बालुवाटारमा प्रचण्डको ३० दिन- विश्वासको मतदेखि सरकारको पूर्णतासम्म


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ३० दिन पूरा भएको छ । तत्कालीन गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा प्रधानमन्त्री बनेका प्रचण्डका ३० दिनका कार्य विवरण सचिवालयले सार्वजनिक गरेको छ ।
पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डप्रति जुन समर्थन देखापर्यो, त्यो नेपाली राजनीतिकै निम्ति अभूतपूर्व र ऐतिहासिक छ ।
कोभिड महामारी, विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दी र त्यसको नेपालमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव भोगिरहेको बेला देशको बागडोर सम्हालेका प्रचण्डले संसदबाट विश्वासका मत लिएका छन् । नेपालका संसदीय इतिहासमै ९९ प्रतिशत संसदको समर्थनमा विश्वासको मत हासिल गरे ।
यसै अवधिमा देशले निकै ठूलो दुर्घटनाको सामना गर्यो । गत माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा ७२ यात्रुको निधन भएपश्चात् सिंगो देश नै स्तब्ध बन्यो । जसमा प्रधानमन्त्री प्रचण्डकै ठाडो निर्देशनमा नागरिक उड्डयन प्राधिकरणले नेपालमा सञ्चालित जहाजहरुको प्राविधिक परीक्षण गरेको थियो ।
त्यस्तै, कम्बोडियामा निधन हुनुभएका निराकार पाण्डेको परिवारसँग भेटेर उनको शव ल्याउने कामको सहजीकरण गरेका थिए ।
त्यस्तै, प्रचण्डले ३० दिनको अवधिमा २१ दिन सिंहदरबार बसेर कार्यसम्पादन गरेका छन् । सार्वजनिक विदाबाहेक उहाँ जम्मा ४ दिन मात्र सिंहदरबार गएनन्, बाँकी सबै दिन सिंहदरबारबाटै कार्यसम्पादन गरेका छन् । यसले सम्पूर्ण मन्त्रालय, सिंगो प्रशासन संयन्त्रलाई प्रभावकारी परिचालन गर्ने वातावरण बनेको छ ।
त्यस्तै, यसै अवधिमै नयाँ संसदले सभामुख र उपसभामुख निर्वाचित गरिसकेको छ । साथै, संघको मात्रै नभएर प्रदेश सरकारहरू गठन कार्य आधारभूत रूपमा पूरा भएको छ । संघमा त करिब मन्त्रीहरुले पूर्णता पाएका छन् ।
उनले नेपाल दुई ठूला छिमेकीहरुसँग सन्तुलित सम्बन्ध बनाउने प्रतिवद्धतादेखि अन्य देशका राजदूतहरुसँग पनि भेटवार्ता गरेका छन् ।