राष्ट्रियसभा उपनिर्वाचन : एमालेबाट दसौदी र कांग्रेसबाट आचार्यले मनोनयन दर्ता गर्दै – Nepal Press

राष्ट्रियसभा उपनिर्वाचन : एमालेबाट दसौदी र कांग्रेसबाट आचार्यले मनोनयन दर्ता गर्दै

रुपन्देही । लुम्बिनीमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले कुमार दसौंदीलाई उम्मेदवार चयन गरेको छ । रोल्पामा उनी पार्टी केन्द्रीय सदस्य रहेका छन् ।

उनलाई नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलको समर्थन रहनेछ । २५ माघमा हुने उपनिर्वाचनका लागि आज बुधवार उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले निर्वाचन कार्यतालिका अनुसार ११ बजे दाङस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिए ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले रोल्पाका माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अहिले भरखर आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

आचार्य रोल्पाको पूर्व जिल्ला सभापति र अहिलेसम्म कुनै लाभको पद नलिएका नेतामध्येमा पर्दछन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । २५ माघमा घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

उपनिर्वाचनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार माघको ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालीका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १÷१ स्थानमा जितेका छन् ।

त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ र स्वतन्त्र २ जनाले जितेका छन् ।

सत्तारुढ दलको बहुमत देखिएपनि केही मत तानेर आफ्नो पक्षमा नतिजा ल्याउन सक्ने अपेक्षा कांग्रेसले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर