पर्वतमा स्वास्थ्यमन्त्री गिरीलाई बाजागाजासहित स्वागत, भने- ताप्लेजुङदेखि दार्चुलासम्मको स्वास्थ्य सुधार्छु – Nepal Press

पर्वतमा स्वास्थ्यमन्त्री गिरीलाई बाजागाजासहित स्वागत, भने- ताप्लेजुङदेखि दार्चुलासम्मको स्वास्थ्य सुधार्छु

'अबको ५ वर्षभित्र पर्वतका सातवटै पालिकामा डाक्टर र ल्याबसहितको सुविधासम्पन्न अस्पताल'

पर्वत । नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरीको पर्वतमा भव्य स्वागत गरिएको छ । मन्त्रीमा नियुक्त भएपछि पर्वत महोत्सवको उद्घाटनको अवसर पारेर गृहजिल्ला पुगेका उनको स्वागतमा सयौं स्थानीय भेला भएका थिए । साथै उनलाई बाजागाजासहित स्वागत गरियो ।

कुश्मा बजारमा आयोजित सातौं महोत्सवको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गिरीले सम्बोधनको क्रममा देशको स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान गर्दै परिवर्तनको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरो गरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने वाचा गर्छु ।’

पर्वतका सातवटै स्थानीय तहमा आउँदो ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने पनि उनले घोषणा गरे ।

‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेछ । हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दैछौं । आगामी ५ वर्षभित्र सातवटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ । सानोतिनो शल्यक्रिया पनि हुन्छ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहँदैन,’ मन्त्री गिरीले भने, ‘फेरि स्वास्थ् मन्त्रीले आफ्नो जिल्लाको मात्रै हेर्‍यो भन्ने पर्ला । त्यस्तो होइन । ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनेछौं ।’

गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्‍याउन जिम्मा सरकारको भएको भन्दै मन्त्री गिरीले उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउनेगरी काम गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रजातन्त्र प्राप्तिपछि मुलुकले पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने पहिलो क्याबिनेट मन्त्री पाएको भन्दै उनले पर्वतबासीलाई धन्यवाद दिए ।

‘६०/७० वर्षको अवधिमा पर्वत जिल्लाले कुनै मन्त्री पाएको रहेनछ । हामी कति अभागी रहेछौं,, वर्षौं भोट हाल्यौ । तर मन्त्री कोही बनेन । तर, आज एउटा इतिहास बनेको छ , म सबैलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो पदम गिरीमात्रै होइन, हामी सबै पर्वतवासी मन्त्री भएका हौं,’ उनले भने,‘म अब काम गर्नुपर्ने ठाउँमा छु । कसैप्रति आलोचना गर्ने ठाउँमा छैन । अप्ठ्यारा छन्, चुनौती छन् । यसका बाबजुद जनताका पक्षमा काम गर्ने अठोट गर्नुपर्छ र काम गरेर देखाउनुपर्छ । इतिहासले बारम्बार अवसर दिँदैन, थोरै समय अवसर दिन्छ । काम गरेर देखाउन सकियो भने इतिहासमा दर्ज हुन्छ, नत्र यस्ता मन्त्री धेरै आए, गए । इतिहासमै सीमित भए ।’

अर्थतन्त्र सुधार्नुपर्ने अभिभारा

स्वास्थ्यमन्त्री गिरीले संकटमा रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने अभिभारा अहिलेको सरकारसँग रहेको पनि बताए ।

‘आज देशको अर्थतन्त्र संकटमा छ । एकजनाले दिउँसै आफ्नो शरीरमा आगो लगाएर मृत्युवरण गरेको प्रसङ्गले आज देशभर सनसनी मच्चिएको छ । आत्महत्यालाई राम्रो मान्न सकिँदैन । तर पनि अर्थतन्त्र कति जर्जर भएको छ भन्ने सोचनीय कुरा हो । आज बैंकमा गयो, बैंकले लगानी गर्दैन, तरलताको अभाव छ, ७ प्रतिशतमा लिएको ऋण १४/१५ प्रतिशतसम्म बढेको छ । बैंकले पैसा नदिएपछि, समयमा ब्याज तिर्न नसकेपछि मिटरब्याजीसँग पैसा लिएर कारोबार गर्नुपरेको छ । अनि व्यवसायीहरु दिनदिनै धराशायी, हतोत्साही हुने परिस्थिती एकातर्फ छ । हाम्रो आयात दिनदिनै बढेको छ, हाम्रो उत्पादन छैन,’ मन्त्री गिरीले भने ।

विकास आयोजनाका काम अघि नबढी गाउँ-गाउँमा बजेट नआउने भन्दै त्यसले अर्थतन्त्र गतिशील नहुने उनले बताए ।

उनले थपे,‘अहिले एउटा कम्तीमा खुसीको कुरा छ । शेयर बजारमा हरियाली छाएको छ भन्दा म केही आशावादी भएको छु । अहिले बनेको सरकार कसैलाई गाली गरेर , कसैको विरोध गरेर खर्चने समय होइन । अब भीरबाट खस्न लागेका व्यवसायीलाई आड दिएर माथि तान्नुपर्ने छ । अर्थतन्त्र चलायमान बनाउँदै जटिल परिस्थितिबाट देशलाई मुक्त गर्दै विकास र समृद्धिको बाटोमा देशलाई अगाडि लिएर जान्छ । अर्थतन्त्र बलियो बनाएर जानुपर्ने दायित्व यो सरकारसँग छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *