डिलासैनी सरकारका ८ महिना : गाउँमा फोर जीदेखि, एमबीबीएस डाक्टरसम्म, यी हुन् सुधारका संकेत – Nepal Press

डिलासैनी सरकारका ८ महिना : गाउँमा फोर जीदेखि, एमबीबीएस डाक्टरसम्म, यी हुन् सुधारका संकेत

अध्यक्ष जोशी भन्छन्- आलोचनाबाट भाग्दैनौँ, कार्यप्रगति भूगोलमा गएर हेर्नुहोस्

ठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको आठ महिना बितेको छ । यो पटकको स्थानीय तह निर्वाचनमा धेरै नयाँ अनुहार आएका छन् ।

७५३ मध्ये केही स्थानीय तह र तिनका प्रमुख यस्ता छन्, जुन हरेक दिन समाचारको हेडलाइन बनिरहेका छन् । खासगरी देशका केही स्थानीय तहमा निर्वाचित स्वतन्त्र उम्मेदवारहरुको चर्चा र आलोचना अलि बढी नै हुने गरेको छ । ती नै मध्येका एक हुन् बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी ।

नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिँदै विजयी भएका जोशी चुनावअघि जति लोकप्रिय थिए, विजयी भएपछि सामाजिक सञ्जालमा उनको आलोचना गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

नेपाल प्रेसको स्टुडियोमा अध्यक्ष जोशीसँग निर्वाचित भएको आठ महिने कार्यकालको अनुभव, कार्य प्रगति, जनतासँग चुनावका बेला गरेका वाचा र अहिले भइरहेका आलोचनालगायतका बारेमा कुराकानी गरेका छौं ।

अध्यक्ष जोशी आफ्नो कार्यकालको सुरुआती ८ महिना निकै उत्साहपूर्ण रहेको बताउँछन् । ‘अनुभव र कामको हिसाबले महत्वपूर्ण छ । जीवनका केही सुनौला समयहरु केही समाजका लागि योगदान गर्ने गरी आफ्नो क्षमता, योग्यता र पदीय जिम्मेवारीअनुसार काम गर्न सकिरहेका छौं’, उनले भने ।

चुनावअघि जनतासँग गरेका प्रतिबद्धताअनुसार नै काम भइरहेको उल्लेख गर्दै उनले पालिकाको पहिलो नीति तथा कार्यक्रम अध्ययन गरी थप बुझ्न सकिने बताए ।

पालिकाका जनप्रतिनिधिहरुप्रति पछिल्लो समय भइरहेका टिप्पणीहरुका सन्दर्भमा अध्यक्ष जोशी बढ्दो महत्वाकांक्षा हो भन्छन् ।

‘मानवीय स्वभाव नै बढी महत्वाकांक्षी हुने हुनाले आजको भोलि नै हुनुपर्‍याे भन्ने भयो । अलि बढी नै हुनुपर्छ भन्ने छ । हिजो नभएका कुरा मान्छे क्षणभरमै भुल्छन् । तर, यसलाई अन्यथा लिनु छैन’, उनी भन्छन्, ‘जनताको तहबाट जनतासँग जोडिएको कुराहरुका सन्दर्भमा हामी सकारात्मक रुपमा लिन्छौं । उहाँहरुका इच्छा-आकांक्षालाई पूरा गर्ने दिशामा हुन्छौं ।’

निर्वाचनअघि फोन गर्न सास्ती भोगिरहेका जनता अहिले फोर जी सेवा उपभोग गरिरहेका छन् । विभिन्न विद्यालयहरुमा विषयान्तर गरेर आफ्नो मान्छेलाई जागिर दिलाउने समस्याको समाधानतर्फ पालिका निर्मम भएर लागेको छ ।

अध्यक्ष जोशी भन्छन्, ‘विभिन्न विद्यालयहरुमा अंग्रेजी, गणित, विज्ञानलाई विषयान्तर गरेर फरक विषय पढेका आफन्तलाई जागिर लगाउने चलनलाई हामीले परिवर्तन गर्‍यौं । अहिले अधिकांश विद्यालयमा विषय शिक्षक छन् ।’

भौतिक रुपमा भइरहेको विकास देखिने कुरा भए पनि नीति निर्माण तहका विषय आफूले उपभोग गरेपछि मात्रै महसुस हुने उनले बताए ।

पालिकाले शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विद्युतका क्षेत्रहरु आफ्नो प्राथमिकतामा रहेको र सबैलाई समान ढंगले अगाडि बढाइरहेको उनले बताए ।

सरकारले सुरुआती ८ महिनाको अवधिमा गरेका कामहरु प्रत्यक्ष भूगोलमा बस्ने जनताले महसुस गरिरहेको उनले बताए ।

पालिकामा अहिले एमसबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ । पालिका तहबाट नै सेवा सुविधा दिने गरी एकजना एमबीबीएस डाक्टर नियुक्त भएका छन् । आवश्यक पूर्वाधार निर्माणको काम पनि जारी रहेको उल्लेख गर्दै अध्यक्ष जोशीले माघ ४ गतेमात्रै ल्याब स्थापना भएको बताए ।

उनले भने, ‘एक्सरे सेवा किन भयो भनेर मान्छेको टाउको दुखाइको विषय बनेको छ । खरिद गर्दा ७०-७५ लाख पर्न आउँछ । हामीले स्वास्थ्य सेवा विभागको सहयोगबाट प्राप्त गरेका छौं । हाम्रो ठाउँ घास काट्न जाँदा ज्यान गुमाइरहेको क्षेत्र हो । दिनहुँ गोठालो जाँदा होस् वा दैनिक काममा आउँदा जाँदा मान्छे लडेर घाइते हुने अवस्था छ । अब त्यो गाउँमा एक्सरे सेवा दिनु नराम्रो हो र ? गर्भवती महिलाको जाँच एउटा दक्ष जनशक्तिबाट भइरहेको छ । आमा र शिशुको अवस्था कस्तो छ, स्वस्थ छ कि छैन भन्ने कुरा विशेषज्ञ चिकित्सकहले पहिले थाहा पाएर थप सतर्कता अपनाउने कुरा नराम्रो हो ? त्यसमा टीका टिप्पणी गर्नुको अर्थ हुन्छ ?’

विस्तृतमा हेर्नुहोस् भिडिओ कुराकानीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर