भीम रावललाई प्रश्न –अछाममा नेकपा एस जिताएको आरोप छ, एमाले छोड्न लाग्नु भएको हो ? – Nepal Press

भीम रावललाई प्रश्न –अछाममा नेकपा एस जिताएको आरोप छ, एमाले छोड्न लाग्नु भएको हो ?

कैलाली ।  नेकपा एमालेका नेता भीम रावल अहिले गुमनाम जस्तै छन् । विगतमा राष्ट्र र राष्ट्रियताका बिषयमा सदन,सरकार र सडक सबै तिर चर्को वकालत गर्ने रावल अहिले यी तीनै स्थानमा भेटिदैनन् ।

अछामबाट प्रतिनिधि सभा सदस्यको टिकट नपाएपछि थप रुष्ट भएका रावल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्ला नचलेको पनि होइन । केही समय अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जुम मिटिङमा घनश्याम भुसाल नेकपा एकीकृतमा आउन तयार भएको र भीम रावलले पनि चाहना देखाएको बताएका थिए । भुसाल अहिले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् ।

त्यसको अर्काे दिन नै रावलले त्यसको खण्डन गरेका थिए । तर, अहिले सम्म पनि भीम रावल कुनै पनि बेला नेकपा एकीकृत समाजवादीमा जान सक्ने हल्ला भने कम भएको छैन । नेकपा एकीकृत समाजवादीका केही नेताहरूले रावलसँग संवाद गरिरहेको जनाए पनि रावल भने अहिले आफू एमाले छोड्ने पक्षमा नरहेको बताउँछन् ।

पछिल्लो समय नेतृत्वबाट आफूमाथि अन्यायपूर्ण व्यवहार भएको बताउने रावल त्यो व्यवहार बढ्दै गए विकल्प खोज्ने योजनामा भने छन् । अघिल्लो गठबन्धनबाट रुष्ट रहेको रावल अहिलेको गठबन्धनको सरकार पनि दिशाहीन भएको बताउँछन् ।

प्रस्तुत छ, यी र यस्तै बिषयमा एमाले नेता भीम रावलसँग गरिएको संवाद नेपाल टकमा:

घनश्याम भुसालले नेकपा एकीकृत समाजवादी रोजिसकेपछि अब भीम रावलको पालो आयो भनिरहेका छन् । माधव नेपाललाई पनि भोलि भेटौँ भन्नु भएको रहेछ । कहिले जाँदै हुनुहुन्छ नेकपा एकीकृत समाजवादीमा ?

खै, उहाँले किन भन्नुभयो । मलाई निर्वाचन भन्दाअघि प्रचण्डजी माधव जीले तपाईंलाई कताबाट हुन्छ हामी सहयोग गर्छौ भन्नु भएको थियो । तपाई पार्टीमा आउनु पनि पर्दैन,तपाई जत्तिको व्यक्ति संसदमा चाहिन्छ भन्नु भएको थियो । तपाईंहरुको सद्भावको लागि धन्यवाद छ। तर, तपाईहरूसँग पनि कयौँ विषयमा मतभेद छन् । त्यस कारणले गर्दा म त्यो गर्ने स्थितिमा छैन भनेको थिए । त्यो बेला त्यति कुरा भएको हो । त्यसपछि यस विषयमा कुरा भएको छैन ।

मैले पनि अहिलेसम्म कुनै पार्टीमा जाने कुरा सोचेको छैन । तर, यो पार्टीमा काम गर्दा गर्दै सदस्य हुनै पाइँदैन भनेर घचेटेको घचेटै गरेर छेउमा लगेपछि त्यो बेलाको कुरा बेग्लै हो । मैले सोच्नै पर्छ। तर, अहिले सम्म मैले कुनै पार्टीमा जाने वा नेकपा एमाले छोड्ने कुरा सोचेको छैन ।

एमालेमा तपाईंलाई यो भन्दा छेउमा पुराउन अझै ठाउँ बाँकी छ र ? ओलीले भित्तामै पुर्‍याएको आरोप छ ?

घचेटेर भित्तामा पुराउने काम त मलाई भएको छ । तर, म अहिले पनि सदस्य छु । पार्टी सदस्य नै भएको हुँदा म तल खसिसकेको त छैन नि । सदस्य नै हुन पाइँदैन भन्न थालेपछि सोच्नु पर्छ ।

अर्काे कुरा, तत्कालीन नेकपामा प्रधानमन्त्री आलोपालो गर्ने विषमा आफ्नो पालो छिटो आओस् भनेर त्यहाँ विवाद भयो । उहाँहरू अहिले प्रधानमन्त्री मिलेर खाने सम्झौता गर्नु भएको छ । उहाँहरूको विवादको कारणले गर्दा हामी जबरजस्ती तानियौँ । अनि हामीलाई शत्रु ठान्ने कुरा त अन्यायपूर्ण हो नि । अब कसैले एमालेमा बस्नै पाइँदैन भनेपछि त्यो बेला छेउबाट पनि खसाल्न खोजेको भन्ने कुरा बुझिन्छ ।

अछामको एक कार्यक्रममा अन्तिम अवस्थामा विकल्प रोज्न सकिन्छ भन्नु भएको थियो । त्यस्तो अवस्थामा तपाईंसँग कस्ता विकल्प हुने छन् ?

विकल्प त म विकल्पै विकल्प देख्छु । यदि पार्टीले मेरो केही योगदान नभए जस्तो गतिविधि जारी गरेको अवस्थामा विकल्प त जे पनि हुन सक्छ नि ।

जस्तै ?

यो पार्टीमा बस्ने नदिने भएपछि यहाँ एउटा पार्टी मात्रै त छैन । या एउटाले मात्रै पार्टी खोलेर बस्नु पर्छ भन्ने पनि छैन। जनता पनि एउटै पार्टीको पछि लागिराख्छन् भन्ने छैन । हामी देखिरहेका छौँ । त्यस कारण विकल्प छ थुप्रै हुन्छन् ।

त्यस्तो अवस्थमा आफै पार्टी खोल्ने सम्भावना बढि हुन्छ कि कुनै पार्टीमा प्रवेश गर्ने ?

त्यस्तो त अहिले सम्म मैले केही सोचेको छैन । अहिलेसम्म म नेकपा एमालेमा छु । एमालेमा हुँदै नयाँ पार्टी खोल्ने कि अर्कोमा जाने भन्ने कुरा आउँदैन ।

तपाईंले अछाममा एमालेका उम्मेदवारलाई हराएर नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई जिताउन लागेको आरोप छ । राष्ट्रिय युवा संघको प्रदेश बैठकका अछामका अध्यक्षले तपाईमाथि कारबाहीको माग गर्नु भएको थियो । एमालेमै छु भन्नुहुन्छ अनि किन एमालेकै उम्मेदवारलाई हराउन लाग्नु भएको ?

त्यो हास्यास्पद कुरो हो । मलाई उम्मेदवार नबनाएपछि म निर्णय मानेर चुप लागेर बसेको थिए । पार्टी अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिवले मेरो बारेमा सार्वजनिक रुपमा अभिव्यक्ति दिनु भयो । त्यहाँका उम्मेदवारले पनि मलाई जानु पर्‍यो भन्नु भएको थियो । म उम्मेदवार थिएन ।
मलाई उम्मेदवार नबनाउनु भएको कारण पार्टी अध्यक्षलाई सोध्छु अनि जान्छु भनेको थिए । उहाँहरूले त्यो गर्नु भएन । पछि पार्टी अध्यक्ष स्वयम कर्णाली र सुदूरपश्चिममा गएर उल्टै मेरो विरुद्धमा बोल्नु भयो।

उम्मेदवारलाई भोट नदेऊ भनेर म आएकै छैन । त्यहि आरोप लाग्ला भनेर म मौन अवधिमा आएको थिए । त्यस कारण यो भनेको आफू पराजित भएपछि आफ्नो कमजोरीमा पर्दा हाल्ने चेष्टा मात्रै हो ।यहाँ त मेरो कारणले हार्नुभयो रे त्यसो भए काठमाडौँमा बरिष्ठ उपाध्यक्ष देखि महासचिव प्रमुख सचेतक हाम्रा पार्टी अध्यक्ष ओलीका निकट झापामा उहाँहरूले कसको कारणले हार्नु भयो त ?

यदि देशभरि मेरो कारणले हारेको हो भने पार्टीमा मेरो यत्रो प्रभाव रहेछ । यत्रो प्रभाव भएको जाँदा जान्दै पार्टी विरोधी, कम्युनिस्ट बिरोधीहरुलाई २४ ठाउँ छोड्ने मलाई किन रोकेको त ?

तपाईं र केपी ओलीलाई भेटाउन सुदूरपश्चिमका नेताहरूले प्रयास गरिरहेको भन्ने सुनिन्छ । तर, तपाई नबोलाई जान्न भन्नुहुन्छ रे । पार्टी अध्यक्षलाई भेट्न पनि किन समस्या हो र ?

त्यस्तो होइन । मैले हिजो देशको बारेमा बोल्दा मन्त्री नपाएर बोल्यो भनियो । पार्टी अध्यक्ष, महासचिव र जिम्मेवार पदमा बसेका व्यक्तिहरूले कसलाई कहाँ कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा उहाँहरूको कर्तव्य हो । नभए किन त्यो पदमा बस्नु पर्‍यो त ?
२४ सिट प्रतिक्रियावादीलाई दिने अनि मैले चाहिँ हजुर टिकट दिनु प¥यो भन्दै जा भनेर म जान्छु र? यदि निर्वाचन जित्नु छ भने पार्टी नेतृत्वले तपाईं को के छ भनेर सोध्नु पर्‍यो नि मलाई मैले टिकटको भिक्षा माग्न जाने हो र? म कहिल्यै गएको छैन ।

निर्वाचन सकिसकेको महिनौँ भइसक्यो । अब त टिकट माग्न गएको आरोप लाग्दैन नि । अहिले जान केले रोक्यो त ?

होइन म के गर्नु छ र जाने भन्या ? अदालतमा मुद्धा चलेको व्यक्तिलाई गृह मन्त्री बनाउनु हुन्छ उहाँहरू , दूधको साची बिरालो राखेको जस्तो गरि त्यहाँ मन्त्री बनाइएको छ । यस्ता कुराहरूमा तैँले बोल्नै पाउँदैनस् भनिरहेको वातावरणमा मैले के तपाइहरूले राम्रो गर्नु भएको छ भनेर जानु ।

सुझाव दिन जाँदा के हुन्छ र ?

सुझाव सुन्ने वातावरण त हुनुपर्‍यो नि ।

एक छिन फेरि पार्टी राजनीति तर्फ लागौँ, एमाले छोड्दिन भन्नुहुन्छ । केन्द्रीय सदस्य सम्म पनि हुनुहुन्न । अब एमालेमा तपाईको स्थान कहाँ हुन्छ ?

त्यो स्थान कहाँ हुन्छ के हुन्छ भन्ने कुरा पार्टीको नेतृत्वले सोच्ने कुरा हो । म पद केन्द्रित राजनीति गरेको छैन । यो देशका राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताको हितमा काम गर्ने हो ।लिम्पियाधुरा लिपुलेक भारतीय अतिक्रमणमा परेका छ अब हेरौँ सरकारले के निर्णय गर्छ ? एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणा गरेको भनेको होइन त्यो व्याख्यात्मक घोषणाका व्याख्या मध्ये एक जना त अहिले प्रधानमन्त्री हुनुभएको छ पुष्प कमल दाहाल ‘प्रचण्ड’ जी अब उहाँ कस्तो व्याख्या गर्नुहुन्छ म त्यो हेर्न चाहन्छु ।

अहिले बाह्य शक्तिको सामु घोडा टेकेर प्रत्येक कुरामा देशको अपमान भइरहेको छ ।देशका नदी सबै विदेशीको हातमा बुझाइ सके ।चुनाव छोडेर राजदूत भेट्न आउने नेताहरू मैले देखेको छु । म त्यो कुरामा चिन्तित छु ।

सरकारको कुरा गरिहाल्नु भयो। रेशम रिहाइको प्रयास सरकारले गरिरहेको छ । यसलाई कसरी हेर्नु भएको छ ?

यस विषयमा मलाई धेरै थाहा छैन। तर, चाहे रेशम जी हुनुस् चाहे पुष्प कमल दाहाल जी, रबी जी, ओली जी वा माधव जी हुनुस् संविधान र कानुनको प्रक्रिया भन्दा माथि कुनै पनि व्यक्ति हुन सक्दैन ।
कसैको पदीय स्वार्थ वा निहित आकाङ्क्षा पुरा गर्नको लागि कानुन मिच्ने काम गर्छ भने कुनै पनि लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिले मान्न हुँदैन भन्ने मेरो दृढ धारणा छ ।

अहिले कम्युनिस्ट एकताको पनि कुरा आइरहन्छ । त्यो सम्भव छ त ?

त्यो एमाले एकीकृत समाजवादी जनमोर्चा लगायत सबै एकै ठाउँमा आइहाल्ने त्यस्तो आधार त म देख्दिन । तर, यी पार्टीका नेताहरू यो देश प्रति इमानदार छन् भने समान विचारधारा, समान दृष्टिकोण भएका राजनैतिक दलहरू एकातिर जानु पर्छ । त्यसो भएमा जनताले छनोट गर्ने अधिकार पाउँछन् ।

अहिले राष्ट्रिय सहमतिको सरकारको बिषयमा पनि चर्चा छ । कांग्रेसले प्रस्ताव गरेजस्तो राष्ट्रिय सहमतिको सरकार बन्ला त ?

अहिले नेपाली कांग्रेस राजनैतिक दृष्टिकोण र कानुनी दृष्टिकोणबाट प्रमुख प्रतिपक्षी दल होइन। यी त्यो पार्टीमा अलिकति पनि नैतिक छ भने अब प्रमुख प्रतिपक्षको ठाउँमा होइन सरकार पक्षको ठाउँमा गएर बस्नु पर्छ । त्यहाँ सरकारको विपक्षमा जसले मत दियो ती दललाई ठाउँ दिनु पर्छ ।

नेपाली कांग्रेसले एकातर्फ सरकारको पक्षमा मतदान गर्ने, अर्काे तर्फ प्रमुख प्रतिपक्षी भनिरहेको छ त्यो त्यसको दोहोरो चरित्र हो । त्यसमा पनि प्रमुख प्रतिपक्ष हुन पाउ भन्दै निवेदन हालेछ । यो भन्दा निरीह के हुन सक्छ ।यहि सन्दर्भमा होला नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय सहमतिको सरकारको कुरा उठाइरहेका छन् । नेपालमा अहिले सबै पार्टीहरूले बाडिचुडि खाऊ भनिरहेका छन् त्यसो भए बहुदल किन चाहिएको ?

बहुदलीय व्यवस्था भने बहुमत पाएको दलले पाँच वर्षमा जनताले दिएको आश्वासनहरू पुरा गर्ने हो । विपक्षीहरूले सरकारले केही कमीकमजोरी गरे त्यसलाई खबरदारी गर्ने हो । यो संविधान बनाउँदा हामीले गरेको परिकल्पना हो । नेपाली कांग्रेस यो बाट सम्पूर्ण रुपमा च्युत भएको छ ।

अन्तिममा, वर्तमान सरकारलाई कसरी नियालिरहनु भएको छ ?

निर्वाचनको बेला जुन गठबन्धन थियो मैले त्यही बेला भनेको थिए । यी नीतिहीन, विचारहीन र गन्तव्यहीन चरम अवसरवादी बाटोमा छन् । यो टिक्दैन भनेको थिए । मैले भनेको कुरा सत्य भयो ।
आम निर्वाचनमा भएको जस्तै नीतिहीन, विचारहीन गन्तव्यहीन गठबन्धन सरकार गठनमा पनि पुनरावृत्ति भएको छ ।

 


प्रतिक्रिया

One thought on “भीम रावललाई प्रश्न –अछाममा नेकपा एस जिताएको आरोप छ, एमाले छोड्न लाग्नु भएको हो ?

  1. तिमीलाई कसरी भित्तामा पुर्याए ? महाअधिवेशनमा उपाध्यक्ष खाउ भन्दा अध्यक्ष चाहिने । चुनाव लडेर हारेका हौ । केन्द्रीय सदस्य बन भन्दा बटारिएर बन्दिन भन्ने । पार्टीले जे गरे पनि विपक्षीले भन्दा चर्कोसँग र वेप्रसँगमा पनि सार्वजनिक रूपमा विरोध मात्र गर्ने । पार्टीको कुनै जिम्मेवारी नलिने । अनि पार्टीले पेल्यो भन्न लाज छैन ? म त भन्छु तिमीलाई भारतले एमाले सिध्याउन प्रयोग गरिरहेको छ । तिम्रा राष्ट्रवादी भनिएका सबै कुरा नक्कली हुन् । धाक लगाउने ? एमालेले चुनावमा एमाले हराउन लागेको निहुँमा पार्टीबाट निकाले हुन्छ । यस्ता तुच्छ मान्छे एमालेलाइ चाहिदैन । रावलभन्दा काविल र ईमान्दार लाखौं कार्यकर्ता छन् एमालेमा ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर