प्रधानमन्त्री प्रचण्डले भने- चुनौतीपूर्ण अवस्थामा छु, मैले देशलाई नयाँ उत्साह दिनैपर्छ (भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्डले भने- चुनौतीपूर्ण अवस्थामा छु, मैले देशलाई नयाँ उत्साह दिनैपर्छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताएका छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफूले देशलाई नयाँ उत्साह दिनुपर्ने बताए ।

उनले भने, ‘अर्थतन्त्रको स्थिति तपाईंहरूलाई थाहा नै छ । समाज निराशातिर जाने हो कि भन्नेखालका आशंका छन् । यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु । तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्नेछ । शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ । यसका लागि तपाईंहरूको पनि सहयोग रहने मेरो विश्वास छ ।’

उनले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने बताए । गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले भने, ‘यो केन्द्र केवल स्वास्थ्य केन्द्रमात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ । तानाशाहीविरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले निकै मेहनत गरेर नयाँ संविधान जारी गरेको उल्लेख गर्दै संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको बताए ।

‘संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिबद्ध गरिएको छ । तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानूनहरू बनाउन बाँकी नै छ । नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसदमा पेश गर्ने प्रक्रियामा छ । तपाईंहरूसामु म यो विश्वास दिलाउन चाहन्छु’, उनको भनाइ छ ।

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण काम गरेको बताए ।

उनले भने, ‘उक्त कार्यकालमा स्वास्थ्य बीमा लागू गरियो । विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो । प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो । स्वास्थ्य सेवालाई देशैभरि विस्तार गरियो । मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ । त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ ।’


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्डले भने- चुनौतीपूर्ण अवस्थामा छु, मैले देशलाई नयाँ उत्साह दिनैपर्छ (भिडिओ)

  1. यस अवसरमा सम्माननीयज्यूबाट मुटुरोगीलाई ढडस् दिने खालका र मुटुरोगी कम गराउने खालका ठोस कदम चालियोस्, जयहोस् ।

Leave a Reply to Laleek Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर