मन्त्रीको चेम्बरमै ‘दानपेटिका’ : फूल र खादा अस्वीकार गर्दा ६ दिनमा तीन लाख जम्मा – Nepal Press

मन्त्रीको चेम्बरमै ‘दानपेटिका’ : फूल र खादा अस्वीकार गर्दा ६ दिनमा तीन लाख जम्मा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएलगत्तै सुदन किरातीले आह्वान गरे- मलाई भेट्न आउँदा फुल र खादा नल्याउनू । र, तुरुन्तै उनले आफ्नो कार्यकक्षमै एउटा दानपेटिका राख्न लगाएर भने- ‘फूल र खादामा गर्ने खर्च यहाँ सहयोग गर्नुस् ।’

अहिले पनि मन्त्री किराँतीको चेम्बरमा पुग्दा उनी बस्ने टेबलअगाडि एउटा सिसाको बाकस देखिन्छ । त्यहाँभित्र ५ रूपैयाँदेखि एक हजारसम्मका नोटहरू छन् । भेट्न आउनेहरूले स्वैच्छिकरूपमा यस बाकसभित्र नगद खसाल्छन् ।

माघ ३ गते मन्त्रीको शपथ खाएलगत्तै मन्त्री किरातीले आफ्नो टेबलअगाडि उक्त बाकस राख्न सचिवलाई निर्देशन दिएका थिए । उनले बधाई दिन आउनेबाट खादा, माला र बुकेको प्रयोग नगर्ने भन्दै त्यसको बदला सहयोग रकम संकलन गर्ने रणनीति लिएका हुन् । संकलित रकम दुर्गम क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने उनको तयारी छ ।

मन्त्रालयमा राखिएको सहयोग पेटिकामा ६ दिनमा ३ लाख रूपैयाँ संकलन भइसकेको छ । मन्त्रालयमा बधाईका लागि पुगेका शुभेच्छुक, नेता-कार्यकर्ता, संघसंगठनका प्रतिनिधिसँग उनी ‘नमस्ते’ मात्र थाप्छन्, हात मिलाउँछन् । कसैले अञ्जानमा फूल दिन र खादा लगाउन खोज्दा त्यो बाकसतर्फ देखाउँछन् । बाकसमा लेखिएको छ- ‘खादा, माला, फूलको सट्टामा दुर्गम क्षेत्रमा शिक्षा विकासको लागि सहयोग गरिदिन हुन अनुरोध छ ।’

त्यसैमाथि राखिएको रजिष्टरमा नाम र रकम लेखेर पैसा बाकसमा खसालिन्छ । र, बजारबाट किनेर लगेको पुष्पगुच्छा र खादा भने कोहीले त्यत्तिकै फर्काउँछन् त कसैले एउटा कुनामा थुपारेर त्यही सहयोग पेटिकामा रकम हालेर फिर्छन् ।

आफू खादा र मालाको विरोधी नभएको भन्दै उनले माघ १ गते विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाएकाले तालुकदार मन्त्रालयको नेतृत्व गरेको हैसियतले शोकको बेला आफूले खादामालाले बधाई नथापेको मन्त्री किरातीले बताए ।

‘धेरै महानुभावहरूले खादाको पैसा त्यहाँ लगाउनुहुन्छ । ३ लाख पुगिसकेको छ । यो हेर्दा त एकजना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम संकलन हुन्छ भने २५ जना मन्त्री तथा देशभरका हजारौं जनप्रतिनिधिहरूले कति अर्बको खादा माला लगाइँदोरहेछ त ?’, उनले भने ।

मन्त्री किरातीले मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षतामा मन्त्रालय सञ्चालन गर्न सुझावसमेत मागिरहेका छन् । उनले सुझाव र जनगुनासो संकलनका लागि ‘ई-हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याएका छन् । त्यहाँ आएका सुझाव र गुनासोलाई उनले जवाफ फर्काउँदै आएका छन् ।

किरातीले मन्त्रालय आउनेलाई आफूले नीतिमा केही गर्नपर्ने भएमात्र बुझिने भाषामा भन्न आग्रह गर्दै आएका छन् । नत्र, कर्मचारी संयन्त्रबाटै सिष्टमअनुसार काम हुने कसैलाई भनसुन गरिरहननपर्ने उनको भनाइ छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान), त्रिभुवन विमानस्थल र आज नेपाल वायुसेवा निगमको अनुगमनमा गएका उनले निर्देशनको क्रममा नतिजामुखी काममा जोड दिए । आफू काम गरेर देखाउन आएको र दाग लागेर नफर्किने भन्दै मन्त्री किरातीले त्यसमा साथ दिन मातहतका अधिकारीलाई भन्दै आएका छन् ।

नेवानीमा सोमबार बिहान पुगेका उनले निर्देशन दिँदै भने, ‘जहाज अब उप्रान्त समयमै उड्नु पर्छ । हिजो के भयो त्यो म हेर्दिनँ, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन । नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैँ साथ दिन्छु । मलाई दैनिक रिपोर्ट चाहिन्छ ।’

केहीले मन्त्री किरातीले ‘स्टन्ट’ गरिरहेको भनेर टिप्पणी गरिरहेका छन् भने पहिले सांसद हुँदादेखि नै फरक ढंगले काम गर्ने उनको शैली रहेको र नयाँ जोश र जाँगरसहित अहिलेको सिंहदरबार इन्ट्रीले आशा पलाएको गृहजिल्ला भोजपुरका नागरिक समाजका अगुवा परशुराम तिवारी बताउँछन् ।

यद्यपि, उनले थालेका केही कदमले सकारात्मक तरंग देखिएपनि अहिले नै मूल्यांकन गर्न हतारो हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर