अर्को चुनावमा नेकपा एस कसैसँग गठबन्धन नगर्ने गरी बलियो बन्छ : उपमहासचिव खतिवडा – Nepal Press

अर्को चुनावमा नेकपा एस कसैसँग गठबन्धन नगर्ने गरी बलियो बन्छ : उपमहासचिव खतिवडा

रुपन्देही । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्काल एकता नहुने बताएका छन् ।

उनले वाम शक्ति निर्माण गर्न वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारे ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वैचारिक कम्युनिष्ट पार्टी निर्माण गर्न वाम ध्रुवीकरणका लागि छलफलमात्रै गरिएको बताए ।

उनले त्यो वैचारिक कम्युनिष्ट पार्टीको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्ने दाबी गरे । वामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्युनिष्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको उनको भनाइ छ ।

उपमहासचिव खतिवडाले नेता घनश्याम भुसाल स्वघोषणा गरेर हालै नेकपा एकीकृत समाजवादीमा आएको र अहिले वामदेव गौतम र भीम रावललाई पनि पार्टीमा ल्याउन प्रयास भइरहेको बताए ।

उनले आगामी साढे ४ वर्षपछि हुने स्थानीय तह निर्वाचन समाजवादी पार्टीले एक्लै लड्ने हैसियत बनाउने बताउँदै कार्यकर्तालाई दोधारे भएर नबस्न आग्रह गरे ।

‘आउँदो चुनावमा कसैसँग गठबन्धन पनि नगर्ने गरी पार्टी बनाउँछौं, त्यसका लागि तीव्र रुपमा संगठन निर्माणमा जुटौं’, उनले भने, ‘नयाँ कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्न प्रशिक्षण, छलफल र वैचारिक बहस अघि बढाइन्छ ।’

नागरिकहरुले समस्याबाट मुक्ति पाउन नसकेकाले त्यस्ता समस्याहरुलाई सम्बोधन गर्न पार्टीका नेताहरु लाग्नुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर