अखिल महाधिवेशन- अध्यक्ष र महासचिवमा उम्मेदवारको लर्को, उपाध्यक्षमा सुनसान – Nepal Press

अखिल महाधिवेशन- अध्यक्ष र महासचिवमा उम्मेदवारको लर्को, उपाध्यक्षमा सुनसान

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं महाधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी ज्वरो बढेको छ । ७ वर्षपछि हुन लागेको संगठनको महाधिवेशनबाट नेतृत्वमा जान विद्यार्थी नेताहरुको ‘ट्राफिक जाम’ छ ।

एमालेले जनवर्गीय संगठनका बाँकी रहेका महाधिवेशनमा लोकतान्त्रिक प्रतिस्पर्धा गर्न दिने भएपछि लामो समयदेखि नेतृत्वको जाम लागेका कारण यसपटक एकै पदमा धेरै प्रत्याशी देखिएको जनसंगठन समन्वय संयन्त्रकी सहइन्चार्ज रचना खड्का बताउँछिन् ।

यसअघि केही जनसंगठनका अधिवेशनहरुमा तत्कालीन परिस्थितिका कारण सर्वसम्मत गरिएको थियो । प्रतिस्पर्धाविना नेतृत्वमा पुगेका नेताहरु संगठन र कार्यकर्ताप्रति भन्दा आफूलाई अवसर दिने नेताप्रति बफादार हुने गरेको गुनासो आएपछि ठूला र प्रभावशाली मानिएका जनसंगठनमा स्वस्थ प्रतिस्पर्धा गर्न दिइने खड्काले बताइन् ।

अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, किसान महासंघ, खेलकुद महासंघ जस्ता संगठनहरुको महाधिवेशन अब हुँदैछ । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न छुट दिइने तर गुटबन्दी स्वीकार्य नहुने चेतावनी अध्यक्ष केपी शर्मा ओलीले दिइसकेका छन् ।

अनेरास्ववियुका पदाधिकारीहरुलाई बोलाएर अध्यक्ष ओलीले एमालेमा गुट नरहेको भन्दै विद्यार्थीको महाधिवेशनमा गुटबन्दी र प्यानलबन्दी हुन नदिइने बताइसकेका छन् । अनेरास्ववियुका इन्चार्जसमेत रहेका पूर्वअध्यक्ष माधव ढुंगेलले प्यानल बनाउन नदिइने तर स्वस्थ प्रतिस्पर्धा गराइने बताए ।

अनेरास्ववियुको महाधिवेशन फागुन २ र ३ गते काठमाडौंमा हुँदैछ । अखिलमा यसपटक अध्यक्षमा भन्दा महासचिवमा बढी प्रतिस्पर्धा देखिएको छ । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल र झपिन्द्र खत्रीले चुनावी प्रचार थालिसकेका छन् । लामिछाने अहिले वरिष्ठ उपाध्यक्ष र खत्री उपाध्यक्ष छन् ।

बडाल महासचिव छन् । त्यस्तै उपाध्यक्षहरु वाङ्छु योन्जन, मोती बिक, उमेश आचार्य र लोकेश निरौलाले पनि अध्यक्षमा दाबी गरेका छन् । दाबी सबै उपाध्यक्ष र महासचिवले गरे पनि अन्तिममा प्रतिस्पर्धा आरसी लामिछाने र समिक बडालबीच हुने विद्यार्थी नेताहरु बताउँछन् ।

तर, पाटन क्याम्पसका स्ववियु सभापतिसमेत रहेका झपिन्द्र खत्रीले योग्यता, क्षमता र मापदण्डका हिसाबले पनि अखिल अध्यक्षमा आफू एक नम्बरमा रहेको बताएका छन् । आरसी लामिछाने आरआर र समिक बडाल त्रिचन्द्र क्याम्पसबाट राजनीतिमा स्थापित भएका हुन् ।

अरु उपाध्यक्षहरुले अध्यक्षमा बार्गेनिङ गरेर पार्टीमा उचित व्यवस्थापनको दबाब दिएको नेताहरु बताउँछन् । यसअघि अखिलको उपाध्यक्षबाट बिदा भएकाहरुले एमालेमा प्रदेश कमिटी उपसचिव पाएका थिए । उपाध्यक्षहरु महासचिवमा झर्न नपाइने भनेर उपमहासचिवहरुले लबिङ गरिरहेका छन् ।

अध्यक्षका दाबेदारहरुले पार्टी नेतृत्वको समर्थन लिन प्रयास गरिरहेका छन् । पार्टीले कसैलाई पनि सरकारी उम्मेदवार नबनाउने इन्चार्ज ढुंगेलले बताएका छन् । प्रतिस्पर्धी उम्मेदवारको संख्या भने घटाइने सम्भावना छ । अन्तिममा अध्यक्षमा दुई जना उम्मेदवार कायम हुने सम्भावना छ । बाँकीलाई पार्टीले व्यवस्थापन गर्ने नेताहरुले बताएका छन् ।

अहिले अखिलको केन्द्रीय कमिटी ५ सयभन्दा बढीको छ । यसलाई घटाएर अब विधानले १९९ मा झारेको छ । जसमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक एकजनासहित १७ सदस्यीय पदाधिकारी हुनेछन् ।

जसमा उपाध्यक्ष ४ जना र सचिव १० जना हुनेछन् । १० मध्ये ७ जना खुला र ३ जना महिला कोटाबाट हुनेछन् ।

अहिलेका स्थायी कमिटी सदस्यहरु अधिकांशले सचिव र कोषाध्यक्षमा दाबी गरेका छन् । उपमहासचिवबाट महासचिवमा प्रतिस्पर्धा गर्नेबाहेक अरुले उपाध्यक्षमा उम्मेदवारी दिने भएकाले अहिलेसम्म मर्यादा विष्ट र जेनिश लामाबाहेक उपाध्यक्षमा अरु उम्मेदवार खडा भएका छैनन् । मर्यादा अहिले सचिव छिन् भने जेनिश लामा कोषाध्यक्ष छन् ।

एकमात्र सीट रहेको कोषाध्यक्षमा स्थायी कमिटी सदस्यहरु सुजन कार्की, सजिना थापा मगर, प्रज्ज्वल फुयाललगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

महासचिवमा ठूलो प्रतिस्पर्धा

अखिलको अध्यक्षमा भन्दा पनि महासचिवमा बढी प्रतिस्पर्धी देखिएका छन् । हाल उपाध्यक्ष रहेकामध्ये अरु सबैले अध्यक्षमा दाबी गर्दा कल्पना वाइबाले भने महासचिव उम्मेदवार बन्ने बताएकी छन् । अखिलमा यसअघि नवीना लामा र ऐन महर पनि उपाध्यक्षबाट महासचिव भएका थिए ।

अध्यक्षपछिको कार्यकारी पद भएका कारण महासचिवमा सबैको आँखा लागेको हो । हालका सबै उपमहासचिवहरु महासचिवका दाबेदार हुन् । अखिल महासचिवका लागि नरेश रोकाया, सुदर्शन शिवाकोटी र गोविन्द गिरीले लामो समयदेखि अभ्यास थालेका छन् ।

त्यस्तै अहिलेका उपमहासचिवहरु गोविन्द गिरी, भाष्कर खनाल, नारायण घर्ती र सचिव धर्म गिरीले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । हाल नरेश प्रचार विभाग प्रमुख छन् भने सुदर्शन विदेश विभाग र नारायण घर्ती संगठन विभाग प्रमुख छन् ।

त्यस्तै भाष्कर खनाल प्रकाशन विभाग, गोविन्द गिरी शैक्षिक विभाग र सचिव धर्म गिरी विश्वविद्यालय समन्वय प्रमुख छन् । यी सबै नेताहरु नवीना लामा अध्यक्ष भएको महाधिवेशनबाट एकैपटक सचिवालय सदस्यमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर