राष्ट्रपति एमालेलाई नसुम्पिन प्रचण्डमाथि चार नेताको दबाब, गठबन्धनबारे माओवादीभित्र दुई लाइन – Nepal Press

राष्ट्रपति एमालेलाई नसुम्पिन प्रचण्डमाथि चार नेताको दबाब, गठबन्धनबारे माओवादीभित्र दुई लाइन

काठमाडौं । पुस १० को सहमतिअनुसार एमालेलाई राष्ट्रपति नछाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रबाटै दबाब बढेको छ । पार्टीको जारी स्थायी कमिटीको बैठकमा एमालेलाई सर्वसम्मत राष्ट्रपति नसुम्पिन अधिकांश नेताहरुले प्रचण्डमाथि दबाब बढाएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे पार्टी नेताहरुसँग सुझाव मागेपछि माओवादी नेताहरुले एमाले फेवरको राष्ट्रपति दिन नहुनेमा जोड दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले जतिवेला पनि अप्ठ्यारो पार्न सक्ने भएकाले वेलैमा सचेत हुनुपर्ने उनीहरुको भनाइ थियो ।

यसअघि ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि ओली र प्रचण्डको सहकार्यमा ब्रेक लागेको थियो । तर, कांग्रेस नेतृत्वको गठबन्धनमा चुनाव लडेका प्रचण्ड प्रधानमन्त्री नपाएकै झोकमा ओलीसँग अकस्मात सहकार्य गर्न पुगेका थिए ।

तर, अहिलेको सत्ता गठबन्धनको निरन्तरताको विषयमा माओवादीभित्र दुई धार देखिएको छ । उपाध्यक्ष कृष्णबहादुर महरा, प्रस्तावित उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत सर्वसम्मत एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा रहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार उनीहरु आवश्यक परेको खण्डमा हिजोकै गठबन्धन फर्काउन तयार हुनुपर्ने पक्षमा छन् ।

त्यसको संकेत गर्दै शुक्रबारको स्थायी कमिटी बैठकपछि स्थायी कमिटी सदस्य नारायण दाहालले भनेका थिए, ‘हाम्रो एजेण्डालाई निःसर्त अगाडि बढाउने व्यक्ति राष्ट्रपतिमा चाहियो । हामी कांग्रेस-एमाले भन्दैनौं। देशको आवश्यकता महसुस गर्न राष्ट्रपतिमा पनि सहमति हुनुपर्छ नभए देश विघटनतिर जान्छ । देशमा अस्थिरता पैदा हुन्छ ।’

एमाले नेतृत्वको सत्ता गठबन्धनबाट प्रधानमन्त्री पाए पनि अरु महत्वपूर्ण मन्त्रालय माओवादीले पाउन सकेको छैन । सरकारको नेतृत्व गरेको दलले गृह, अर्थ र परराष्ट्र मन्त्रालय राख्ने प्रचलन छ । तर, यीमध्ये माओवादीले कुनै पनि मन्त्रालय लिन नसकेपछि नेताहरु आफ्नै नेतृत्वको सरकार भए पनि सन्तुष्ट छैनन् ।

यद्यपि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा पदमुक्त भएपछि गृह मन्त्रालय आफैंले राख्नुपर्ने माओवादीभित्र कुरा उठेको छ । तर, अहिलेसम्म कुनै समझदारी बनेको छैन ।

अहिले आफू प्रधानमन्त्री भए पनि साढे २ वर्षपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै एमालेको हुँदा एकछत्र ओली हावी हुने उनीहरुको बुझाइ छ । भलै, सभामुखमा भने आलोपालोको सहमति भएको छ । आलोपालोको सहमतिअनुसार ओलीलाई साइजमा राख्न पनि कांग्रेसले दिएको विश्वासको मतले काम गर्ने माओवादी नेताहरुको तर्क छ ।

त्यसैले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको जोड दिएका हुन् । राष्ट्रपतिको विषयलाई लिएर माओवादीभित्र देखिएको विवादलाई लिएर कांग्रेस नेताहरु ढोक्सा थापेर सक्रिय भएर लागेका छन् ।

यसअघिकै गठबन्धनलाई पनि अघि बढाउनुपर्नेसम्मको रणनीति अख्तियार गरिरहेका माओवादी नेताहरुसँग कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु संवादमा छन् ।

तर, प्रचण्डलाई बालकोटसम्म पुर्‍याउन भूमिका खेल्ने नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङलगायतका नेताहरु यही गठबन्धनको निरन्तरताको पक्षमा छन् । पार्टीभित्रको दबाब र आगामी सम्भावनालाई मध्यनजर गरेर एमालेबाट सर्वस्वीकार्य हुने व्यक्ति आइदिए हुन्थ्यो भन्नेमा उनीहरु छन् ।

माओवादीका एक स्थायी कमिटी सदस्यले भने, ‘अहिलेलाई मात्रै हेरेर हुँदैन । हामीले पाँच वर्षपछिको चुनावलाई पनि हेर्नुपर्छ । कांग्रेससँगको गठबन्धन फलदायी भएको छैन । त्यसैले यही गठबन्धन अगाडि बढाउनुपर्छ भन्ने कतिपयको भनाइ छ ।’

उनीहरुले राष्ट्रिय सहमतिका लागि सर्वस्वीकार्य हुने सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहोराबाट कोही आइदिए हुन्थ्यो भन्ने अडान राखिरहेका छन् ।

तर, माओवादी स्थायी कमिटी सदस्य पेशल खतिवडा अहिलेको गठबन्धन तोडेर पुरानोमा फर्किनुपर्छ भन्नेमा कोही नेताहरु नरहेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘यसअघिका ओलीको व्यवहारका कारणले एमालेसँगको सहकार्यमा आशंका व्यक्त भएका छन् । त्यो स्वाभाविक हो । तर, यो गठबन्धन छाडेर फेरि पुरानै व्युताउनुपर्छ भन्नेमा हामी छैनौं ।’

उनले सभामुखमा जस्तो एमालेबाट ओलीको एकल निर्णयबाट नआए हुन्थ्यो भन्ने नेताहरुको भनाइ रहेको बताए ।

उनले भने, ‘एमालेले सभामुखमा जस्तो ओलीजीको मात्रै निर्णय नभएर सबैले स्वीकार गर्न सक्ने छलफल गरेर आउनुपर्छ भन्ने कुरा बैठकमा आएको छ ।’

उनले बैठकले महासचिव देव गुरुङको नेतृत्वलाई दिएको कार्यविभाजनसम्बन्धी कार्यदलको सुझावको आधारमा थप निर्णय हुने बताए ।

तर, पुस १० मा भएको सहमतिअनुसार यही गठबन्धनले निरन्तरता पाउने एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् ।

उनी भन्छन्, ‘माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भइसकेको छ । त्यहीअनुसार अघि बढ्छ । यहाँ एकअर्काप्रति कांग्रेसले अविश्वास बढाउने खेल खेलेकोमात्रै हो । तर, कांग्रेसको प्रयासमा माओवादी सहमतिबाट ब्याक हुन्छ भन्ने मलाई लाग्दैन ।’

नेता ज्ञवालीले सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी निर्णयले आशंका बढाएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्नेमा माओवादी र कांग्रेसको एकैस्वर छ ।

कांग्रेसका कतिपय नेताहरुले आफूहरुले प्रस्ताव गरेको व्यक्ति नै शीतलनिवास पुग्ने दाबी गर्दै आइरहेका छन् । जुन कुराले एमालेभित्र तरङ्ग पैदा गरेको छ । त्यसैले प्रचण्डलाई विश्वस्त पार्न ओली निरन्तर बालुवाटार धाइरहेका छन् ।


प्रतिक्रिया

4 thoughts on “राष्ट्रपति एमालेलाई नसुम्पिन प्रचण्डमाथि चार नेताको दबाब, गठबन्धनबारे माओवादीभित्र दुई लाइन

  1. दिन हुँदैन भन्ने चारैजनम भारतीय दलाल हुन् ।

    1. पार्टीहरूले जनतालाई साक्षी राखि ऐनामा आ-आफ्नो अनुहार हेरोस् अनि राष्ट्रपति महामहिम जस्तो सम्माननीय संस्थामा सिफारिस गरोस्, नत्र जनता पाँच वर्षपछिको अमूल्य समय हेरिरहेका छन्, कुरिरहेका छन्, सचेत भया, जयहोस् ।

  2. कस्ता कस्ता ले दवाब दिएछन: कुनै एकको राम्रो काम र सफलताको कथा सुनाम त !! अनि तिनको लहै लहै मा हुने हो भने प्रचण्डले के गर्न सक्छन ??

  3. प्रचण्ड फेरि काम नगरेर तिकडम, जालझेलमा लागे । अहिले देश चलाउने कुरामा यिनको ध्यानै हुन छाडिसक्यो । भारतको आदेशमा कसरी एमालेलाई राष्ट्रपति नदिने भन्ने कुरामा ध्यान जान थाल्यो । रवि, नारायनकाजी, विष्णु पौडेल र किरातीले अलिअलि काम गरेका छन् । मूली जालझेलमा लागेर बिग्रन थालिसक्यो । यिनले यश अघि पाएको बेलामा पनि जालझेल मै लागेर समय गुजारे । जस्तै कटुवाल प्रकरण । यसो हेर्दा य‍ी प्रचण्ड साच्चै देश बनाउन राजनीतिमा आएका हुन् या नेपालमा अस्थिरता मच्चाएर विदेशीको दलाली गर्न ? अब क्लियर हुनेबेला आयो ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर