेपछि राष्ट्रिय टीममा फर्काउन मिल्छ त भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् ।

‘कानूनभन्दा माथि कोही पनि हुँदैन । सबै कुरा कानून बमोजिम हुनुपर्छ,’ उनले भने ।

नेपालमा फौजदारी मुद्दा लागेको व्यक्तिले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउने सम्बन्धमा कुनै कानून छैन । तर, अन्तर्राष्ट्रिय अभ्यास हेर्दा धेरै चर्चित खेलाडीहरूले पनि अदालतमा मुद्दा झेल्दै राष्ट्रको प्रतिनिधित्व गरेर खेलिरहेका हुन्छन् ।

क्यानले निलम्बन फुकुवाको निर्णय लिनु पछाडिको एउटा कारण अन्तर्राष्ट्रिय अभ्यास पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर