अखिल सफा बनाउने र सर्वहारा विद्यार्थीको नेतृत्व गर्ने नेता चाहियो – Nepal Press

अखिल सफा बनाउने र सर्वहारा विद्यार्थीको नेतृत्व गर्ने नेता चाहियो

काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि मुलुकमा आठवटा नयाँ सरकार निर्माण हुँदैछन् । जनताको म्यान्डेटअनुसार दलहरूले आफ्नो बलबुतोले भ्याएसम्मका राम्रा निर्णयहरूले अझ बजार तातिएको जस्तो पनि आभास हुन्छ ।

यसैबीच विद्यार्थीहरुको हकहितको संवर्द्धनका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सरगर्मी बढ्न थालेको छ । जसमा देशका राजनीतिक दलहरुका भ्रातृ विद्यार्थी संघ संगठनहरु आआफ्नो तयारीमा जुटेको देखिन्छ । यता नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को गत असोज १ र २ गते सम्पन्न विधान महाधिवेशनले २३ औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा नै गर्ने तय गरिसकेको छ ।

अनेरास्ववियुको महाधिवेशन मिति सार्वजनिक भएसँगै विद्यार्थीहरुको चोक गल्ली चिया पसलमा चहलपहल रोचक देखिन थालेको छ । विद्यार्थीहरुको हक हितमा अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आएको अनेरास्ववियुको आगामी नेतृत्व कसले गर्ला ? भन्ने विषयमा अधिकांशमा कौतुहलता देखिएको छ ।

आम विद्यार्थीको एउटा चाहना र विचार छ की संगठनको नेतृत्वमा विद्यार्थीका समस्यालाई ठीक तवरले पैरवी गर्न सक्ने योग्य नेतृत्व पाउनुपर्छ । उनीहरुको अपेक्षा पनि यही छ । त्यस्तै, यता संगठनमा आबद्व भइ विभिन्न कमिटीमा रहेका साथीहरू प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागी गराउन आफूलाई छनोटमा पार्न व्यस्त छन् ।

उता संगठनको केन्द्रीय कमिटीका साथिहरू आगामी रणनीति कस्तो बनाउने ? आफूलाई कुन स्थानमा कसरी स्थापित गर्ने कसरी जिम्मेवारी प्राप्त गर्ने ? भनेर कम्मर कसेको देखिन्छ । लाग्छ कुनै दौड प्रतिस्पर्धा मा भाग लिएका धावकको दौड झैं लविङ्गमा छन् । नेपालको विद्यार्थी आन्दोलनको एउटा प्रमुख शक्ति अनेरास्ववियु अझ मजबुद अझ दरिलो र अझ प्रभावशाली बन्न जरुरी छ त्यसकारण पनि नेता कार्यकर्ता व्यस्त देखिनु स्वभाविक हो ।

साथै संगठनका नेता कार्यकर्ताहरूलाई महाधिवेशन सँगसँगै चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीमा लाग्नैपर्ने र सफल हुनैपर्ने चुनौती र अवसर दुवै छन् ।

संगठनको फोहोर बढार्न महाधिवेशन

महाधिवेशन आफैंमा सफा स्पष्ट शब्द हो जसको कारण कुनैपनि संगठन तथा संस्थामा धमिलिएर, बारीएर रहेको अनुत्पादक र हानिकारक फोहोरी तत्वहरूलाई धोइपखाली गरेर शुद्व र स्पष्ट विचारधारा सहितको लयलाई गति दिने काम गर्दछ । हाम्रो संगठनलाई पनि सफा कञ्चन बनाउन २३ औ महाधिवेशन भव्य रूपमा सम्पन्न गर्नुपर्ने अनिवार्य आवश्यकता छ ।

अनेरास्ववियु पनि अन्य संगठन जस्तै पूँजीवादी भयो सानो तिनो कमाइले राजनीति गर्न सकिँदैन भन्ने गुनासो विद्यार्थीबाट सुनिन थालेको छ । नेताहरूलाई काम नगरी त्यति धेरै खर्च गर्न कहाँबाट पुग्छ ? अवैध सम्पति आर्जन गर्छन् र चलेका छन् भन्ने सर्वसाधारणको बुझाइले संगठन भित्रका ईमानदार जेहेन्दार रातदिन भनी मेहनत गर्ने पसिना बगाएर बचाएको समयलाई राजनीतिमा लगाउने नेताहरू ओझेलमा पर्न थालेको अवस्था छ ।

केही दिन पहिला क्याम्पस विदा भएको बेला कोठमा बसेर मेरो केही काम गर्दै थिएँ । त्यतिकैमा एकजना सँगै बस्ने साथीको फोन आयो ति साथीले तिमीहरूलाई पो रूम बसेर खान पुग्छ हामीलाई जब नगरी पुग्दैन भनिन् । यो कुरा मेरो मनमा गढेर बस्यो । हुन पनि संगठनका नेता कार्यकर्ता मंहगा होटल र कफीसपमा भेटिने, ऐस आरामको जिन्दगी रूचाउने, धान्न सक्ने, सामान्य चिया पसल तथा स्कूल क्याम्पस भित्रका छेउछाउका चिया पसलमा बसेर दुःख सुखका कुराकानी गर्दै कालो चिया वा सस्तो खाजा खाना खान छोड्दै जाने प्रवृतिले आर्थिक अवस्था निम्न भएका घर परिवारका विध्यार्थी साथीहरू टाढिँदै जाने समस्या बढेको छ । विद्यार्थी नेताहरूलाई साधारण विध्यार्थीहरूले भेटघाट गर्न परेमा समय नमिल्ने मिलिहाले पनि महङ्गो कफीसपमा भेटेर महंगो मूल्य खर्चनुपर्ने समस्या विद्यार्थी माझबाट यदाकदा आउन थालेको छ ।

स्कुल कलेजका साझा समस्याका बारेमा चासो चिन्ताका विषयलाई ओझेलमा राखिएको हुनाले नियमित अध्यनशील मेहनती विद्यार्थीहरूले अनेरास्ववियु हाम्रा निम्ति स्थापित भएको संगठन हो भनेर आत्मसात गर्न नसक्ने अवस्थामा पुगेको छ । संगठनमा जोडिएर समग्र न्यायप्रेमी विद्यार्थीको प्रतिनिधित्व गर्दै साझा समस्याका आवाजलाई बुलन्द गर्छु र यो संगठनमा मेरो भविष्य राम्रो होला भनेर देखेका सपनाहरू आज कुन दशाले यो ठाउँमाा म आईपुगेँ अब यहाँबाट कसरी छुट्कारा पाउने वा के गर्ने भनेर सोच्न बाध्य हुँदै गरेको अवस्था देखिन थालेको छ ।

संगठनका गतिविधिहरू तथा सूचनाहरूलाई कार्यकर्ता तथा शुभचिन्तकलाई समयमा नदिने र सूचना लुकाएर गुम्राहमा राखेर आफ्नो अलमलको वातावरण सृजना गर्ने र आफ्नो स्वार्थ पूरा हुने किसिमले विचार अभिव्याक्ति प्रस्तुत गर्ने गरेको देखिन्छ ।
यो महाधिवेशनबाट हामीले हाम्रो बाटो सफा गर्न आवश्यक छ । अग्रज नेताहरूले संगठनका लागि गरेको त्याग र वलिदानबाट प्राप्त उपलब्धिलाई मर्न नदिन संगठनका गलत प्रवृत्तिलाई परास्त गर्दै राम्रा कुरालाई अंगीकार गर्दै नयाँ नेतृत्वको निर्माण गर्न आवश्यक छ ।

विद्यार्थी संगठन पार्टीको भ्रातृ संगठन हो तर पार्टीको धुपौरे संगठन भने हैन । त्यसकरण वास्तविक विद्यार्थीहरूको नेता हुने संगठन बन्न आवश्यक छ । विद्यार्थीका आवश्यक र चाहाना के हो बुझ्ने र त्यसको सम्बोधन गर्न सक्ने जोश जाँगर भएको विद्यार्थी नेता अबको आवश्यकता हो । जहाँ विद्यार्थी त्यहाँ अनेरास्ववियु, जो मेहनती, ईमानदार लगनशील छ त्यो अनेरास्ववियु बन्न सक्ने वातावरण निर्माण गर्नु छ ।

संगठनमा लामो समयदेखि विविध कारणले नेतृत्व हस्तान्तरणमा भएको विलम्बले जाम देखिएको छ नेतृत्वमा उमेर हदबन्दीको कुरा चल्न थालेको छ । उमेर हदले कुनै व्याक्ति विशेषलाई घाटा भएपनि समग्र संगठनलाई र विद्यार्थी आन्दोलनलाई फाईदा पुग्ने कुरा हामीले बिर्सन हुँदैन ।

आगामी महाधिवेशनबाट अखिलले यस्तो नेतृत्व चयन गर‍ोस् जसले समग्र नेपालको विद्यार्थी आन्दोलनको त्यो गर्विलो इतिहासलाई अझ प्रभावकारी ढङ्गले थप उचाई दिँदै निरन्तरता प्रदान गर्न सकोस् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *