तोसिमाले आईसीयू प्रोटोकल उल्लंघन गरेको आरोप, अस्पताल भन्छ- छानबिन हुँदैछ (भिडिओ) – Nepal Press

तोसिमाले आईसीयू प्रोटोकल उल्लंघन गरेको आरोप, अस्पताल भन्छ- छानबिन हुँदैछ (भिडिओ)

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले मंगलबार साँझ कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा पुगेर त्यहाँ उपचाररत प्रेमप्रसाद आचार्यलाई भेटिन् । आचार्यले बानेश्वरको संसद भवन अगाडि शरीरमा आगो लगाएका थिए ।

तोसिमाले आईसीयूमा बिरामी भेटेको भिडियो बाहिर आएपछि विवाद उत्पन्न भएको हो । आफैं डाक्टर भएर पनि आईसीयूको संवेदनशीलतामा ध्यान नदिएको आरोप उनीमाथि लागेको छ । आईसीयूभित्र भिडिओ कसरी खिचियो भन्ने विषयमा छानबिन गरिरहेको अस्पताल स्रोतले बतायो ।

अस्पतालको आईसीयूमा पुगेकी कार्कीका साथमा अन्य व्यक्तिहरु पनि थिए । जबकि आईसीयूमा एकचोटिमा एकजनाभन्दा बढीलाई प्रवेश गर्न अनुमति हुँदैन ।  आइसीयूमा भएकाे बिरामी भेट्न सम्बधित डाक्टरले अनुमति दिनुपर्छ ।  साथै बिरामीकाे फाेटाे  भिडि‌‌ओ खिच्न पनि  बिरामीकाे परिवारले समेत अनुमति दिनुपर्ने हुन्छ ।

साथै तोसिमाले हातमा पञ्जा नलगाइकन बिरामी छोएको विषयमा पनि प्रश्न उठेको छ । तोसिमा स्वयम् एक जनरल सर्जन हुन् । आईसीयूभित्र क्यामेरा र मिडिया पर्सनसहित छिरेर स्टन्ट गरेको भनेरसमेत उनको आलोचना गरिएको छ । अस्पताल स्राेतका अनुसार आइसीयू प्रवेशका लागि ताेसिमाले अस्पताल प्रशासनसँग अनुमति समेत  लिएकाे थिएन । साझँपख अस्पताल बन्द भइसकेकाले कसैसँग पनि अनुमति नलिई  आइसीयूमा गएकाे अस्पताल  स्राेतले बतायाे ।

आईसीयूको भिडिओ सार्वजनिक भएपछि सुजन गौतमले डा. तोसिमा कार्कीलाई मेन्सन गर्दै लेखेका छन्, ‘बिरामी भेट्न जानुपर्थ्यो ठीक भयो । तर, राज्यमन्त्री डा. तोसिमा कार्कीज्यूलाई मेरो प्रश्नः तपाईं आफैं डाक्टर हो नि ! आईसीयूमा रहेका सिरियस बिरामीलाई भेट्न जाँदा मिडिया लैजान मिल्छ ? त्यो ठाउँको संवेदनशीलतालाई किन गम्भीर रुपमा लिनु भएन ? मिडियाबाजी गरेर हिट हुने विचार गर्नु भाको हो र ?’

के छ आईसीयूको प्रोटोकलमा ?

अस्पतालहरुले आईसीयूको प्रोटोकल आआफ्नै बनाएका हुन्छन् । रोगको प्रकृति हेरेर आईसीयूको प्रोटोकल बनाइने भक्तपुर अस्पतालका सुपरिटेन्डेन्ट सुमित्रा गौतम बताउँछिन् । उनका अनुसार प्रायजसो अस्पतालहरुको आईसीयूमा भिडिओ खिच्न निषेध गरिएको हुन्छ । मास्क-पञ्जा र गाउन पनि अधिकांश अस्पतालमा अनिवार्य गरिएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा पनि फोटो/भिडिओ खिच्न नपाइने प्रोटोकल रहेको अस्पतालले जनाएको छ । आईसीयूमा एक जनाभन्दा बढी जान नपाइने र गएका व्यक्तिले मास्क, पञ्जा र एप्रोन अनिवार्य लगाउनुपर्ने अस्पताल स्रोतले बतायो ।

अस्पताल भन्छ : छानबिन गर्दैछौं

अस्पतालको आईसीयू प्रोटोकलअनुसार आईसीयूमा भिडिओ फोटो खिच्न नपाइने कीर्तिपुर बर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले बताइन् । आईसीयूको भिडिओ कसरी बाहिरियो भन्ने विषयमा छानबिन भइरहेको उनको भनाइ छ ।

‘त्यो भिडिओ आईसीयूमा भएका नर्सहरुले खिचेको होइन । राज्यमन्त्रीसँग आएका कुनै व्यक्तिले खिचेको हुनुपर्छ’, उनले दाबी गरिन् ।

डा. ताम्राकारका अनुसार मंगलबार साँझपख स्वास्थ्य राज्यमन्त्री कार्की आफ्ना पीएसओ र केही व्यक्तिहरुसहित आईसीयूमा प्रवेश गरेकी थिइन् ।

‘उहाँ हिजो साँझ आउनुभएको रहेछ । त्यो हामी पनि हेरिराखेका छौं । तर, फोटो खिच्न निषेध छ । त्यस्तो ठाउँमा फोटो खिच्नेले सोच्नुपर्थ्यो’, उनले भनिन्, ‘आईसीयूमा मास्क, एप्रोन र पञ्जा अनिवार्य छ । बर्न इन्फेक्सन हुने भएकाले लगाउनैपर्छ ।’

स्वास्थ्य राज्यमन्त्रीले पञ्जा नलगाएको विषयमा पनि छानबिन भइरहेको उनले बताइन् । आईसीयू प्रोटोकल पालना नगरेको विषयमा बुझ्न हामीले पटक-पटक स्वास्थ्य राज्यमन्त्री कार्कीलाई फोन सम्पर्क गर्दा उनले फोन उठाइनन् ।


प्रतिक्रिया

2 thoughts on “तोसिमाले आईसीयू प्रोटोकल उल्लंघन गरेको आरोप, अस्पताल भन्छ- छानबिन हुँदैछ (भिडिओ)

  1. मन्त्रीले बोलाएर लगेको हो र मिडियालाई ? अनि कसलाई पठाउने नपठाउने भन्ने कुरा अस्पताल प्रशासनको हो मन्त्रीलाई किन दोष ?

    1. अनि मन्त्री वोलेको वेला भिडियो खिच्नेलाइ मन्त्रीले नलगे कसले लान्छ? चिकित्सक लाइ आइसियू को वारेमा पत्तो हुन्न हो? कत्रो हनुमानगिरी

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर