‘राष्ट्रपतिका लागि गठबन्धन टुटाउनतिर लाग्दैनौं, लोकतान्त्रिक मोडलको प्रतिपक्ष कस्तो हुन्छ देखाउँछौं’ – Nepal Press
नेपाल टक

‘राष्ट्रपतिका लागि गठबन्धन टुटाउनतिर लाग्दैनौं, लोकतान्त्रिक मोडलको प्रतिपक्ष कस्तो हुन्छ देखाउँछौं’

कांग्रेस सांसद केसी भन्छन्- संस्थापनमा जस्तो इतरसमूहमा हुकुमी शैली चल्दैन, पार्टी नेतृत्व सुध्रिनुपर्छ

काठमाडौं । पाँचदलीय गठबन्धन भत्किएको पराकम्प नेपाली कांग्रेसभित्र अझै रोकिएको छैन । प्रतिनिधिसभाको ठूलो दल कांग्रेस अहिले संघदेखि प्रदेशसम्म सरकार बाहिर छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री स्वीकार्न नसक्दा कांग्रेस संघदेखि प्रदेशसम्मका सरकारबाट बढारियो ।

सभापति शेरबहादुर देउवाकै कारणले गठबन्धन टुटेको भन्दै पार्टीभित्र चर्को विवाद भइरहेको बेलामा देउवाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दियो । विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्ष दाबी गर्दै कांग्रेसले सत्ता गठबन्धन टुटाउने रणनीति अख्तियार गरिरहेको छ । एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउन कांग्रेसका केही नेता अझै सक्रिय छन् ।

त्यही रणनीतिलाई अख्तियार गर्दै कांग्रेसले आफू नेतृत्वको गठबन्धन भत्काएर हिँडेका प्रचण्डलाई विश्वासको मत दिएको थियो । सभापति देउवाको कारणले कांग्रेस कमजोर बनेको भन्दै संस्थापनइतर समूहले निरन्तर दबाब बढाउँदै आइरहेको छ । देउवाले पार्टीभित्र विवाद बढेपछि बोलाइएको केन्द्रीय समितिको बैठक निरन्तर धकेलिरहेका छन् । अब माघ १५ गते बैठक बस्ने तय भएको छ ।

देउवाले बोलाएको बैठकको मिति नजिकिएसँगै संस्थापनइतर समूह छलफलमा जुटेको छ । अब नेतृत्वबारे इतर समूह कसरी प्रस्तुत हुन्छ ? अबको एजेण्डा के हो ? प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस राष्ट्रपतिको निर्वाचनमा कसरी अगाडि बढ्छ ? लगायत विषयमा केन्द्रित रहेर नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता तथा सांसद अर्जुननरसिंह केसीसँग गरिएको कुराकानी नेपाल टकमा

– केन्द्रीय समितिको बैठक नजिकिँदै गर्दा तपाईंहरूको समूह फेरि छलफलमा जुट्यो । आजको बैठकमा के-के विषयमा कुरा भयो ?

संसदीय दलको निर्वाचनपछि १५ गते बस्ने केन्द्रीय समितिको बैठकको विषयमा आजबाट हामीले सामान्य छलफल गरेका हौं । आजको बैठकमा आगामी बैठकमा प्रस्तुत हुने विषयमा नेताहरूले आ-आफ्नो धारणा राख्नुभएको छ । त्यसलाई निष्कर्षमा पुर्‍याउन पर्सि (मंगलबार) बैठक बस्छ ।

– तपाईंहरूले बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशौली र भूमिकाबारे त चर्को आलोचना गर्नुभएछ नि होइन ?

अहिले कांग्रेस चुनौती र अहिलेसम्मको अप्ठ्यारो अवस्थामा छ । हामी अहिलेको परिस्थितिमा नराम्रो भए पनि दोषादोष गर्नुभन्दा अलिकति माथि उठेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्छ भन्ने पक्षमा छौं । अहिले पार्टीलाई चारैतिरबाट चुनौतीहरू देखापरेका छन् । त्यसलाई आ-आफ्नो ठाउँबाट गरेको गल्तीलाई महसुस गरेर सबैलाई मिलाउनेतिर जानुपर्छ भन्ने लाग्छ।

तर, कतिपयले हामीले गरेको सबै राम्रो पनि भनिरहेका छन् । हामीले त सुरुदेखि नै निर्वाचनमा गठबन्धन गर्न हुँदैन भनेर एकमतले भनेका थियौं । तर, त्यो हुन सकेन । केन्द्रीय कार्यसमितिले नै निर्णय गरेपछि हामीले त्यहीअनुसार इमान्दारितापूर्वक आ-आफ्नो ठाउँबाट पालना पनि गरेकै हौं ।

चुनावमा जनताको बीचमा गठबन्धन बनाएर गएपछि यसलाई निरन्तता दिनुपर्छ भनेका थियौं । शीर्ष नेताहरूले पनि कसैले १२ वर्ष कसैले २० वर्ष गठबन्धनलाई लान्छौं भने । तर, हामीले चुनावमा गठबन्धन बनाएर जनताको बीचमा गइसकेपछि न्यूनतम ५ वर्ष गठबन्धन जोगाउनुपर्थ्यो ।

तर, गठबन्धनलाई निरन्तता किन दिन सकिएन ? त्यसको पृष्ठभूमि के हो ? हाम्रोमात्रै स्वार्थले पो हो कि माओवादीको ? त्यो त पदाधिकारीहरूले बैठकमा प्रस्तुत गर्लान् नै । त्यसलाई केलाएर जानुपर्छ भनेर नेताहरूले राख्नुभएको हो । त्यसमा पार्टी नेतृत्व नै जिम्मेवार हुनुपर्छ।

– भनेपछि गठबन्धन टुट्नुमा कांग्रेस सभापति देउवाकै गल्ती भएको तपाईंहरूको निष्कर्ष रह्यो ?

हो, गठबन्धन टुट्नुको मुख्य त्रृटि नै कांग्रेस नेतृत्वमा छ । त्रृटिका पृष्ठभूमि त उहाँहरूले बैठकमा राख्नुहोला । तर, यो गम्भीर गल्ती हो । पार्टी राजनीतिमा कहिलेकाहीँ गल्ती हुन्छ ।

तर, गल्तीलाई महसुस गरेर सबैको भावनालाई समेटेर जाने नेतृत्वको इच्छा हो भने त ठिकै हो । होइन भने हामीले त्यहीअनुसारको रणनीति बनाउनुपर्छ । त्यसैले अहिलेसम्म हामीले कुनै निश्चित अवधारणा बनाएका छैनौं । छलफल गरेरै निष्कर्षमा पुग्छौं ।

तर, पार्टीलाई फेरि गम्भीर चुनौती आएको छ । त्यसैले सबैले आ-आफ्नो ठाउँमा गरेको गल्तीलाई महसुस गर्दै एकीकृत भएर नयाँ बाटो तय गर्नुपर्छ भन्नेमै छौं ।

– त्यसो त गठबन्धन छाडेर हिँडेको दुई हप्तामै प्रचण्ड सरकारलाई कांग्रेसले विश्वास दिनुपर्ने के बाध्यता आइलागेको थियो त्यस्तो ?

दुई हप्ताअगाडि हामीले जसलाई प्रधानमन्त्री स्वीकार्न सकेनौं, उसैलाई विश्वासको मत दिनुपर्ने कारण के थियो ? हामीले त्यसमा फरक मत बैठकमै राखेका हौं । त्यस विषयमा नेतृत्वले अझै पनि हामीलाई जवाफ दिएको छैन ।

फरक मत राखेपछि पार्टीको निर्णयअनुसार स्वीकार गरेका थियौं । प्रचण्डलाई विश्वासको मत दिनुपर्ने अवस्था के आधारमा बनेको हो ? त्यो विषयमा पार्टीभित्र गम्भीर छलफल हुन आवश्यक छ।

– सभामुख र उपसभामुखमा त कांग्रेसले उम्मेदवारी दियो । अब राष्ट्रपतिको निर्वाचनमा के गर्ला ?

राष्ट्रपतिको निर्वाचनमा सबै दलहरूको सहमतिपूर्ण परिस्थिति निर्माण होस् भन्ने हाम्रो इच्छा हो । हेरौं, के खालको परिस्थिति आउँछ । त्यसपछि निर्णय हुन्छ ।

चुनावमा जनताको बीचमा गठबन्धन बनाएर गएपछि यसलाई निरन्तता दिनुपर्छ भनेका थियौं । शीर्ष नेताहरूले पनि कसैले १२ वर्ष कसैले २० वर्ष गठबन्धनलाई लान्छौं भने । तर, हामीले चुनावमा गठबन्धन बनाएर जनताको बीचमा गइसकेपछि न्यूनतम ५ वर्ष गठबन्धन जोगाउनुपर्थ्यो । तर, गठबन्धनलाई निरन्तता किन दिन सकिएन ? त्यसको पृष्ठभूमि के हो ? हाम्रोमात्रै स्वार्थले पो हो कि माओवादीको ?

– कांग्रेसका कतिपय नेताहरूले हामीले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्छ भनिराख्नुभएको छ । सत्ता गठबन्धन फुटाउनतिर कांग्रेस लागेको हो ?

गठबन्धन फुटाउने र टुटाउनेतर्फ भन्दा पनि हामी अहिले अस्थिरताको पक्षमा छैनौं । अस्थिरताको कारक तत्व कांग्रेस बन्नु पनि हुँदैन । र, बन्दैन पनि । उहाँहरूकै कारणले अस्थिरता आएमा कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएकाले आफ्नो जिम्मेवारी बहन गर्छ । राष्ट्रपतिमा स्वाभाविकरूपमा शक्ति नियन्त्रण, सन्तुलन र अहिलेको जस्तो राष्ट्रिय चुनौतीको सामना गर्न कांग्रेसको उम्मेदवारी दाबी स्वाभाविक हो ।

– तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष नरहेको टिप्पणी गर्छन् नि ?

हामी प्रमुख प्रतिपक्ष हौं । तर, कानुनी र प्राविधिकरूपले त्यसको निराकरण हुँदै जाला । सत्तामा नभएको कारणले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएकाले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । हामी एउटा लोकतान्त्रिक मोडलको प्रतिपक्ष कस्तो हुन्छ भनेर देखाउने र जनताको प्रत्येक सरोकारका विषयलाई सशक्त रूपमा उठाउँछौं ।

– त्यसो त तपाईंहरूकै समूहमा पनि संसदीय दलको निर्वाचनमा एकमत हुन नसकेको आवाज उठ्यो नि ?

कतिपय साथीहरूले बैठकमा त्यो खालको धारणा आएको छ । लोकतान्त्रिक पार्टीको समूहभित्र त्यस्तो कुरा उठ्नु स्वाभाविक हो । त्यसलाई हामी एकीकृत रुपमा मिलाएर जान्छौं । म त सम्पूर्ण पार्टी नै एकीकृत गरेर मिलाएर जानुपर्छ भन्ने पक्षमा छु । समूहभित्र साथीहरूको सानातिना मत आउनु स्वाभाविक नै ठान्नुपर्छ । हामी त्यसलाई समेटेर जान्छौं ।

– आगामी महाधिवेशनको लागि उपसभापति धनराज गुरुङले शेखर कोइरालालाई अघि सारेर जानुपर्छ भन्ने प्रस्ताव ल्याउनुभएको हो ?

त्यो उहाँको व्यक्तिगत प्रस्ताव हो । उहाँले बैठकमा आफ्नो कुरा राख्न पाउनुहुन्छ । कसरी अगाडि जाने भन्ने विषयमा अब समूहभित्र छलफल होला । त्यसले एउटा निर्णय गर्ला । त्यो बेलाको परिस्थिति कस्तो बन्छ भन्ने अहिले भन्नसक्ने हुँदैन । त्यसैले त्यस विषयमा निर्णय गर्न अहिले हतारो हुन्छ । त्यो बेलाको निर्णय त्यही बेलामा हुन्छ ।

– त्यसो त इतर समूहको नेता शेखर कि गगन भन्ने नेताहरूले कुरा उठाएका छन् । त्यसलाई कसरी हेर्नुहुन्छ ?

यो समूहमा शेखर र गगनभन्दा अरु मान्छे छैन र ? उहाँहरूमात्रै हुनुपर्छ भन्ने छ । तर, अहिले हाम्रो समूहबाट सभापतिमा शेखरजीले लड्नुभयो । महामन्त्रीको नाताले गगनजीको भूमिका रहन्छ । अन्य पदाधिकारी साथीहरूको पनि भूमिका रहन्छ नै ।

गठबन्धन टुट्टुको मुख्य त्रृटि नै कांग्रेस नेतृत्वमा छ । त्रृटिका पृष्ठभूमि त उहाँहरूले बैठकमा राख्नुहोला । तर, यो गम्भीर गल्ती हो । पार्टी राजनीतिमा कहिलेकाहीँ गल्ती हुन्छ । तर, गल्तीलाई महसुस गरेर सबैको भावनालाई समेटेर जाने नेतृत्वको इच्छा हो भने त ठीकै हो । होइन भने हामीले त्यहीअनुसारको रणनीति बनाउनुपर्छ ।

तर, यो सामूहिक नेतृत्वमा चल्ने टीम हो । हामी पदाधिकारी र सभापतिको उम्मेदवारलाई गर्नुपर्ने सम्मान हामी गर्छौं । तर, उहाँहरूको निर्देशन त हामी स्वीकार्दैनौं । संस्थापन पक्षमा जस्तो हुकुमी प्रक्रियाबाट असहमत भएर इतर समूहमा छौं । त्यसैले हामी सामूहिक नेतृत्व, छलफल र पद्धतिबाट निर्णय गरेर चल्छौं ।

– भनेपछि तपाईंहरूको समूहको आगामी रणनीति मंगलबार बस्ने बैठकले मात्रै तय गर्छ ?

हामीले समग्र पार्टीको हित र भविष्यलाई हेरेर मंगरबार बस्ने बैठकबाट आगामी कार्यनीति तय गर्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर