विमान दुर्घटनास्थल सेती खोँचमा दीप प्रज्वलनसहित मृतकको सम्झना (भिडिओ) – Nepal Press

विमान दुर्घटनास्थल सेती खोँचमा दीप प्रज्वलनसहित मृतकको सम्झना (भिडिओ)

कास्की । माघ १ गते पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ ।

पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन आज विमान दुर्घटनास्थल पोखरा-७ स्थित मितेरीपुलनजिक ठीक १०:५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो । दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा दीप प्रज्वलनसमेत गरियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताए ।

दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतमा अधिकारीले प्रदेश सरकारकातर्फबाट कृतज्ञता व्यक्त गरे ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए ।

माघे संक्रान्तिको दिन बिहान काठमाडौंबाटट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान बिहान १०:५८ बजे पोखरा वडा नं ७ र १५ को सीमास्थित सेती नदीको खोंचमा दुर्घटना भएको थियो । दुर्घटनामा परेका एकजनाको खोजी अझै जारी छ ।

घटनामा ज्यान गुमाएकामध्ये केही शव पहिचानका लागि त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *