प्रेमप्रसाद आत्मदाह : आत्महत्या दुरुत्साहनमा प्रारम्भिक बयानपछिको प्रमाणका आधारमा मात्र अनुसन्धान – Nepal Press

प्रेमप्रसाद आत्मदाह : आत्महत्या दुरुत्साहनमा प्रारम्भिक बयानपछिको प्रमाणका आधारमा मात्र अनुसन्धान

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनबाहिर प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि आफन्तले दिएको आत्महत्या दुरुत्साहनको उजुरीमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आचार्यकी श्रीमती नानुकाले काठमाडौं प्रहरी परिसरमा विभिन्न व्यक्ति र संस्थाविरुद्ध किटानी जारी दिएकी थिइन् । किटानी जाहेरीमा उल्लेख भएका आरोपीकै कारण पति आत्महत्यासम्मको स्थितिमा पुगेको उनको दाबी छ ।

जाहेरीमा भाटभटेनी सुपर मार्केट, क्याथफोर्ड इन्टरनेसनल कलेज, डाबर नेपालसहितका व्यक्ती र संस्थामाथि आरोप लगाइएको छ । काठमाडौं प्रहरीले अहिले जाहेरीमा मुछिएकासँग सोधपुछ गरिरहेको छ ।

सोमबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई टेकुस्थित परिसर कार्यालय बोलाएर प्रहरीले केही घण्टा सोधपुछ गरेको थियो । किटानी भएका अन्य व्यक्ति र संस्थालाई झिकाउने तयारी प्रहरीको छ ।

त्यसअघि माघ १० गते अपरान्ह संसद भवनबाहिर आत्मदाह गरेका इलामका आचार्यले घटनाअघि आफ्नो फेसबुकमा ६ हजार लामो शब्दको स्टाटस लेखेका थिए । त्यसमा आफूलाई दु:ख दिएको, झुलाएको र ऋणको भार बढाएको भन्दै ती व्यक्ति र संस्थाहरूको नाम लेखिएको थियो । घटनाको भोलिपल्ट बिहान आचार्यलाई मृत घोषणा गरिएको थियो ।

‘मृतक श्रीमान्‌ले आफ्नो फेसबुकमा आत्महत्या गर्नुअघि पोष्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शंकाको आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेश गर्छु’, नानुकाले आफ्नो जाहेरीमा लेखेकी छिन् । त्यसअघि आचार्यले आत्मदाह गरेपछि सरकारले उनले उठाएका विषय र घटनामाथि छानबिन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको थियो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा कसैले जाहेरी दिएमा त्यसलाई प्रहरी कार्यालयले दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । सोही आधारमा नानुकाले दिको जाहेरीलाई प्रहरीले दर्ता गरेर प्रारम्भिक अनुसन्धानको प्रकृया अगाडि बढाएको हो ।

के हो आत्महत्या दुरुत्साहन ?

२०७५ साउन मसान्तसम्म आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरको कानूनी व्यवस्था थिएन ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता २०७४ मा आत्महत्या दुरुत्साहनलाई कसुरमा रुपमा व्यवस्था गरिएपछि आत्महत्याका घटनामा पनि मृतकका आफन्तहरुद्धारा दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान हुने गरेको छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा १ सय ८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुनेअन्तर्गत त्यसैको उपदफा १ मा भनिएको छ- कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिती खडा गर्न वा गराउन हुँदैन ।

उपदफा १ अनुसारको कसुर गर्नेलाई ५ वर्षसम्मको कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुने उपदफा २ को व्यवस्था छ । त्यसयता आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान हुँदै आएको छ। छोराछोरीको आत्महत्यादेखि प्रेमि-प्रेमीकाको आत्महत्यासम्ममा पीडितले आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिएका छन् ।

कार्यरत महिला कर्मचारी झुन्डिएको अवस्थामा फेला परेपछी चर्चित समता स्कुलका कर्मचारी तथा सञ्चालक उत्तम सञ्जेलकी श्रीमती पक्राउ परेकी थिइन् । यस्तै पूर्वसहकर्मीले आत्महत्या गर्नुअघि रेकर्ड रेको भिडिओका आधारमा अहिलेका चर्चित रवि लामिछाने पनि पक्राउ परेका थिए ।

यद्यपि अदालतले उनलाई पछि सफाई दिएको थियो । काठमाडौंको धुम्बाराहीमा केही समयअघि इन्गेजमेन्ट तोडिएपछि प्रेमीकै घरअगाडि गएर आत्मदाह गरेकी थिइन् । मृतकका आफन्तको किटानी जाहेरीपछि पक्राउ परेका प्रेमी आत्महत्या दुरुत्साहन मुद्दाको पुर्पक्षका लागि यतिबेलामा थुनामा गएका छन् ।

कानूनविद् भीमार्जुन आचार्य आत्महत्या दुरुत्साहन नयाँ विषय भएकाले कस्तो-कस्तो अवस्था भयो भन्ने चाहीँ आत्महत्या दुरुत्साहन हुने भन्ने कुरा स्पष्ट नरहेको बताउँछन् ।

‘तर, कानूनको मक्सद भनेको चाहिँ सम्बन्धित व्यक्तिले आत्महत्या गर्नुको निर्णायक कारण त्यही हो नत्र आत्महत्या गर्दैन थियो भन्ने देखिनुपर्छ’, आचार्यले भने ।

आत्महत्या दुरुत्साहनका अन्य घटनामा जस्तो आचार्य आत्मदाह प्रकरणमा प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छैन । प्रारम्भिक बयान लिएपछि उपलब्ध हुने प्रमाणका आधारमा अगाडि बढ्ने काठमाडौं प्रहरीको तयारी छ ।

‘यो मुद्दामा आचार्यले स्टाटसमा उल्लेख गरेका विषयहरुको तथ्यगत जाँच हुनुपर्छ। त्यसैले यो अनुसन्धान धेरै गहन हुनुपर्छ’, काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की भन्छन् ।

उनी अन्य आत्महत्या दुरुत्साहनका घटना र आचार्य प्रकरण फरक हुनु स्वाभाविक मान्छन् ।

उनी भन्छन्, ‘अनुसन्धानहरू कानूनी, प्रकृयागत र समय लिने खालका हुन्छन् । त्यसमा प्राविधिक विषयहरु हेर्नुपर्छ । अब यो घटनामा संस्थागत र सिस्टमेटिक विषयहरू पनि छन् । राज्य संयन्त्रका विषयवस्तुहरू पनि उठाइएको पाइन्छ । हामीले हेर्ने भनेको हाम्रो क्षेत्राधिकारभित्र कानूनले दिएको अधिकार प्रयोग गरेर हेर्ने हो ।’

उनले सुरुवातमा आचार्यले उल्लेख भएजस्तो घटनाहरुको वास्तविकता बुझ्ने काम भइरहेको बताए ।

‘कतिपय घटनाहरु भएका भनिएका छन् तर कहिले भन्ने छैन । ती विषयलाई पनि हामी हेर्ने छौँ’, उनले भने ।

कानुनविद् आचार्यले पनि यो प्रकरण गम्भीर भएको बताए ।

‘अब कुन हदसम्म प्रमाणहरु जुट्न सक्छ भन्ने हो । तर, मृतकले आत्मदाह गर्नुअघि उठाएका विषयहरू निकै गम्भीर छन् । पहिलो कुरा त प्रमाण खोज्नुपर्‍यो । दोस्रो कुरा आत्महत्या दुरुत्साहन दिने किसिमको हो कि होइन भन्ने विषयको परीक्षण हो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *