कांग्रेसले लुम्बिनीका आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने – Nepal Press

कांग्रेसले लुम्बिनीका आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने

रुपन्देही । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा पार्टीबाट जितेका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले यो निर्णय गरेको हो । बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरूदेखि युवा, तथा विद्यार्थीलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।

पार्टीको सिद्धान्त, अनुशासन, राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार युवा तथा विद्यार्थीलाई राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिइने छ ।

बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिलाई सुशासन र उनीहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न आग्रह गरे ।

बैठकमा प्रदेशका महामन्त्री विक्रम खनाल, कोषाध्यक्ष प्रकाश राना, पार्टी कार्यालय मुख्य सचिव मोहनराज शर्माले प्रशिक्षणले पार्टीलाई थप चलायमान गराउन महत्वपूर्ण योगदान दिने गरी योजना बनाएर अगाडि जानुपर्ने भनाइ राखे ।

त्यस्तै यही माघ २० गते भित्रमा प्रदेशका सबै जिल्लामा प्रशिक्षण विभाग गठन गर्ने निर्णय गरिएको छ । बैठकमा प्रदेशका १२ वटै जिल्लाका उपसभापतिहरूले आफ्नो जिल्लाको पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए । स्थानीय तथा संघीय र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले अहिलेको सत्तारुढ माओवादीसहित ५ दलसँग गठबन्धन गरेको थियो । लुम्बिनी प्रदेशमा स्थानीय तहमा गठबन्धन सफल भएपनि मंसिरको चुनावमा असफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर