गठबन्धन भत्किएपछि बिच्किएका देउवा, गर्न चाहँदैनन् पार्टी बैठकको सामना – Nepal Press

गठबन्धन भत्किएपछि बिच्किएका देउवा, गर्न चाहँदैनन् पार्टी बैठकको सामना

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास धुम्बाराहीमा निरन्तर पार्टी पदाधिकारी बैठक राखेपछि केन्द्रीय सदस्य नैनसिंह महरले सोमबार फेसबुकमा लेखेका थिए, ‘नेपाली कांग्रेसमा विधानविपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भइरहेको छ ।’

विचार समूहका नाममा हुने बैठकमा पनि पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने विषय प्राथमिकतामा नपरेको भन्दै उनले नेतृत्वमाथि नै प्रश्न उठाए ।

उनको प्रश्न थियो, ‘केवल आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने छलफलको पार्टीका लागि के अर्थ ?’

नेता महरले भने झैं देउवाले सत्ता बहिर्गमनपछि पार्टी बैठक राखेका छैनन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न आह्वान भएको बैठक सामना नगरी सभापति देउवाले तीन पटक सारिसकेका छन् ।

पाँच दलीय गठबन्धन टुटेपछि बालुटारबाट धुम्बाराही सरेका देउवा केन्द्रीय कार्यसमितिको बैठक निरन्तर छलिरहेका छन् । यसअघि पुस २२ बाट २८ गते सारेको बैठक माघ १५ मा पुर्‍याइएको थियो । अहिले उक्त बैठक अनिश्चित भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक सूचना जारी गर्दै भनेका छन्, ‘कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने भनिएकोमा विशेष कारणबस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’

पाँचदलीय गठबन्धनको आडमा प्रतिनिधिसभाको पहिलो दल बने पनि कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न नसक्दा संघदेखि प्रदेशसम्म सरकार बाहिर बाहिरिएको छ ।

निर्वाचनको समीक्षा गर्नबाट समेत भागेका देउवाले गठबन्धन टुट्नुको कारण अझै पार्टीलाई दिन सकेका छैनन् ।
गठबन्धन टुटेपछि पार्टीभित्र असन्तुष्टि चुलिरहेको वेलामा देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर बहुमतले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गराए ।

प्रचण्डलाई विश्वासको मत दिन संस्थापन पक्षले मात्रै नभएर इतर समूहका नेता डा. शेखर कोइरालाले पनि विमति राख्न सकेनन् । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताले फरक मत राखेका थिए ।

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिएर एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्धमा विग्रहको बीउ बिजारोपण गर्न सफल भयो । तर, पार्टीभित्रको असन्तुष्टि साम्य मिलाउन सकेका छैनन् ।

अहिले धुम्बाराहीबाट देउवाले शीतलनिवासतर्फ नजर लगाइरहेका छन् । राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेर अहिले कांग्रेस नेताहरु माओवादीसहित विपक्षी दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।

देउवा निकट रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर नै पार्टी बैठक सारेको बताउँछन् ।

उनी भन्छन्, ‘अहिले कांग्रेसको ध्यान राष्ट्रपतिको निर्वाचनमा केन्द्रित छ । अहिले केन्द्रीय समितिको बैठक राख्दा छलफलमा विभिन्न किसिमका एजेण्डा उठ्छन् । त्यसले परिस्थिति बिथोलिन सक्छ भनेर बैठक सारिएको हो ।’

राष्ट्रपतिको निर्वाचनमा आउने परिणामपछि मात्रै बैठक बस्ने आन्तरिक रुपमा समझदारी बनेको उनको भनाइ छ ।
पार्टीको निर्वाचनको समीक्षा पनि गर्नुपर्ने भएकाले राष्ट्रपतिको निर्वाचनपछि सबै एकपटक गर्ने उनले बताए ।

पार्टीभित्र विवाद बढेपछि आलोचनाको डरले सभापति बैठकबाट भागेको भन्ने टिप्पणी पनि भइरहेको छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा विश्वकर्माले भने, ‘अनुमान लगाउन सकिने कुरा त धेरै हुन्छन् । सभापति र पदाधिकारीहरु पनि राष्ट्रपतिको निर्वाचनअगाडि छलफल हुँदा नकारात्मक धेरै टिप्पणी हुने भएकाले अहिले नगरौं भन्नेमा पुग्नुभएको हो ।’

राष्ट्रपतिको निर्वाचनपछि एउटा ठोस धारणा बनाउन सकिने उनको बुझाइ छ । उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा कांग्रेस रहेकाले विभिन्न दलहरुसँग छलफल भइरहेकोसमेत जनाकारी दिए ।

तर, संस्थापनइतर समूहका नेता गुरुराज घिमिरे पार्टी सभापतिले निरन्तर बैठक सारेकोप्रति असन्तुष्टि राख्छन् । उनी भन्छन्, ‘बाहिर देखाउने त केही भनिएको छैन । तर, राष्ट्रपतिको निर्वाचनलाई केन्द्रित गरेर सारिएको हुनसक्छ ।’

निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठक निरन्तर सार्नुको कारण उपयुक्त नभएको घिमिरेको भनाइ छ ।

उनी भन्छन्, ‘एकपटक बैठक राखेर अर्को मिति तोकेर बैठकलाई सार्न सकिन्थ्यो । तर, निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठक निरन्तर सार्नुको कारण छैन ।’

निर्वाचनपछि गठबन्धन टुट्नुको कारण, विश्वासको मत दिनु, सभामुख र उपसभामुखको निर्वाचनको समीक्षा गरेर राष्ट्रपतिको निर्वाचनको धारणा बनाउन पनि बैठक आवश्यक भएको उनको भनाइ छ ।

घिमिरेले भने, ‘अहिले बैठक राख्दा केही बिग्रने थिएन । पार्टीमा कुन कुरालाई अगाडि लाने भन्ने पार्टीभित्रबाटै समझदारी बन्ने हाम्रो प्रचलन छ । केन्द्रीय समितिमा जिम्मेवार मान्छे पुगेका हुन्छन् । बैठकमा उठेका कुराले आफूलाई अप्ठ्यारो पार्छ भन्ने सभापतिले सोच्नु हुँदैन ।’

उनले केन्द्रीय समिति देखावटीजस्तो मात्रै भएको पनि बताए । ‘सबै कुरा पदाधिकारी बैठकबाट टुंग्याउने गरेर केन्द्रीय समितिलाई देखावटी जस्तो मात्रै बनाइयो’, घिमिरेले भने, ‘नेताहरुले गर्ने निर्णयलाई औपचारिकता दिने देखियो । त्यसले सकारात्मक सन्देश दिँदैन ।’

लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको बैठकमा आलोचना र सुझाव आउने भएकाले नेतृत्व त्यसबाट भाग्न नमिल्ने उनको तर्क छ ।


प्रतिक्रिया

One thought on “गठबन्धन भत्किएपछि बिच्किएका देउवा, गर्न चाहँदैनन् पार्टी बैठकको सामना

  1. माओवादी र विग्रिएका एमाले अनि भारतको पैसाले अलिअलि सिट बढेको मात्र हो नत्र देउवाले काँग्रेस नसिध्याई छोडदैनन । चरम पदको लोभी हुन् देउवा । सत्ता टिकाउन जे पनि गर्ने, आफूले नपाए पाटी फुटाउने विशेषता भएको नेता हुन देउवा । चरम अवसरवादी । अनि काम चाहिँ माखो नमार्ने ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर