आफ्नै पूर्वघोषणाविपरीत पूर्वमुख्यमन्त्री सरकारी गाडीमा, राजेन्द्र भन्छन्- मुख्यमन्त्रीले दिएका हुन् – Nepal Press

आफ्नै पूर्वघोषणाविपरीत पूर्वमुख्यमन्त्री सरकारी गाडीमा, राजेन्द्र भन्छन्- मुख्यमन्त्रीले दिएका हुन्

विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले व्यक्तिगत कामका लागि प्रदेश १ स्वास्थ्यमन्त्रालयको गाडी प्रयोग गरेका छन् ।

पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा दिने व्यवस्था नभएपनि उनलाई स्वास्थमन्त्रीले चढ्दै आएको बा. २ झ ३०८९ नम्बरको प्राडो चढ्न दिइएको हो । एक सातादेखि राईले उक्त गाडीमा विभिन्न जिल्ला घुमिरहेको स्रोतले बताएको छ ।

हिक्मत कार्की नयाँ मुख्यमन्त्री नियुक्त भएसाग पुस २८ मा सरकारी निवास छाडेका उनले सरकारी सेवा सुविधा लिन छाडेको सामाजिक सञ्जालबाट घोषणा गरेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ मन्त्री नियुक्त गर्ने बेलामा स्वास्थय मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाडी पठाउन मौखिक माग गरेको थियो । तर, त्यो गाडी आज आउँछ भोलि आउँछ भन्दै हालसम्म फिर्ता नगरिएको बताइएको छ ।

स्वास्थ्यमन्त्रालयको जिन्सी शाखाका कर्मचारी सुरेन्द्र यादवले मुख्यमन्त्री कार्यालयमा गाडि पठाएको र फिर्ता नआएको बताए । उनले मुख्यमन्त्री कार्यालयमा गाडी भएको दाबी गरे ।

शिक्षा विकास निर्देशनालयको गाडी सामजिक विकास मन्त्री जीवन घिमिरे हुँदा सामाजिक विकास मन्त्रालय मातहतमा आएको थियो । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री हुँदा घिमिरे र पछि जयराम यादवले चढेको गाडी राईले लगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जिन्सी शाखा हेर्दै आएका किरण ढकालले बताए । उनले माथिको आदेमा आफूले गाडी दिएको जानकारी दिए ।

पूर्वमुख्यमन्त्री राजेन्द्र राईले भने आफूलाई कुन मन्त्रालयको गाडी भनेर थाहा नभएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘संसद नचलुञ्जेलसम्मका लागि मुख्यमन्त्रीले मलाई गाडी दिनुभएको छ । म त्यही गाडी चढेर हिँडिरहेको छु ।’


प्रतिक्रिया

One thought on “आफ्नै पूर्वघोषणाविपरीत पूर्वमुख्यमन्त्री सरकारी गाडीमा, राजेन्द्र भन्छन्- मुख्यमन्त्रीले दिएका हुन्

  1. एक नम्बर फटायाई कुरा । मलाई छिमेकीले चोर्न जाउँ भन्यो अनि चोरी गरेको । म चोर कहाँ हो र भनेजस्तो कुरा । नेकपा एसमा लागेका यस्तै नैतिकता, मानसिकता भएका हुन्छन् ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर