सन्दीपलाई खेलाउन खेलकुद परिषद् पनि सकारात्मक, सदस्य सचिव भन्छन्- अदालतले रोकेको छैन – Nepal Press

सन्दीपलाई खेलाउन खेलकुद परिषद् पनि सकारात्मक, सदस्य सचिव भन्छन्- अदालतले रोकेको छैन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने घरेलु एक दिवसीय शृङ्खलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ, जसमा पूर्व कप्तान सन्दीप लामिछाने समेटिएका छैनन् । उच्च अदालतको आदेशपछि जेलमुक्त भएका सन्दीपले आफू फेरि राष्ट्रिय टिमबाट खेल्ने आकांक्षा राखेका थिए ।

लामो समय अनिर्णीत बनेको (क्यान) ले अन्ततः सन्दीपबिना २८ जनालाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो । तर, अझै पनि सन्दीपलाई समावेश गर्ने ढोका बन्द भइसकेको छैन । अन्तिम टिम फाइनल नहुँदासम्म उनले टिममा स्थान बनाउन सक्ने क्यान स्रोत बताउँछ ।

क्यानले सन्दीपलाई टिममा राख्न मिल्ने/नमिल्नेबारे विभिन्न निकायसँग परामर्श लिने काम भइरहेको जनाएको छ । समग्र नेपाली खेलकुदको नियमनकारी संस्था भनेको राष्ट्रिय खेलकुद परिषद् हो । परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँग हामीले कुरा गर्दा क्यानले आफूसँग कुनै सल्लाह नमागेको बताए ।

‘यो विषय मेरो टेबलमा आएको छैन र परिषद्मा यसबारे कुनै छलफल पनि भएको छैन,’ उनले भने ।

यद्यपि, अदालतको फैसलाले सन्दीपलाई क्रिकेट खेल्न नरोकेका उनको बुझाइ छ ।

घिसिङले भने, ‘मेरो निजी विचार चाहिँ के छ भने अदालतको फैसलाले सन्दीपलाई क्रिकेट नखेल भनेको छैन । खेल्न नपाइने कुरा गरेको छैन । कतै बाहिर जानुपर्दा चाहिँ सहमति लिएर जानुपर्छ भन्ने छ । त्यसैले अदालतको प्रोटोकललाई कतैबाट मानहानि वा उल्लंघन नहुने गरी अरू कुरा उचित प्रक्रियाबाट गर्दा हुन्छ ।’

राष्ट्रिय टिममा कसलाई राख्ने र कसलाई नराख्ने भन्ने चाहिँ परिषद्को क्षेत्राधिकारभित्र नपर्ने उनी बताउँछन् ।

‘कुन खेलाडीलाई खेलाउने भनेर क्यानले नै निर्णय गर्ने कुरा हो । उसले नै टिमको छनोट गर्छ । यसमा हामीले बोल्न मिल्दैन । तर, परिषद्को व्याख्या के हो भने अदालतको आदेशको स्पिरिटलाई मानेर गर्दा हुन्छ । अदालतको व्याख्याले रोकावट नगरेको कुरालाई मैले कसरी रोक्न मिल्छ ?’ घिसिङले थपे ।
यदि क्यानबाट परिषद्सँग कानूनी राय मागेको खण्डमा आफूले महान्यायाधीवक्ता कहाँ पठाउने उनले प्रष्ट पारे ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले पनि नेपालको कानूनले नरोक्ने भए सन्दीपलाई राष्ट्रिय टिमबाट खेलाउन अनुमति दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *