राष्ट्रियसभा निर्वाचन : एमालेबाट कुमार दशौदी पठाउने तयारी, कांग्रेसबाट तीन जना सिफारिस – Nepal Press

राष्ट्रियसभा निर्वाचन : एमालेबाट कुमार दशौदी पठाउने तयारी, कांग्रेसबाट तीन जना सिफारिस

रुपन्देही । माघ २५ गते हुने लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै सत्तारुढ नेकपा एमाले र विपक्षी नेपाली कांग्रेसमा उम्मेदवारी टुंगो लगाउन अन्तिम कसरत भइरहेको छ ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको छ । प्रतिनिधिसभा उम्मेदवार बन्ने भन्दै भट्टराई पदबाट राजीनामा दिएपनि अन्तिममा उनले पार्टीबाट टिकट भने पाएनन् । त्यसपछि पद रिक्त रहेको थियो ।

उपनिर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी प्रदेश निर्वाचन कार्यालयले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने उपनिर्वाचनका लागि माघ ८ गते मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी विरोध वा उजुरी, माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ ।

त्यसैगरी माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

निर्वाचन कार्यालयका अनुसार राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्ने पाउने व्यवस्था रहेको छ ।

निर्वाचनका लागि सत्तारुढ दलबाट एमाले र विपक्षी दल कांग्रेसबाट उम्मेदवारीको तयारीका लागि अन्तिम तयारीमा छन् ।

करिब १ वर्षमात्रै कार्यकाल बाँकी रहेकाले यो पदमा जान धेरै सिनियर नेताहरूले जाँगर गरेका छैनन् ।

एमालेले कुमार दशौंदीलाई राष्ट्रियसभा उम्मेदवार बनाउने तयारी गरेको छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले आफू यो पदको आकांक्षी नरहेको जनाउँदै पार्टी केन्द्रको सल्लाहमा सहमतिमै उम्मेदवारको टुंगो लगाउने बताए । अन्य केही नेताले पनि आकांक्षा देखाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने पहिलो चरणको नाम संकलन गरेर ३ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमर पुनले सबै जिल्लाबाट सिफारिस मागिएको र सोही आधारमा सिफारिस गरिएको बताएका छन् ।

कांग्रेसबाट दाङका वीर केसरि गौतम, बर्दियाका अरुणप्रकाश राठौर र रोल्पाका माधवप्रसाद आचार्यको नाम सिफारिस भएको छ । उनीहरुमध्येबाट १ जना उम्मेदवार बन्नेछन् । अहिले सत्ता गठबन्धनको मत चोर्न नसके विपक्षी दलले जित्न सक्ने आधार नभएकाले पनि कांग्रेसमा आकांक्षीको चाप छैन ।

प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १।१ स्थानमा जितेका छन् । त्यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा,नागरिक उन्मुक्तिले ४/४, जसपा,लोसपा,जनमतले ३/३, जनमोर्चा र नेकपा एसले १/१, स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूको बहुमत सहज भएपनि केही मत तानेर जित्ने योजना विपक्षी कांग्रेसले बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *