नयाँ सत्ता गठबन्धनको गणित- राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउन स्पष्ट बहुमत (सूचीसहित) – Nepal Press

नयाँ सत्ता गठबन्धनको गणित- राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउन स्पष्ट बहुमत (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएको सत्ता गठबन्धनसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउन स्पष्ट बहुमत रहेको छ । सत्ता गठबन्धनको नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति दलको सत्ता गठबन्धनसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको लागि स्पष्ट बहुमत रहेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ५४ मा निर्वाचक मण्डलमा रहने सदस्यको मतभारसम्बन्धी व्यवस्था छ । उक्त ऐनसँग सम्बन्धित अनुसूचीमा गरिएको संघीय सांसद र प्रदेश सांसदको मतभारअनुसार सत्ता गठबन्धनसँग स्पष्ट बहुमत देखिएको हो ।

यस्तो छ सत्ता गठबन्धनको बहुमत पुग्ने हिसाबकिताब

गठबन्धनको प्रमुख घटक एमालेसँग प्रतिनिधिसभाको ७९ र राष्ट्रियसभाको १७ (राष्ट्रपतिबाट मनोनीत परराष्ट्रमन्त्री विमला राईसहित) गरी ९६ सीट छ । संघीय सांसदको मतभार ८७ हो । जसअनुसार एमालेसँग ८ हजार ३५२ मत छ ।

यस्तै एमालेसँग प्रत्यक्ष र समानुपातिक गरी १६२ जना प्रदेश सांसद छन् । प्रदेश सांसदको मतभार ५३ रहेको छ । यसअनुसार एमालेसँग प्रदेशमा ८ हजार ५८६ मत छ । संघीय र प्रदेश सांसदको मतभार जोड्दा एमालेसँग कुल १७ हजार २५ मत छ ।

माओवादीको प्रतिनिधिसभामा ३२ र राष्ट्रियसभामा १६ गरी ४८ सीट रहेको छ । जुन मतभार ४ हजार १७६ हुन्छ । प्रदेशमा माओवादीका ८४ जना सांसद छन् । जसको मतभार ४ हजार ४५२ हुन्छ । दुइटै गरेर ८ हजार ६२८ मतभार माओवादीको छ ।

यसमा राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाल र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट हँसिया हथौडा चिन्हबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादव र प्रदेश सांसदहरु गंगानारयण श्रेष्ठ र फणिन्द्र देवकोटाको मतभार पनि जोडिएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा २० सीट रहेको छ । यसको मतभार १ हजार ७४० हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रतिनिधिसभामा १४ सांसदको मतभार १ हजार २१८ छ । प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक २८ सीटको मतभार १ हजार ४८४ छ । दुइटै गरेर राप्रपासँग जम्मा मतभार २ हजार ७०२ छ ।

जनमत पार्टीको प्रतिनिधिसभामा ६ सीटरहेको छ । यसको मतभार ५२२ हुन्छ । प्रदेशतर्फ जनमतको १६ जना सांसदको ८४८ मतभार हुन्छ । दुइटै गरेर उसको मतभार १ हजार ३७० पुग्छ ।

यसैगरी प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीसँग प्रतिनिधिसभाका ४ जना सांसदको मतभार ३४८ हुन्छ । प्रदेशसभामा उसको १३ सीट छ । जसको ६३६ जोड्दा जम्मा मतभार ९८४ पुग्छ ।

यसरी सत्ता गठबन्धनकाको मतभार जोड्दा जम्मा ३२ हजार ४४९ पुगेको छ ।

प्रतिनिधिसभाका एक जना सदस्य निलम्बनमा छन् । त्यस्तै राष्ट्रियसभामा पनि एक सीट रिक्त छ । यसअनुसार ३३२ संघीय सांसदको २८ हजार ८८४ र ५५० प्रदेश सांसदको २९ हजार १५० गरी कूल मतभार ५८ हजार ३४ हुन आउँछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत मत भए पुग्छ । तर, सत्ता गठबन्धनसँग करिब ५६ प्रतिशत मतभार रहेको छ । जुन राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउनसक्ने स्पष्ट बहुमत हो ।

सत्ता गठबन्धन बाहिर रहेको प्रमुख दल नेपाली कांग्रेससहित सबै दलको मतभार हिसाब गर्दा जम्मा २६ हजार ९८५ मात्रै हुन आउँछ । प्रतिशतका हिसाबले यो ३७ मात्रै हो । कांग्रेस गठबन्धनमा नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमाेर्चा नेपाल रहेका छन् । त्यसैले राष्ट्रपति निर्वाचनसम्म यही स्थिति रहे कांग्रेसले चाहेर पनि राष्ट्रपति निर्वाचित गराउन सक्ने अवस्था छैन ।

कांग्रेससँग प्रतिनिधिसभामा ८८ र राष्ट्रियसभामा ११ गरी संघीय संसदमा ९९ सीट छ । जसको मतभार ८ हजार ६१३ हुन्छ । उससँग प्रदेशसभामा १७५ सीट छ । जसको मतभार ९ हजार २७५ पुग्छ । दुइटै जोड्दा मतभार १७ हजार ८८८ हुन आउँछ ।

जनता समाजवादी पार्टीसँग प्रतिनिधिसभामा १२ र राष्ट्रियसभामा ३ गरेर १५ जना संघीय संसद छन् । यसको मतभार १ हजार ३०५ हुन्छ । प्रदेशसभामा २० सीट रहेको जसपा कूल मतभार २ हजार ३६५ हुन आउँछ ।

नेपाल मजदुर किसान पार्टीको प्रतिनिधिसभामा एक जनामात्रै सांसद छ । जसको मतभार ८७ हुन्छ । प्रदेशसभामा ३ सांसद भएकाले १५९ जोड्दा कूल मतभार २४६ पुग्छ ।

राष्ट्रिय जनमोर्चाको प्रतिनिधिसभा र राष्ट्रियसभामा एकएक गरेर २ सीट छ । प्रदेशसभामा उसको एक सीट छ । जसको कुल मतभार २२७ पुग्छ ।

प्रतिनिधिसभामा अमरेशकुमार सिंह, प्रभु साह र योगी मण्डल तथा राष्ट्रियसभाका वामदेव गौतम र डा.खिमलाल देवकोटा जम्मा मतभार ४३५ हुन्छ । यस्तै प्रदेशसभातर्फ १० जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । उनीहरुको मतभार ५३० हुन आउँछ । दुइटैको मतभार जोड्दा जम्मा ९६५ हुन्छ ।


प्रतिक्रिया

One thought on “नयाँ सत्ता गठबन्धनको गणित- राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउन स्पष्ट बहुमत (सूचीसहित)

  1. राष्ट्रपतिमा नेमकिपाका श्रद्देय अध्यक्ष कमरेड नारायण मान बिजुक्छेलाई चयन होस् भने उपसभापतिमा अष्टलक्ष्मी शाक्यलाई बनाउँदा देश र जनताले मागेकाले राम्रो होला कि ? जयहोस् ।

Leave a Reply to Laleek Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर