बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला पर्‍यो: मुख्यमन्त्री कार्की – Nepal Press

बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला पर्‍यो: मुख्यमन्त्री कार्की

विराट चौक । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला परेको बताएका छन् ।

प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै कार्कीले भने, ‘बैंकको अनुदार नीतिले व्यवसायीले आत्मदाह गर्ने अवस्था आएको छ ।’

७-८ प्रतिशत ब्याजदर बढेर १४-१५ पुग्नु राम्रो नभएको भन्दै उनले बैंकहरुको अनुदार नीतिले पर्यटन क्षेत्र पनि थला परेको तर्क गरे ।

पर्यटन क्षेत्रमा पर्यटन दशक घोषणा गरेर विश्वका बजारमा अर्बौं प्रचारमा खर्च गर्नुअगाडि देशका गन्तव्यहरुको पूर्वाधार विकास पहिलो प्राथमिकता हुनुपर्ने कार्कीको भनाइ छ । उनले भने, ‘राम्रो पूर्वाधार र कुनै पनि नीतिगत समस्या नहुने हो भने निजी क्षेत्रले आफैं प्रचार गर्छन् । व्यापार गर्छन् । पर्यटन क्षेत्र अगाडि बढ्छ।’

निजी क्षेत्रलाई बैंकको ब्याजदर घटाउन आफ्नो पनि साथ हुने बताउँदै मुख्यमन्त्री कार्कीले बैंककै नीतिले समस्या बढाएकोमा जोड दिए ।

प्रदेश १ मा ५०-६० किलोमिटरको सडक दूरीमा फरकफरक हावापानी पाइने भन्दै उनले पर्यटनमा त्यसले सहयोग गर्ने औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर