बजारमा नक्कली मदिरा भेटिए सूचना दिन बानको अनुरोध


काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ बानले बजारमा नक्कली मदिरा भेटिए सूचना दिन आग्रह गरेको छ ।
बानले आज एक विज्ञप्ति जारी गर्दै अबैध गुणस्तरहिन र मापदण्ड विपरितका उत्पादनहरुले राष्ट्र, समाज, व्यवसाय र व्यक्तिमा पार्ने गम्भिर नकारात्मक प्रभावको बारेमा सचेत रही यस्ता गतिविधि कहि कतै भएको जानकारी आएमा सरकारका निकायहरुमा सूचना दिन आग्रह गरेको हो ।
त्यस्ता अबैध कारोवारीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन सहयोग गर्न समेत अपील गरेको छ ।
बानले विज्ञप्तिमा भनेको छ,‘नेपाल सरकार, आन्तरीक राजश्व विभाग एवं सो अन्तर्गतका विभिन्न आन्तरीक राजश्व कार्यालयहरु र नेपाल प्रहरीका तर्फबाट बजार अनुगमन एवं अनुसन्धान कार्यलाई सक्रियतापुर्वक तिब्रता दिएका कारण देशका बिभिन्न भागबाट विभिन्न किसिमका अबैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली अन्तःशुल्क टिकट भएका मदिरा, सुर्तिजन्य पदार्थ सहितका अन्तः शुल्कजन्य पदार्थहरु बरामद गरि सो कसुरमा संलग्न व्यक्तिहरुलाई थुनामा राखी अनुसन्धान कार्य अघि बढाएको भन्ने समाचार प्रति यस संघको ध्यानाकृष्ट भएको छ ।’
मदिरा जस्तो सम्बेदनशिल बस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाईसेन्स लिई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ल्याव परिक्षण गरि स्वीकृती प्राप्त गरेर मात्र गर्नु पर्ने एवं बिक्रि गर्दा समेत अनुमति पत्र लिएकाले मात्र बिक्रि गर्न पाउने कानूनी प्राबधान रहेको छ ।
अबैध मदिराको उत्पादन एवं बिक्रि वितरणबाट सरकारको राजश्वमा असर पर्नुका साथै यस किसिमका अबैध मदिराको आयात, उत्पादन, बिक्रि वितरण एवं उपभोगले देशको राजश्व, कानून बमोजिम स्थापीत उद्योगहरुको व्यवसायीक ख्याती, सृजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भिर असर पर्न जाने अध्यक्ष रमेश श्रेष्ठले बताए ।