निफको मिति घोषणा, ३५ देशका ९५ चलचित्रले प्रतिस्पर्धा गर्ने – Nepal Press

निफको मिति घोषणा, ३५ देशका ९५ चलचित्रले प्रतिस्पर्धा गर्ने

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ (निफ) को मिति घोषणा गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा आज महोत्सवको घोषणा गरिएको हो । कार्यक्रममा केसीसहित कलाकारहरू गौरी मल्ल, सरिता गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायतका कलाकार उपस्थित थिए ।

आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो । महोत्सवमा ५५ देशका ५ सय बढी फिल्मबाट छनौट भएका ३५ देशका ९५ फिल्मबीच प्रतिष्पर्धा हुने निफ अध्यक्ष केपी पाठकले जानकारी दिए ।

विगतमा झै महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार प्रदान गरिने उनले बताए । यस पटकबाट निफका प्रतिष्पर्धी फिल्महरुलाई विभिन्न सिनेमा घरहरुमा प्रदर्शनसमेत गरिनेछ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १५०० अमेरिकी डलरसहितको गौतम बुद्ध अवार्ड, आईएफएफएस डन क्युजेट अवार्ड, १००० अमेरिकी डलरसहितको माउन्ट एभरेष्ट अवार्ड र ५०० अमेरिकी डलरसहितको बाग्मती अवार्ड र मञ्जुश्री अवार्ड रहेको छ । भने राष्ट्रिय प्रतियोगिताअन्तर्गत १ लाख रुपैयाँ पुरस्कार सहितको बेस्ट फिचर फिल्म अवार्ड, ५० हजार सहितको बेस्ट सर्ट फिल्म अवार्ड र एके शेर्पा अवार्ड समावेश गरिएको छ ।

त्यस्तै प्रतियोगितामा परेका फिचर फिल्महरूबाट एक-एकजनाले उत्कृष्ट छायांकन अवार्ड, उत्कृष्ट पटकथा अवार्ड, उत्कृष्ट चलचित्र निर्देशन अवार्ड, बेस्ट मेल अवार्ड र बेस्ट फिमेल अवार्ड पाउनेछन् ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गर्न लागेको निफ नेपालकै सबैभन्दा ठूलो प्रमुख वार्षिक चलचित्र र सांस्कृतिक कार्यक्रम हो । २०१८ मा सुरू भएको यो महोत्सव संसारभरबाट कथा र कथाका विविध रूपहरू मनाउनका निम्ति स्थापना गरिएको थियो ।

नेपाल र विश्वका अन्य देशहरूबीच चलचित्र र संस्कृतिको आदानप्रदान गर्ने र देशमा सचेत, सक्षम र प्रशंसायोग्य चलचित्र संस्कृतिको निर्माण गर्ने उद्देश्यले यो कार्यक्रमको परिकल्पना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *