शिवराजले निहारिका र बच्चालाई स्वीकारे, अदालतमा भयाे मिलापत्र – Nepal Press

शिवराजले निहारिका र बच्चालाई स्वीकारे, अदालतमा भयाे मिलापत्र

काठमाडौं । ‘कुमारी आमा’ का रुपमा प्रचारित निहारिका राजपुत र उनले ‘बलात्कारी’ आरोप लगाएका शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ । उनीहरुले एक-अर्कालाई श्रीमान-श्रीमतीका रुपमा स्वीकारेर सँगै मिलेर बस्न तयार भएका छन् ।

निहारिकाले शिवराजबाट बलात्कृत भएको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, सो मुद्दामा अदालतले शिवराजलाई सफाइ दिएको थियो ।

त्यसपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् । उक्त पुनरावेदनको फैसला नआउँदै सोमबार धनुषा जिल्ला अदालतले उनीहरुबीच मेलमिलाप गराइदिएको हो ।

उच्च अदालतको आदेशमा निहारिकाको बच्चा र शिवराजको डीएनए टेस्ट गराइएको थियो । उनीहरुको डीएचए म्याच भए पनि बलात्कार प्रमाणित हुने आधारहरु भने कम थिए । उच्च अदालतमा मुद्दाको पेशी आगामी २५ गतेलाई तोकिएको छ ।

बलात्कार मुद्दा लम्बिएको अवस्थामा निहारिकाले गत आइतबार धनुषा जिल्ला अदालतमा शिवराजविरुद्ध अंश मुद्दा दायर गरेपछि ट्विस्ट आएको हो । निहारिकाले शिवराजसँग आफ्नो तीन वर्ष प्रेम भएपश्चात उमेर नपुग्दै २०७५ सालदेखि पति-पत्नीका रुपमा बसेको उल्लेख गरेकी छिन् । आफूहरुको सम्वन्धबाट २०७७ सालमा बच्चा जन्मिएको उनको निवेदनमा उल्लेख छ । बच्चा जन्मिएपश्चात श्रीमानले आफूसँग झगडा र कुटपिट गर्ने भएकाले सँगै बस्न सक्ने अवस्था नआएको उनले बताएकी छन् ।

निहारिकाले हालेको सो मुद्दामा शिवराजले भोलिपल्टै जवाफ दिएका थिए । उनले पनि निहारिका र आफू श्रीमानश्रीमती भई बस्दा बच्चा जन्मिएको स्वीकार गरेका छन् । उनले निहारिकालाई कुटपिट गरेको अस्वीकार गर्दै उनलाई अंश दिएर छुट्याउन तयार रहेको तथा श्रीमतीका रुपमा फेरि स्वीकारेर बच्चासमेतको जिम्मेवारी बहन गर्न पनि तयार रहेको उल्लेख गरेका थिए । दोस्रो विकल्पमा निहारिका पनि सहमत भएपछि समाधान निस्किएको हो ।

निकट स्रोतका अनुसार मिलापत्रपछि निहारिका र शिवराज दुवै खुशी छन् । शिवराजको परिवारले पनि निहारिकालाई स्वीकार्ने भएको छ । उनीहरु एउटै छानोमा भने बस्न थालिसकेका छैनन् । निहारिकाको परिवार भने उनीसँग पहिल्यैदेखि रुष्ट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *