डा. सन्तोष : डाक्टरको अनुहारमा खुसी फर्काउन कस्सिएका ‘हक्की’ चिकित्सक – Nepal Press

डा. सन्तोष : डाक्टरको अनुहारमा खुसी फर्काउन कस्सिएका ‘हक्की’ चिकित्सक

एनएमए नेतृत्वका प्रमुख दाबेदार डा. सन्तोष पौडेल भन्छन्- 'सुरक्षित पेशा, खुसी चिकित्सक' मेरो सपना

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका पूर्वनिर्देशक डा. सन्तोष पौडेल युवा अर्थोपेडिक्स एण्ड स्पाइन सर्जन हुन् । उनलाई सहपाठीहरू हक्की स्वभाव र अन्यायविरुद्ध बोलिहाल्ने स्वभावका युवा चिकित्सकको उपमा दिन्छन् । त्यही कारण १८ महिना छोटो कार्यकाल ट्रमाको प्रमुख हुँदा उनले संस्थागत सुधारका धेरै कामहरू गरे । त्यसबाहेक नीतिगत कामहरूमा पनि सक्रिय भए ।

कास्कीको अन्नपूर्ण-३ पाउदूरमा वि.सं. २०४० सालमा जन्मिएका हुन्, डा. पौडेल । उनका बुबा पुण्यप्रसाद पौडेल शिक्षक थिए भने आमा शान्ति पौडेल गृहणी । पौडेल दम्पतीका चार सन्तानमध्ये उनी तेस्रो हुन् । निम्न मध्यमवर्गीय किसान परिवारमा जन्मिएका डा. सन्तोषको शिक्षादीक्षा स्थानीय स्कूलबाटै अगाडि बढेको हो ।

‘उब्जनी गरेर खान पुग्ने किसिमको किसान परिवार थियो,’ उनी बाल्यकाल स्मरण गर्छन्, ‘गाउँमा भएको डेरीमा दूध बेचेर पैसाको व्यवस्था गरिन्थ्यो । सुरुमा मेरो बुबा विद्यालयको शिक्षक पनि हुनुहुन्थ्यो तर पछि सामाजिक सेवा गर्दागर्दै शिक्षक पेसा पनि छोडिदिनुभयो ।’

किसान परिवारका सदस्य भएकाले डा. सन्तोषले सानोमा पढाइसँगै खेतीपातीको काम, घाँस दाउराजस्ता घरायसी कामहरू गर्थे ।

७ कक्षासम्मको पढाइ स्थानीय धारापानी निम्न माध्यमिक विद्यालयबाट पूरा गरे । निमावि तहसम्म औसत विद्यार्थी उनी थप पढाईका लागि मर्निङ स्टार बोर्डिङ स्कूल पुगे । मर्निङ स्टारमा गएपछि विज्ञान र गणित विषयमा रुचि बढेको बताउँछन् उनी ।

‘गणितमा त मेरो शतप्रतिशत अंक आउँथ्यो,’ उनी स्कुल जीवन सम्झन्छन् । बुबाले सन्तोषसहित छोराछोरीलाई खेती किसानीबाटै पढाए ।

‘त्यहाँ पढेपछि मेरो पढाइको स्तर पनि बढ्यो । प्रथम-दोस्रो स्थान ल्याउन थाले,’ उनले भने । वि.सं. २०५६ मा उनले मर्निङ स्टारबाटै एसएलसी दिए । टेस्ट परीक्षामा प्रथम भएका उनले विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

प्लस टु पढ्न उनी गण्डकी बोर्डिङ स्कूलमा भर्ना गरे । विज्ञान विषय लिएर पढ्न थालेपछि गण्डकी बोर्डिङले नै उनीमा डाक्टर बन्ने सपनालाई जन्म दियो ।

‘गण्डकी बोर्डिङको वातावरण, साथीसँगतका कारण नै मैले डाक्टर पढ्ने निधो गरेँ,’ उनले भने, ‘विज्ञान पढेपछि डाक्टर र इन्जिनियर बन्न पाइन्छ भन्ने कुरा नै मैले कक्षा ११ मा अध्ययन गर्दा थाहा पाएको थिएँ ।’

गण्डकी बोर्डिङबाट ५८ सालमा ११-१२ सकेपछि उनी एमबीबीएस इन्ट्रान्सको तयारी गर्न काठमाडौं आए । घरको आर्थिक अवस्थाका कारण पैसा तिरेर डाक्टर पढ्न सक्ने अवस्था उनको थिएन । पूर्णछात्रवृत्तिमा रसिया पढ्ने कोटा पाएका सन्तोष विदेश गएर नपढ्ने भन्दै जान मानेन् । र, पुनः तयारी थाले । दोस्रो पटकको प्रयासमा शिक्षा मन्त्रालयअन्तर्गतको छात्रवृत्तिमा टपटेनमै नाम निकालेर उनी सन् २००२ मा मणिपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि छनोट भएका थिए ।

‘६७ जना विदेशी र ३३ जना नेपाली विद्यार्थी थियौं,’ मणिपालको एमबीबीएस अध्ययनबारे डा. सन्तोष भन्छन्, ‘विदेशीहरू हल्का फुल्का पढ्थे । तर, हामी धेरै पढ्थ्यौं ।’

पढ्ने सीमा थाहा नभइकनै आफूले धेरै पढिएछ भन्दै उनी त्यो पढाइ अहिले करिअरमा राम्रो आधार बनेको बताउँछन् ।

एमबीबीएसको अन्त्यतिर उनले सामाजिक काममा पनि सक्रियता देखाउन थाले ।

‘त्यो बेला हामीले गरिब बिरामीका लागि भनेर एउटा फण्ड बनाउने काम गर्‍यौं,’ उनले भने, ‘त्यसका लागि मेला आयोजना गर्थ्यो, च्यारिटी फिल्म देखाउँथ्यौ । त्यसबाट जम्मा भएको पैसाले गरिब बिरामीका लागि उपचार सहायताका प्रदान गरिन्थ्यो । एक वर्ष त्यसैको कोर्डिनेटरको रूपमा सक्रिय रहेँ ।

एमबीबीएसमा आफूलाई एनाटोमी र सर्जरी मनपर्ने विषय भएको भन्दै डा. पौडेल सुनाउँछन्, ‘हाडजोर्नी हेर्दा पनि रमाइलो हुन्थ्यो । हड्डीहरूलाई मिलाएर चिटिक्क बनाएको छ । लडेर हिँड्नै नसक्ने गरी आएको मान्छेलाई जोडेर हिँड्ने बनाएर पठाएको दृश्य देख्दा निकै रमाइलो लाग्थ्यो । यो नै मेरो विषय हो पनि लाग्थ्यो ।’

मणिपालबाट सन् २००७ मा उनले एमबीबीएस सके ।

२०६५ सालमा दमौली अस्पतालमा मेडिकल अधिकृतका रूपमा उनी पोष्टिङ भए त्यहाँ आफूलाई अस्पतालका प्रमुखले नरुचाएपछि सरुवा मागेर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गएको उनी बताउँछन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनले हाडजोर्नी विभागमा कार्यरत रहेकै बेला उनले २६ वर्षमा २०६६ सालमा लोकसेवाबाट मेडिकल अधिकृत नाम निकालेर सिसुवा प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टिङ भयो ।

सिसुवामा काम नभएपछि मुगुमा सरुवाको लागि निवेदन दिएकोमा आफूसँग पैसा मागिएको उनले सुनाए । त्यसबेलामा उनी एमालेनिकट अनेरास्ववियुको केन्द्रीय सदस्य भइसकेका थिए । पैसा बुझाएर सरुवाभन्दा पढाइलाई अघि बढाउनुपर्छ भन्ने निष्कर्षका साथ २०६८ मा उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पीजीको इन्ट्रान्स दिए । तीन नम्बरमा नाम निस्कियो ।

खुलातर्फ तेस्रोमा नाम निकालेपनि अर्थोपेडिक्स पढ्न ठिक्क परेका उनले १० लाख रूपैयाँ शुल्क बुझाउनुपर्ने भयो ।

‘तेस्रो नम्बरमा नाम निकालेर पनि पैसा तिर्नुपर्ने रहेछ,’ उनले भने, ‘त्यसको लागि ऋण खोजेर १० लाख बुझाएर पढेँ, अरुले चाहिँ २१ लाख बुझाउनुपर्ने रहेछ । त्यो अलि मनपरेन ।’

न्याम्समा रेजिडेन्सी गर्दैगर्दा उनी त्यहाँको रेजिडेन्सी एशोसिएसन (र्‍यान) को महासचिव भए । त्यही बेला प्रा.डा. गोविन्द केसी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) वरीयताअनुसार डिन नियुक्त गर्नुपर्ने भन्दै अनशन बसिरहेका थिए ।

डा. केसीमार्फत सरकारी संस्थामा रेजिडेन्सी निःशुल्क पढाउनुपर्ने र्‍यानले माग राख्यो । त्यही मागअनुसार नै पछि सरकारी शिक्षण संस्थामा पीजी अध्ययन निःशुल्क भयो ।

वि.सं २०७१ मा उनले अर्थोपेडिक्स सर्जरीमा विशेषज्ञता हासिल गरेपछि उनले वीर अस्पतालमा काम सुरु गरे । पहिलो दुई वर्ष मेडिकल अधिकृतका रूपमा काम गरेका पौडेलले लोकसेवाबाट नवौं तहमा नाम निकाले । ११ महिनाजति उनले कान्ति बाल अस्पतालको अर्थोपेडिक्स विभागमा काम गरे । उनको पालामा कान्तिमा अर्थोपेडिक्स शल्यक्रियाको वातावरण बन्यो । २०७५ मा उनी नियमित बढुवा प्रक्रियाअन्तर्गत १० औं तहमा बढुवा भए ।

स्पाइनमा रुचि : ट्रमामा संस्थागत सुधारको नेतृत्व

बच्चाभन्दा स्पाइनल सर्जरीमा रुचि राखेका पौडेल पुनः ट्रमा सेन्टरमै फर्किए । २०७४ सालमा फेलोसीपमा उनी जापानको हिरोसिमा पुगे । हिरोसिमा विश्वविद्यालयबाट माइक्रोस्कोपिक सर्जरी, स्पाइनल कर्डको ट्युमर सर्जरीको फेलोसीपपश्चात सन् २०१९ मा उनी पुनः स्पाइन सर्जरीको फेलोसीपका लागि भारत गंगा अस्पतालमा गए । र, त्यहाँबाट फर्केर ट्रमामै सेवा दिन थाले ।

२०७६ बाट ट्रमा सेन्टरको प्रमुखको जिम्मेवारी पाएका उनले ब्रेन इन्ज्युरी र स्पाइनल इन्जुरीका बिरामीहरूलाई निःशुल्क उपचार गर्ने पहिलो निर्णय गरेर कार्यन्वयनमा ल्याएका छन् । १८ महिना ट्रमाको प्रमुख हुँदा कोभिड-१९ बिरामीको उपचारदेखि ट्रमाको संस्थागत सुधारमा पनि उनले उल्लेख्य भूमिका निभाएको सुनाउँछन् त्यहाँका अरु चिकित्सक । कोरोना महामारीमा फरक विधाको अस्पताल भएपनि कोभिड-१९ संक्रमितलाई अक्सिजन, बिरामी र कर्मचारी व्यवस्थापनमा ट्रमाको शैली सन्तोषले नमूना बनाएका थिए ।

‘नेतृत्वको नियत सफा भयो भने अरु कुरा मिल्दै जान्छ । कार्यालय प्रमुख भइसकेपछि जिम्मेवार बन्नुपर्छ । यसका लागि स-साना कुरमा नेतृत्वले ध्यान दिनुपर्छ । सबैभन्दा पहिला प्रमुख अस्पताल आउनुपर्‍यो र सबैभन्दा अन्तिममा निक्लिनुपर्‍यो । हरेक दिनको अवस्था ब्रिफिङ लिने गर्नुपर्छ ’, उनी भन्छन् ।

ट्रमाको सफल व्यवस्थापनको सूत्र सुनाउँदै डा. पौडेल भन्छन्, ‘कुनै कार्य कसरी सम्पादन गर्ने भनेर प्रश्न राखिदिन्थें र समाधान टीमका धेरै साथीहरूले राख्थे । त्यसैलाई मैले कार्यान्वयन गर्थेँ । त्यो अभ्यासले गर्दा हामीबीचको सम्बन्ध पनि राम्रो भयो र कार्यसम्पादनमा नतिजा पनि राम्रो आयो ।’

उनकै अगुवाइमा ट्रमा विस्तारित सेवा कार्यक्रम (इएचएस) लागू भयो, त्यसले चिकित्सकलाई प्रोत्साहित गर्‍यो ।

‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ कार्यक्रम कार्यन्वयनमा ल्याउँदा ट्रमा मेडिकल अधिकृतले एक महिनामा ८३ हजार रूपैयाँसम्म तलब बुझेको भन्दै उनले युवा चिकित्सहरूमा राष्ट्रिय रूपमै ठूलो उत्साह थपेको बताइन्छ ।

यसबाहेक उनले त्यसबेला मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वको निकट रहेर विभिन्न नीतिगत सुधारका कामहरूमा पनि भूमिका निभाए । देशैभरका एम्बुलेन्सको नियमन गर्ने कार्यविधि निर्माणमा उनले अग्रणी भूमिका निभाए भने ट्रमा उपचार पद्धतिलाई छुट्टै युनिट बनाएर प्राथमिक अस्पतालदेखि केन्द्रीय अस्पतालसम्म ट्रमाको छुट्टै व्यवस्थापनको लबिङ गरे ।

डा. पौडेलले ट्रमासम्बन्धी कार्यविधि पनि बनाइएको भन्दै कार्यान्वयन गर्नसके ट्रमाका धेरै बिरामीले सुविधा पाउने बताउँछन् ।

चिकित्सक अवस्था र एनएमएमा संस्थागत परिवर्तनको भोक

अहिले उनी नेपाल मेडिकल एशोसिएसन (एनएमए) को नेतृत्वका प्रमुख दाबेदार मानिन्छन् ।

‘चिकित्सक धर्म अरुको दुःखमा सहायता गर्नु हो । बिरामी साथै मजस्ता चिकित्सक साथीहरूको पनि दुःख बुझेर केही गर्नका लागि म एनएमएको अध्यक्ष हुन खोजिरहेको छु,’ उनी भन्छन्, ‘यसमा सामूहिक हितको कुरा छ । आफ्नो सर्जरीको कर्म गर्दै केही समय छुट्याएर मजस्तै चिकित्सकहरू जो मजत्तिको खुसी हुन पाउनुभएको छैन, पेशागत सुरक्षा पाइराख्नुभएको छैन, ती साथीहरूलाई पेशागत हिसाबले मभन्दा खुसी र सुखी बनाउनका लागि सुरक्षित पेशा खुसी चिकित्सक भन्ने नारा लिएर यो एनएमएको चुनावमा होमिएको छु ।’

डा. सन्तोष आफूहरू एनएमएको नेतृत्वमा आएमा नेपाल चिकित्सक संघभित्र ठूलो परिवर्तन गर्ने सपना सुनाउँछन् । चिकित्सकको हकहित, स्वास्थ्य प्रणाली सुधार गर्ने प्रष्ट खाका, संस्थागत विकास, चिकित्सकको पेशागत हकहित सुनिश्चितजस्ता कुराहरूमा सिंगो चिकित्सक समुदायलाई सँगै अगाडि लैजाने उनले एजेण्डा सुनाए ।

‘नेपाल मेडिकल एसोशिएसनलाई एकदमै कमजोर बनाइएको छ । त्यसलाई चिकित्सकमैत्री र संस्थागत हिसाबले व्यवस्थित बनाउन, संस्था मेरो अभिभावक हो भन्ने भावना जागृत गर्न र चिकित्सक संघको खस्कँदो गरिमा र गिर्दो साखलाई पुनः स्थापित गर्नु मेरो जिम्मेवारी हो,’ उनले थपे ।

डा. सन्तोषले एनएमए निर्वाचनमा ७ एजेण्डालाई प्राथमिकताका साथ अगाडि सारेका छन् । जसमा विशिष्टीकृत चिकित्सक सेवाका लागि चिकित्सक सेवा ऐन, पढाइमा सधैं अब्बल कमाइमा कहिले हुने सबल, चिकित्सा शिक्षा सुधार र रोजगारीको अवसर, सबै डाक्टर एक पटक सरकारी डाक्टर, वैज्ञानिक ड्युटी आवरः अनिवार्य फोर्स लिभ, एक चिकित्सक, एक स्वास्थ्य संस्था र संघीयता कार्यन्वयनको आधार, एनएमएमा संगठनात्मक सुधार रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर