भीम रावलले पार्टी हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग – Nepal Press

भीम रावलले पार्टी हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बीसीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भीम रावलको भूमिका गलत रहेको भन्दै कारबाहीको माग गरेका छन् ।

आइतबार धनगढीमा भएको राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बीसीले एमाले उम्मेदवारहरूलाई हराउने भूमिका खेलेको भन्दै रावललाई कारबाहीको माग गरेका हुन् ।

एमालेबाट प्रतिनिधि सभामा झपट बोहरा, प्रदेश सभामा कृष्ण जैसी र देवबहादुर कुवर उम्मेदवार थिए । तर, भीम रावलले समाजवादी र कांग्रेसलाई जिताउन भूमिका खेलेको भन्दै रावललाई कारबाहीको माग गरेका हुन् ।

‘अछामबाट भीम रावललाई हामीले कति पटक भोट हालेर जितायौँ । पार्टीको उपाध्यक्ष बनाउँदै राष्ट्रिय स्तरको राजनीतिमा स्थापित गर्यौँ,’ बीसीले भने, ‘तर चुनावमा रावलले समाजवादी र कांग्रेसलाई जिताउन भूमिका खेल्नुभयो । उहाँलाई कारबाही गरिनुपर्छ ।’

बीसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरूमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव क्षितिज थेवे प्रमुख अतिथि रहेको कार्यक्रममा युवा सङ्घका अछाम इन्चार्ज भरतबहादुर शाहको समेत सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर