मानव मस्तिष्कको विकल्प भनिएको ‘च्याट जीपीटी’ के हो ? – Nepal Press

मानव मस्तिष्कको विकल्प भनिएको ‘च्याट जीपीटी’ के हो ?

काठमाडौं । वर्तमान समयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच ‘च्याट जीपीटी’ को बारेमा निकै चर्चा हुने गरेको छ । च्याट जीपीटीका धेरै प्रयोगकर्ताले यसलाई मानव मस्तिष्कको विकल्पको रुपमा समेत परिभाषित गर्न थालेका छन् । मानव मस्तिष्कको विकल्पकै रुपमा स्थापित हुन सक्ने ल्याकत राख्ने भनेर दाबी गरिएको ‘च्याट जीपीटी’ वास्तवमा के हो ? के कस्ता ठाउँमा यसको प्रयोग भइरहेको छ ? च्याट जीपीटीका सबल र दुर्बल पक्षहरु के के हुन् ? लगायतका प्रश्न हाल धेरैका लागि चासोको विषय बनेको छ ।

सामान्यतया च्याट जीपीटी एक ‘च्याट बट’ हो । जसले मानवसँग अन्तरक्रिया गर्नसक्छ । यसो भनिरहँदा धेरै मानिसहरुमा यस किसिमको प्ल्याटफर्म त पहिलादेखि नै सञ्चालनमा छन् हैन र ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । जसको उत्तर हो भन्ने नै हुन्छ ।

हामीले प्रयोग गर्दै आएका सिरी, एलेक्सा, गुगल एसिस्टेन्टलगायतले पनि मानवसँग अन्तरक्रिया गरेर प्रश्नअनुरुपको उत्तर दिने काम गर्छ । यद्यपि च्याट जीपीटी यी ‘प्ल्याटफर्म’ भन्दा फरक छ । च्याट जीपीटी हालसम्मको सबैभन्दा सशक्त ल्यांग्वेज मोडल हो । किनकि यो प्ल्याटफर्म हालसम्मकै सबैभन्दा धेरै डाटाहरुमा ट्रेन्ड गरिएको छ ।

गत नोभेम्बर ३० मा सार्वजनिक भएको यस प्ल्याटफर्मको प्रयोग हाल धेरै प्रयोजनको लागि गरिन थालेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको रिपोर्टका अनुसार हाल यो प्ल्याटफर्म कतै मानसिक रोगीलाई ‘इमोशनल सपोर्ट’ दिन प्रयोग गर्न थालिएको छ भने कतै टिन्डर म्याचसँग वार्तालाप गर्न प्रयोग गर्न थालिएको छ ।

यतिमात्र नभएर केही विद्यार्थीहरुले यसलाई आफ्नो रिसर्च पेपर लेखाउन पनि प्रयोग गर्दै आएका छन् । एलन मस्क सहसंस्थापक रहेको ओपन एआई नामक कम्पनीद्वारा निर्मित यस न्याचुरल ल्यांग्वेज प्रोसेसन सफ्टवेयरको हालसम्म १० लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् । १७५ अर्बभन्दा बढी विभिन्न मापदण्डको प्रयोग गरेर तयार पारिएको यस ‘प्ल्याटफर्म’ले मानवहरुको जस्तै उत्तर दिनसक्छ ।

यस प्ल्याटफर्ममा प्रयोग भएका धेरै मापदण्ड एआई राइटिङ तथा एसईओ टुल्समा पनि प्रयोग हुन्छन् । यद्यपि यो प्ल्याटफर्म खास हुनुको कारण भने ‘रिइन्कोफोर्स्मेन्ट लर्निङ’ भन्ने विधि हो । यो विधिलाई सामान्य भाषामा बुझ्नुपर्दा मानवहरुको प्रतिक्रियाको आधारमा यस प्ल्याटफर्मले केही कुरा ग्रहण गर्नसक्छ ।

रिइन्कोफोर्स्मेन्ट लर्निङ विधिका कारण मानवसँगको अन्तरक्रियाको आधारमा यो प्ल्याटफर्म झन् विकसित र प्रभावकारी हुँदै जानसक्छ । उदाहरणका लागि साना बालबालिकाले जुन रुपमा भाषा सिक्दै जान्छन् सोही किसिमको क्षमता यस प्ल्याटफर्ममा पनि हुन्छ । सोही कारण च्याट जीपीटीले दिने उत्तर हरेक पटक भिन्नभिन्न हुने गर्छ ।

वर्तमान समयमा यस प्ल्याटफर्मलाई लिएर केही विवाद पनि भएको छ । विशेष गरेर दक्षिणपन्थीहरुले यो प्ल्याटफर्मले वामपन्थी विचारधारालाई बढी प्रोत्साहन गरेको दाबी गरिरहेका छन् । यस्तै रंग विभेद, जातीय विभेदलगायतका संवेदनशील विषयमा यो प्ल्याटफर्म प्रभावकारी नरहेको पनि बताइन्छ । जसका कारण यो प्ल्याटफर्म पूर्ण रुपमा निष्पक्ष छ भनेर किटान गर्न सकिने अवस्था भने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर