सांसदलाई उपाध्यक्षको चुनौति- विकास अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको फोटो निकालेर संसदमा बोल्नुस् – Nepal Press

सांसदलाई उपाध्यक्षको चुनौति- विकास अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको फोटो निकालेर संसदमा बोल्नुस्

साँघुटार–घोराखोरी सडक कालोपत्रे ठेक्का रद्द हुन लागेपछि ठेकेदार जोगाउन काम थाल्ने भनेर झारा टार्न खोजिएको आशंका

ओखलढुंगा । साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्ने ठेक्का लागेको ६ वर्षसम्म कुनै काम नगरी अलपत्र पार्ने ठेकेदार पुर्णबहादुर तामाङ (कान्छाराम)को फोटोसहित संसदमा कुरा उठाउन स्थानीय जनप्रतिनिधिले ओखलढुंगाका सांसद रामहरी खतिवडालाई आग्रह गरेका छन् ।

लिखु गाउँपालिका वडा नम्बर २ सिंहदेवीमा सोमबार आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले ओखलढुंगाको विकास अलपत्र पार्ने ठेकेदार सांसदको फोटो निकालेर संसदमा आवाज उठाइदिन आग्रह गरेकी हुन् ।

सांसद खतिवडा प्रमुख अतिथी रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष थापाले भनिन्–यत्रो वर्षसम्म यो सडकको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायी प्रतिनिधि पनि संघीय संसदमा हुनुहुन्छ भन्ने सुनेको छौं । ओखलढुंगाको विकास अलपत्र पार्ने,सडयक अलपत्र पार्ने माननीयज्यूको फोटो निकालेर संसदमा आवाज उठाइदिनुस् ।

२०७३ सालमा सो सडक कालोपत्रेका लागि कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पारेको थियो । विभिन्न समस्या देखाउँदै सो कम्पनीले अहिलेसम्म पनि कालोपत्रे सुरु गरेको छैन । कम्पनीका मालिक कान्छाराम तामाङ रामेछापबाट सांसद निर्वाचित भइसकेका छन् ।

उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । सो सडक कालोपत्रे चुनावी एजे्ण्डा समेत बन्ने गरेको छ । ओखलढुंगाका यसअघिका सांसद यज्ञराज सुनुवारले सडक कालोपत्र नगरी अलपत्र पार्ने ठेकेदार कान्छाराममाथि कारवाही माग गर्दै संसदमा आवाज उठाएका थिए ।

सडक डिभिजनले उनलाई कालोसूचीमा राखेर ठेक्का रद्द गर्न लागेपछि कालोपत्रे शुरु गर्ने तयारी भएको भन्दै सोमवार सांसद खतिवडाको पहलमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको बताइएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कार्की पनि सहभागी थिए ।

उपाध्यक्ष थापाले सडक कालोपत्रे शुरु गर्ने भनेर आयोजना गरिएको कार्यक्रममा गाउँपालिका कर्मचारी प्रयोग गरेर एकपक्षीय चटक देखाइएको भन्दै उपाध्यक्ष थापाले आपत्ति जनाएकी थिइन् । कालोपत्रेका नाममा पटकपटक जनतालाई झुक्याइएको भन्दै उपाध्यक्ष थापाले विकास अलपत्र पार्ने ठेकेदारलाई जोगाउन खोजिएको आरोप समेत लगाएकी छन् ।

उनले सोही वडाका बासिन्दा समेत रहेका पूर्व प्रदेश सांसद मोहन खड्कालाई समेत जानकारी नदिई कालोपत्रे उद्घाटनका नाममा अन्तरक्रिया गरेर चटक देखाइएको आरोप लगाइन् ।

उनले ठेकेदारको ठेक्का खोसिने भएपछि दुई चार महिनामा कालोपत्रेका नाममा झारा टार्ने खेलो हुन सक्ने भन्दै गुणस्तरहीन काम भएमा आफू गाउँपालिकाको अनुगमन संयोजक समेत रहेकाले त्यस्तो भेटिएमा भत्काइदिने चेतावनी समेत दिइन् ।

रामेछापको साँघुटार–घोराखोरी–ओखलढुंगा सडक कालोपत्र भएमा काठमाडौंबाट ओखलढुंगाका दुरी छोटिने मात्र नभई पश्चिमी ओखलढुंगाका बासिन्दालाई जिल्ला सदरमुकाम आउजाउमा सहजता हुनेछ । केही वर्षअघि नै कच्ची सडक निर्माण पूरा भएर पनि जिल्लावासीले ठेकेदारको कारण सहज यात्रा गर्न नपाएको उपाध्यक्ष थापाले बताइन् । उनले ठेकेदारबाट क्षतिपूर्ति भरउनुपर्ने समेत बताएकी छन् ।


प्रतिक्रिया

One thought on “सांसदलाई उपाध्यक्षको चुनौति- विकास अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको फोटो निकालेर संसदमा बोल्नुस्

  1. माननीय रामहरी खतिवडाज्यूले कान्छारामबाट केही पाए संसदमा कुरा उठाउदैनन् नत्र उठाउलान जस्तो लाग्छ ।

Leave a Reply to Sharma Sundar Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर